सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३
  • ५ असोज २०८३ , सोमबार
  • September 21 2026

गण्डकीको गजलबारे बिमर्श

गण्डकीको गजलबारे बिमर्श


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८३, आइतबार

पोखरा/गण्डकी प्रदेशमा गजलको विकास, इतिहास र वर्तमान अवस्थाबारे पोखरामा विमर्श गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले मोती जयन्तीको अवसर पारेर शुक्रबार ‘गण्डकी प्रदेशमा गजल : विगत र वर्तमान’ विषयमा गोष्ठी तथा छलफल कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा प्राज्ञ अनुराग अधिकारी र साहित्यकार रुपिन्द्र प्रभावीले संयुक्त रूपमा तयार पारेको गोष्ठीपत्र प्रस्तुत गरियो । साहित्यकार प्रभावीले गण्डकी प्रदेशमा गजलको इतिहास, यस क्षेत्रमा भएका साहित्यिक गतिविधि, गजल कृति प्रकाशन गरेका स्रष्टा, सक्रिय संघ, संस्था तथा गजल क्षेत्रले भोग्दै आएका विभिन्न उतारचढावका विषयमा प्रकाश पारे। गोष्ठीपत्रमाथि सहभागी साहित्यकार तथा स्रष्टाहरूले विभिन्न सुझावसमेत दिएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री गोविन्दबहादुर नेपालीले गण्डकीमा गजलको अवस्था समेटेर गोष्ठीपत्र तयार पार्न गरिएको मेहनतको प्रशंसा गरे । सहभागीबाट प्राप्त सुझावलाई समेटेर गोष्ठीपत्रलाई पूर्णता दिन आग्रह गर्दै उनले यो सामग्री आगामी दिनमा गण्डकी प्रदेशको गजल विधासम्बन्धी महत्वपूर्ण दस्तावेज बन्न सक्ने औंल्याए ।

पछिल्लो समय प्रविधिको तीव्र विकासले साहित्य क्षेत्रमा समेत प्रभाव पारिरहेको उल्लेख गर्दै नेपालीले कृत्रिम बौद्धिकताले मानव अस्तित्वमै चुनौती थपिरहेको धारणा राखे। यस्तो अवस्थामा साहित्यको औचित्य र महत्व स्थापित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

नयाँ पुस्तामा साहित्यिक इतिहास र सिर्जनाको हस्तान्तरण हुन नसके त्यो इतिहास नै हराउने अवस्था आउन सक्ने भन्दै उनले यसतर्फ ध्यान दिन आग्रह गरे । प्रतिष्ठानका कुलपति प्राडाकुसुमाकर न्यौपानेले प्राज्ञिक र परिणाममुखी कार्यक्रम गर्ने योजनाअनुसार गोष्ठी आयोजना गरिएको बताए ।

कार्यक्रमले प्रतिष्ठानले सञ्चालन गरिरहेका साहित्यिक अभियानलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । स्थानीय स्रष्टाले कृति तयार पार्दा विभिन्न झन्झट र समस्या भोग्नुपरेको उल्लेख गर्दै कुलपति न्यौपानेले स्रष्टालाई सहज वातावरण निर्माण गर्न प्रतिष्ठानले पहल गरिरहेको जानकारी दिए ।

प्रतिष्ठानले लेखकले तयार पारेका कृतिको विमोचन गरिदिने सोच बनाएको भन्दै उनले त्यसका लागि कृति विमोचन हुनुभन्दा कम्तीमा १० दिनअघि प्रतिष्ठानमा उपलब्ध गराउनुपर्ने बताए। अध्ययनका क्रममा त्रुटि नभेटिएमा मात्र विमोचन गरेर सहयोग गरिने उनको भनाइ छ ।

कार्यक्रममा साहित्यकारहरू शिव त्रिपाठी, दिलीप दोषी र रुपिन्द्र प्रभावी तथा प्राज्ञहरू कमल पौडेल ‘अथक’, ईन्द्रमान खत्री, शान्ता बास्तोला र अनुराग अधिकारीसहित पूर्वमन्त्री नेपालीले गजलवाचन गरेका थिए ।

प्रतिष्ठानका सदस्य–सचिव मनकुमार श्रेष्ठले प्रतिष्ठानले सम्पन्न गरेका तथा आगामी दिनमा सञ्चालन गर्ने विभिन्न कार्यक्रमबारे जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->