
पोखरा / पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढीपहिरो र नदी कटानका कारण क्षतिग्रस्त पर्वत र म्याग्दीको विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्न पुगेका छन्। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडक, बेनी–दरबाङ सडकको फापरखेत पहिरो, बेनी खानेपानी आयोजनामा पुगेको क्षति तथा पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेबजार क्षेत्रको निरीक्षण गर्न पुगेका हुन् ।
पर्वत र बागलुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सागर लामिछाने र सोम शर्मा लगायत स्थानीय जनप्रनिधिसहित मन्त्री लम्साल बाढीपहिरो क्षेत्रको अनुगमनमा पुगेको सांसद सोम शर्माले बताए ।
अनुगमनका क्रममा मन्त्री लम्सालले बाढीपहिरोबाट क्षतिग्रस्त पूर्वाधारको अवस्था, सडक सञ्चालनमा देखिएका समस्या, खानेपानी आपूर्ति र विपद्बाट प्रभावित नागरिकको पुनःस्थापनाका विषयमा स्थानीय जनप्रतिनिधि र त्यहाँका स्थानीयवासीसंग छलफल गरेका छन् ।
छलफलको क्रममा उनले सरकारले विपद् व्यवस्थापन र पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको बताए । गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको विभिन्न स्थानमा भएको क्षतिको अवलोकन गर्दै मन्त्री लम्सालले सरकारले सडक पुनर्निर्माण प्राथमिकतामा राखेको बताए ।
उनले कोरला नाका जोड्ने सडक भएकाले मर्मतसम्भार र पुनर्निर्माणलाई सरकारले कुनै कसर बाँकी नराखी काम अगाडि बढाउने बताए ।
मन्त्री लम्साललाई सडकमा पुगेको क्षति, पहिरोका कारण उत्पन्न जोखिम र सडकलाई सुरक्षित तथा सहज रूपमा सञ्चालन गर्न आयोजनाले गरेको कामका बारेमा बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी गराए ।
यसैगरी, बेनीमा भएको भेटको क्रममा बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले बाढीबाट क्षतिग्रस्त खानेपानी संरचनाको पुनर्निर्माण र नियमित आपूर्ति व्यवस्थापनका लागि आवश्यक बजेट तत्काल उपलब्ध गराउन आग्रह गरे ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, पोखरामार्फत क्षतिको विवरणसहित माग गरिएको बजेट उपलब्ध गराएर खानेपानी आपूर्ति सहज बनाउन मन्त्रीसमक्ष आग्रह गरिएको अध्यक्ष गिरीले बताए । मन्त्री लम्सालले टेन्डर प्रक्रियामार्फत काम तत्काल सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
मन्त्री लम्सालले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेबजार क्षेत्रको समेत स्थलगत अनुगमन गरे । असोज ११ गते कालीगण्डकीमा आएको बाढीले फर्सेका ६५ घर बगाएको थियो । सो क्रममा स्थानीय जनप्रतिनिधि र बासिन्दाले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, प्रभावित नागरिकको उचित पुनःस्थापना तथा कालीगण्डकी नदीमाथि फर्से–छिपछिपे जोड्ने मोटरेबल पुल निर्माणलाई प्राथमिकता दिन माग गरेका थिए ।
जलजला गाउँपालिका–८ का वडाध्यक्ष हरिविकास जिसीले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा स्थानीयको आवागमन सहज बनाउन आवश्यक योजनालाई प्राथमिकताका साथ अघि बढाउन मन्त्रीसमक्ष अनुरोध गरे ।
उनले झोलुङ्गे पुल कालीगण्डकीले बगाएका कारण बागलुङको ढोडेनी र फर्सेसँगको सम्बन्ध विच्छेद भएकाले जनजीवन प्रभावित भएको मन्त्रीसमक्ष जानकारी गराए ।
कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएमा जलजला गाउँपालिका–८ को फर्से र बागलुङ नगरपालिका–४ को छिपछिपेसहित आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज हुने भएकाले सरकारले पुल निर्माणलाई प्राथमिकतामा राख्न उनले अनुरोध गरे ।
यसैगरी, मन्त्री लम्सालले म्याग्दीको पश्चिम भेगलाई सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानास्थित फापरखेत पहिरोको पनि अनुगमन गरे । फापरखेत पहिरोका कारण यहाँ यातायात अवरुद्ध हुने गरेको छ ।
मन्त्री लम्सालले सरकारले चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि चार करोड रुपियाँ विनियोजन गरेकाले अब चाँडै ठेक्कामार्फत काम सुरु गर्ने जानकारी दिए ।





