नयाँदिल्ली २० बैशाख – दलालको फन्दामा परी तीन महिनासम्म बन्धकमा रहेकी नेपाली चेलीलाई प्रवासि नेपाली संघ भारत र हेल्प नेपाली मिशन भारतले उद्धार गरेको छ । बन्धकमा रहेकी कपिलबस्तुकि मिना (नाम परिवर्तन) को उद्दार गरिएको हो ।
मई १ अन्तराष्ट्रिय श्रमिक दिवसकै दिनमा भारतको राजधानी नदिल्लीबाट मिशनका प्रवासि नेपाली संघका केन्द्रीय सदस्य तथा मिसनका अध्यक्ष कवि कार्की र सचिव महेन्द्र केसीको सक्रियतामा उद्धार गरिएको छ ।
उद्धार गरिएकी चेलीलाई दलालले विभिन्न खालको प्रलोभन देखाएर नक्कली भिसा, नक्कली पुलिस रिपोर्ट, नक्कली टिकट बनाएर म्यान्मार तथा श्रीलंका हुँदै कुवेत पठाउने बहानामा भारत लागेको पीडित युवतीले बताईन।भारतको पूर्वोत्तर राज्य असम, र दिल्लीसम्म आफूलाई नजरवन्द गरि राखेको पीडित युवती मिना (नाम परिवर्तन) ले बताएकी छन् ।
उनले राजकुमार श्रेष्ठ (राज) भन्ने दलालले आफुलाई फसाएको र कहिंकतै जान नदिई बन्धकको रुपमा राखी गाली गलौज गर्दै मानसिक यातना दिने गरेको बताएकी छन् ।
आफूलाई हिजोमात्र दिल्ली एअरपोर्टमा पनि लिएर गएको र आज सेटिङ मिलेन भन्दै बहाना गरि फर्काएको पिडीत चेलीको भनाई छ ।
उद्धार गरिएकी मिनाको बेंगलोरमा रहेका सङका केन्द्रीय सदस्य टेकनारायण पौडेल मार्फत हेल्प नेपाली मिशन दिल्लीमा जानकारी गराई आफुहरुले उनको उद्धार गरेको कुरा मिशनका अध्यक्ष कवि कार्कीले बताए ।
उद्धार गरिएकी चेलीलाई टेकनारायण पौडेलको रोहवरमा निजकी दिदी जमुना सापकोटाको जिम्मेवारीमा पठाइएको छ ।





