काठमाडौं / एक दशकअघि उच्च शिक्षा हासिल गर्ने सपना बोकेर भारतको बैंग्लुर पुगेका बालेन्द्र शाह आज नेपालको प्रधानमन्त्रीको हैसियतमा दुईदिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँदिल्लीमा छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका ३६ वर्षीय प्रधानमन्त्री शाहले भ्रमणको पहिलो दिन नै उच्चस्तरीय कूटनीतिक भेटवार्ता सुरु गरिसकेका छन्।
आइतबार साँझ प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच नयाँदिल्लीस्थित होटल ताजमा शिष्टाचार भेटवार्ता भएको छ।
भोलि मंसिर ७ गते सोमबार उनले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय वार्ता, राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट, नेपाल-भारत बिजनेस फोरममा सहभागिता तथा जनकपुरधाम-अयोध्या सीधा रेल सेवाको उद्घाटनलगायत महत्वपूर्ण कार्यक्रममा सहभागिता जनाउनेछन्।
सन् २०१६ देखि २०१८ सम्म भारतको कर्नाटक राज्यस्थित बैंग्लुरको येलहंकामा रहेको निट्टे मिनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजी (एनएमआईटी) मा स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर (एमटेक) अध्ययन गरेका शाहका लागि भारत नौलो भूमि होइन।
काठमाडौंस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक (बीई) पूरा गरेपछि उनी उच्च शिक्षाका लागि बैंग्लुर पुगेका थिए। त्यतिबेला उक्त कलेज विश्वेश्वरैया प्राविधिक विश्वविद्यालय (भीटीयू), बेलगावीसँग आबद्ध थियो।
शाहको बैंग्लुरसँगको साइनो पारिवारिक सम्बन्धबाट जोडिएको थियो। उनकी दिदी सुजाताले कर्नाटकको कारवारनजिकैको सेजेकन गाउँका हरिशकुमार सेजेकनसँग विवाह गरेर बैंग्लुरमै बसोबास गरेपछि शाहले स्नातकोत्तर अध्ययनका लागि उक्त सहर रोजेका थिए।
कलेजको पहिलो स्वायत्त ब्याचमा रहेका २४ जना विद्यार्थीमध्ये शाह विशिष्ट श्रेणी सहित उत्तीर्ण भएका थिए। उनीसँगै नेपालबाट सुनील लम्साल र प्रवीण श्रेष्ठ पनि सोही ब्याचमा भर्ना भई छात्रावासमा सँगै बस्थे।
भारतीय पत्रिका ‘द टाइम्स अफ इन्डिया’ सँगको कुराकानीमा उनका भिनाजु हरिशकुमार सेजेकनले बैंग्लुरमा शाहको विद्यार्थी जीवन अत्यन्त सरल रहेको बताएका छन्।
उनका अनुसार शाह कलेज जाँदा कहिले विश्वविद्यालयको बस, कहिले स्थानीय बीएमटीसी बस त कहिले भिनाजुकै स्कुटर चढ्थे। पछि भिनाजुले कार किनेपछि कहिलेकाहीँ कारसमेत प्रयोग गर्ने गरेका शाहले यातायात वा सुविधाबारे कहिल्यै गुनासो नगरेको हरिशले सम्झिएका छन्।
बैंग्लुर बसाइका क्रममा शाहमा दक्षिण भारतीय परिकार, विशेषगरी इडली, डोसा र परम्परागत भोजनप्रति रुचि बढेको थियो। त्यतिमात्र होइन, उनले स्थानीय कन्नड भाषा र संस्कृतिप्रति सम्मान देखाउँदै कन्नड भाषा सिकेका थिए।
कन्नड चलचित्र हेर्ने र अभिनेता पुनीत राजकुमारका प्रशंसक रहेका शाह शुद्ध कन्नड बोल्ने प्रयास गर्थे र दिदीलाई समेत कन्नड भाषा सुधार गर्न सघाउँथे। जहाँ बसिन्छ, त्यहाँको संस्कृति र नागरिकको सम्मान गर्नुपर्छ भन्ने धारणा शाहले राख्ने गरेको हरिशले बताएका छन्।
पढाइबाहेकको समयमा शाह बैंग्लुरको रात्रिकालीन जीवनशैलीप्रति पनि जिज्ञासु रहेको हरिशले उल्लेख गरेका छन्। उनी साथीहरूसँग चर्च स्ट्रिट र कोरमंगला क्षेत्रका पब तथा स्काइबार जस्ता स्थानमा समेत पुग्थे।
नेपाली साथीहरू सुनील लम्साल र प्रवीणसँगै कर्नाटकका साथी आकाश सम्मिलित उनको नजिकको समूहमा हुने जमघटमा पढाइभन्दा पर गएर समाज, शासन व्यवस्था र देशको भविष्यबारे बहस हुने गरेको हरिशले बताएका छन्।
बालेन शाहलाई पढाएका निट्टे मिनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापकहरूले भने उनलाई शान्त, विनम्र, समयपालक र पढाइमा अत्यन्त गम्भीर विद्यार्थीका रूपमा स्मरण गरेका छन्।
एनएमआईटीको सिभिल इन्जिनियरिङ विभागका सहायक प्राध्यापक तथा उपरजिस्ट्रार श्रेयस एभीले शाहलाई मेकानिक्स अफ डिफर्मेबल बडिज र फाइनाइट एलिमेन्ट मेथड्स जस्ता विषय पढाएका थिए।
एनडीटीभी र टाइम्स अफ इन्डियासँगको कुराकानीमा प्राध्यापक श्रेयसले शाह भित्र एउटा र्यापर लुकेको भए पनि कलेज परिसरमा उनले कहिल्यै त्यो रूप नदेखाएको र राजनीतिप्रति पनि कुनै झुकाव प्रकट नगरेको बताएका छन्।
प्राध्यापक श्रेयसका अनुसार शाह निकै जिज्ञासु थिए र विषयवस्तुको शंका निवारण नहुन्जेल साँझसम्मै बसेर शिक्षकसँग सोधखोज गर्थे। अध्ययन पूरा गरेपछि पनि शिक्षकहरूसँग सम्पर्कमा रहने शाह सन् २०२२ मा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि आफूले उनलाई ठट्यौली शैलीमा ‘मेयर साब’ भनेर बधाई दिएको श्रेयसले सम्झिएका छन्।
सन् २०१५ को विनाशकारी भूकम्पको तीन वर्षपछि शाहले आफ्नो स्नातकोत्तरको अन्तिम वर्षको शोधपत्र ‘भूकम्प-गतिशील विश्लेषण’ विषयमा तयार पारेका थिए।
धेरै विद्यार्थी उच्च शिक्षा र रोजगारीका लागि अमेरिका जाने लहर चलिरहँदा शाहले नेपालको भूकम्पीय जोखिमसँग जोडिएको विषय छानेर मातृभूमिप्रतिको लगाव देखाएको प्राध्यापक श्रेयसको भनाइ छ। उक्त शोधकार्यमा प्राध्यापक डा. महेशले उनलाई मार्गदर्शन गरेका थिए।
त्यस्तै, शाहलाई पढाएकी तत्कालीन प्राध्यापक भारती गणेशले ‘द इन्डियन एक्सप्रेस’ सँग कुरा गर्दै युट्युबमा लोकप्रिय र्यापर भएर पनि शाह कक्षाकोठामा अत्यन्त एकाग्र विद्यार्थी रहेको बताएकी छन्।
गत मार्च २०२६ मा शाह नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएपछि बैंग्लुरस्थित नेपाली समुदायले विशेष सम्मान कार्यक्रम आयोजना गरेको थियो। शाहकी दिदी सुजाता शाह हरिशसमेत सहभागी उक्त कार्यक्रममा एनएमआईटीका प्राचार्य डा. एचसी नागराजले आफ्नो पूर्वविद्यार्थी छिमेकी राष्ट्रको नेतृत्वमा पुग्नु संस्थाका लागि ठूलो गौरवको विषय भएको बताएका थिए।
विश्वविद्यालयका उपाध्यक्ष डा. सन्दीप शास्त्रीले शाहको उदयलाई संस्थाको गौरवमा थपिएको अर्को रत्नका रूपमा व्याख्या गरेका थिए।
सामाजिक तथा राजनीतिक विकृतिविरुद्ध र्याप संगीतमार्फत युवा पुस्तामाझ लोकप्रिय बनेका शाहको राजनीतिक यात्रा नेपाली राजनीतिमा दुर्लभ मानिन्छ। सन् २०२२ मे मा स्वतन्त्र उम्मेदवारका रूपमा स्थापित राजनीतिक दलहरूको सांगठनिक शक्तिलाई पन्छाउँदै उनी काठमाडौं महानगरपालिकाको १५ औं मेयर निर्वाचित भएका थिए।
टाइम म्यागजिनको ‘टप १०० इमर्जिङ लिडर्स’ सूचीमा समेत परेका शाहले मेयरको कार्यकालमा सहरी सुशासन, अतिक्रमण नियन्त्रण र सम्पदा संरक्षणका अभियान चलाएका थिए।
मेयर रहँदा नै भारतको नयाँ संसद् भवनमा राखिएको अखण्ड भारतको नक्साको जवाफमा आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेपछि शाह अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत चर्चाको केन्द्रमा आएका थिए।
सन् २०२५ सेप्टेम्बरमा भएको जेन-जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमसँगै शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा वरिष्ठ नेता र भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा आबद्ध भए।
विसं २०८२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले झापा क्षेत्र नम्बर-५ बाट नेकपा एमालेका अध्यक्ष एवं चार पटकका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिए।
उक्त निर्वाचनमा शाहले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गर्दै ऐतिहासिक जित हासिल गरे। शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमा सीमित भए।
शाहले प्राप्त गरेको यो मत नेपालको संसदीय निर्वाचनको इतिहासमै कुनै पनि उम्मेदवारले पाएको सर्वाधिक मत हो। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले स्पष्ट बहुमत हासिल गरेसँगै ३६ वर्षीय शाह मार्च २०२६ मा नेपालको प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रधानमन्त्री नियुक्त भएपछि आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका रूपमा भारत रोजेका शाह आइतबार दिउँसो २ बजेर ८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गरेका थिए।
विमानस्थलमा उनलाई बिदाइ गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र सत्तारुढ रास्वपाका सांसद जगदिश खरेल पुगेका थिए। कुनै औपचारिक तामझामबिना नियमित उडानमा दिल्ली उडेका शाहले प्रस्थानका क्रममा नेपाली सेनाबाट सम्मान गारत (गार्ड अफ अनर) लिएनन्।
दिउँसो ३ बजेर २८ मिनेटमा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे।
भारतीय विदेश मन्त्रालय (एमईए) ले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत शाहलाई न्यानो स्वागत गर्दै यो राजकीय भ्रमणले नेपाल र भारतबीचको दीर्घकालीन तथा बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने अवसर प्रदान गर्ने जनाएको छ।
विमानस्थलमा भारतका तीनवटै सुरक्षा निकायका सैनिक टुकडीले प्रधानमन्त्री शाहलाई सलामी दिएका थिए। साथै विमानस्थलबाट बाहिर निस्कने क्रममा उनलाई सांस्कृतिक नाचमार्फत समेत स्वागत गरिएको थियो।

विमानस्थलबाट नयाँदिल्लीस्थित होटल ताज पुगेका प्रधानमन्त्री शाहले भ्रमणको पहिलो दिन आइतबार साँझ भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गरे। उक्त भेटमा भोलि हुने उच्चस्तरीय द्विपक्षीय वार्ताका एजेन्डा र आपसी सहकार्यका विषयमा प्रारम्भिक छलफल भएको छ।
भ्रमणको दोस्रो तथा मुख्य दिन भोलि प्रधानमन्त्री शाह उच्चस्तरीय राजनीतिक भेटवार्ता, परियोजना उद्घाटन र आर्थिक कूटनीतिका कार्यक्रममा व्यस्त हुनेछन्।
सोमबार बिहान भारतको राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ। त्यसपछि उनले भारतीय समय अनुसार बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नेछन्।
राजघाटको कार्यक्रमलगत्तै हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ।
त्यसक्रममा शाह र मोदीबीच करिब आधा घण्टा वान-टु-वान भेटवार्ता गर्ने तयारी छ। वार्तामा नेपाल-भारत सम्बन्धका सम्पूर्ण आयामको समीक्षा गरिनुका साथै आपसी चासोका क्षेत्रीय तथा विश्वव्यापी विषयमा विचार आदानप्रदान हुनेछ।
प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी शाह र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक दिवाभोजको आयोजना गर्नेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार नै नेपाल-भारत बिजनेस फोरममा समेत सहभागिता जनाउनेछन्। परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार उक्त फोरमले दुवै देशका निजी क्षेत्रका व्यवसायीहरूलाई व्यापार, लगानी र आर्थिक साझेदारी विस्तारका अवसरमाथि छलफल गर्ने मञ्च प्रदान गर्नेछ।
यसैगरी, प्रधानमन्त्री शाहले भोलि नै भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ। सबै औपचारिक कार्यक्रम सम्पन्न गरी शाह सोमबार साँझ ६ बजेर ३५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौं फर्कने तालिका छ।
स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणका उपलब्धिबारे जानकारी दिनेछन्।
सोमबार हुने द्विपक्षीय बैठकपछिको सबैभन्दा चर्चित कार्यक्रमका रूपमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले भारतस्थित भगवान् रामको जन्मस्थान अयोध्या र नेपालस्थित माता सीताको जन्मस्थान जनकपुरधामलाई जोड्ने नयाँ रेल सेवाको संयुक्त उद्घाटन गर्नेछन्।
अयोध्यादेखि जनकपुरधामसम्म ६०४ किलोमिटर दूरी तय गर्ने उक्त रेल हप्तामा एक दिन सञ्चालन हुनेछ। तय भएको तालिका अनुसार यो रेल जनकपुरधामबाट हरेक शनिबार र अयोध्या क्यान्टबाट हरेक सोमबार छुट्नेछ। रेलका प्रमुख बिसौनीमा अयोध्या धाम, गोरखपुर, बस्ती, नरकटियागञ्ज, रक्सौल, सीतामढी, मधुबनी र जयनगर रहेका छन्।
यस रेल सेवाको सुरुवातसँगै भारतको राम जन्मभूमि र नेपालको सीता जन्मभूमिबीच सीधा रेल सम्पर्क स्थापित हुनेछ। अब दुवै देशका श्रद्धालु रामायणसँग जोडिएका यी दुई प्रमुख तीर्थस्थलसम्म रेलमार्फत सहजै पुग्न सक्नेछन्। यसका साथै बिहार र नेपालका सीमावर्ती क्षेत्रका बासिन्दाले अध्ययन, व्यापार-व्यवसाय र परिवारसँग भेटघाटका लागि आउजाउ गर्न नयाँ र भरपर्दो विकल्प पाउनेछन्।
प्रधानमन्त्री शाहको भारत भ्रमणमा दीर्घकालीन कूटनीतिक तथा आर्थिक सहकार्यका ठोस प्रस्तावहरू टेबुलमा राखिएका छन्।
भारतले द्विपक्षीय सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन ‘संयुक्त भिजन दस्तावेज’ को प्रस्ताव गरेको छ। आर्थिक सहकार्य, लगानी, पारवहन, ऊर्जा, डिजिटल कनेक्टिभिटी र स्वास्थ्य क्षेत्रलाई समेटेर तयार पारिएको उक्त दस्तावेज शाहको भ्रमणका क्रममा सार्वजनिक गरिने र भ्रमणको समापनमा औपचारिक रूपमा अनुमोदन गर्ने प्रस्ताव भारतले अघि सारेको छ। उक्त दस्तावेज विशेष क्षेत्रहरूमा दीर्घकालीन सहकार्य र स्पष्ट लक्ष्य निर्धारणमा केन्द्रित हुने जनाइएको छ।
यता, भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्स र न्युज ९ लाइभका अनुसार प्रधानमन्त्री शाहको भ्रमणअघि नेपालले भारतसमक्ष २ अर्ब अमेरिकी डलरको आर्थिक प्याकेज प्रस्ताव पठाएको छ।
जानकार स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएअनुसार उक्त प्रस्तावमा १ अर्ब डलर अनुदानसमेत समावेश छ। विकास परियोजनाहरू अघि बढाउन तथा हालैको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका लागि नेपालले उक्त आर्थिक सहयोग प्रस्ताव गरेको हो।
साथै, भारतीय आकाश हुँदै नेपालका लागि थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषय पनि वार्ताको एजेन्डामा रहने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
रेल सेवा उद्घाटनका अतिरिक्त भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयले प्रमुखता पाउनेछ।
त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र (एमओयू) समेत आदानप्रदान गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा मन्त्रिपरिषद्का महत्वपूर्ण सदस्य, सल्लाहकार समूह र निजी क्षेत्रको उल्लेख्य उपस्थिति छ।
आधिकारिक भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन (व्यञ्जनकार), राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सहभागी छन्।
त्यस्तै स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उप-संयोजक विनय शाक्य पनि टोलीमा छन्।
उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका ३ जना प्रतिनिधिसहित आधिकारिक टोलीमा ३५ जना सहभागी छन् भने नयाँदिल्लीस्थित नेपाली राजदूतलगायत अधिकारीहरू उतैबाट टोलीमा जोडिनेछन्।
सरकारी टोलीबाहेक निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ।
हिजो बैंग्लुरको कक्षाकोठामा स्ट्रक्चरल इन्जिनियरिङ र भूकम्प प्रतिरोधी संरचनाको ज्ञान खोज्दै भविष्यको सपना बुनेका शाह आज नेपालको प्रधानमन्त्रीका रूपमा नयाँदिल्लीको कूटनीतिक मञ्चमा उभिएका छन्। नागरिक





