आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लोप हुँदै घाँटु, पाण्डबखानीमा संरक्षणको प्रयास

लोप हुँदै घाँटु, पाण्डबखानीमा संरक्षणको प्रयास


  • बालकृष्ण सूवेदी
  • बैशाख २७ २०७६, शुक्रबार

पोखरा,२७ बैशाख -बागलुङ जिल्लाको गलकोटका मगर बस्तीमा प्रचलित स्थानिय साँस्कृतिक महत्व बोकेको घाँटु नाच लोप हुँदै गएको छ । गलकोट नगरपालिका १० पाण्डबखानीमा घाँटु संरक्षणको प्रयास भएपनि नयाँ पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा छ । पाण्डबखानी र सिसाखानीका बुढापाकाहरु घाँटु नाच्दै आएपनि अहिले युवापिँढीले त्यसको संरक्षणमा खासै चासो नदिएको बुढापाका बताउँछन् । विशेष गरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाच पाण्डबखानीमा मातातिर्थ औँशीदेखि मध्य वैशाखसम्म नाचिन्छ । वैशाख पूर्णिमाको अघिल्लो दिनदेखि जेठमा घाँटु समापन गरिने घाँटु गुरु गिरीप्रसाद घर्तीले बताए । पाण्डबखानीको काप्रे गाउँमा सबै गाउँले जम्मा भएर घाँटु नाच्ने चलन रहेको घर्तीको भनाई छ । गलकोटको पाण्डबखानी र सिसाखानी गाविसमा नाचिने सति घाँटु संरक्षणमा आफुहरु लागे पनि पछिल्लो समय नयाँपिढीले गाउँ छाड्ने क्रम बढेपछि पाण्डबखानीमा घाँटु नाच लोप हुने अवस्थामा पुगेको उनले जनाए । प्रत्येक वर्ष बैशाख पुर्णिमाको अबसरमा घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले आयोजना गर्ने कार्यक्रममा समेत घाँटु नाच प्रर्दशन गरिन्छ ।
घाटु बुझ्ने, सुन्ने र यसप्रति लगाव राख्ने युवा पुस्ता उदासिन हुँदा चित्त दुखेको घाँटु गुरु थापाले बताए । ‘पाण्डवखानीका केही बूढापाकाहरु मात्र घाँटुको ज्ञान राख्छन्’, थापाले भने, ‘आफूहरुको शेषपछि गाउँबाट घाँटु हराउने त होइन भन्ने चिन्ताले सधै पिरोल्छ ।’
नयाँ पुस्ताले यसको बिँडो थामिदिए पुर्खाले चलाएको परम्परा र संस्कृति जोगिने गुरु थापाले बताए । तर, अहिलेको युवापुस्ताले यसमा फिटिक्कै चासो नदिई पश्चिमा संस्कृतिमा भुलेकामा उनको दुखेसो छ । अधिकांश मगर जातिको बसोबास रहेको पाण्डबखानीमा प्रचलित सति घाटुको उचित प्रचार प्रसार र संरक्षणमा ध्यान पु¥याउन सकिएमा आन्तरिक तथा बाह्य पर्यटन प्रबर्दनमा समेत टेवा पुग्ने थापाको भनाई छ । पाण्डबखानीमा छिट्टै होमस्टे समेत निर्माण गर्न लागिएकोले मगरहरुको प्रमुख गहना घाँटुले पनि त्यहाको आर्थिक बिकासमा समेत टेवा पुग्ने बताइएको छ । घाँटु एक शास्त्रीय नाच हो । पाण्डबखानीका घाँटु गुरु गिरीप्रसाद थापाका अनुसार, १६ औँ शताब्दीतिर लमजुङका एक दम्पत्ति राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जंगल प्रस्थान, सिकार आदि घटनामा आधारित भएर घाँटु नाचिन्छ । घाटुको गीतमा परशुराम राजा र चम्पावती रानीको कथावस्तु रहेको हुन्छ । घाँटुमा नाच्नका लागि घाँटुकी कन्या कथाको विषयबस्तु अनुसार आबश्यक संख्यामा छानिन्छ । उनीहरुलाई घाँटु नाच्नुअघि अक्षेताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गंगाचुली आदिको पूजा गरेपछि घाँटु नाच्ने कन्याहरुको आँखा बन्द हुने घाटु गुरु थापाले बताए । यसलाई देवी चढेको मानिन्छ । कन्याहरुको आँखा बन्द नभएसम्म देवीहरुको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाँटु सुरु गरिन्छ । घाटु नाचको सुरुवात मंगल चरणबाट गरिन्छ । इष्टदेवीहरुको साथमा आमा, धर्ति र आकाशलाई साक्षी राखिन्छ ।
तीन चार दिनदेखि तीन महिनासम्म नयाँ सिकारुले घाँटुको नृत्यमा प्रशिक्षण लिनुपर्ने थापाले बताए । यो गोप्य रुपले गरिने उनको भनाई छ । मगर र गुरुङ बस्तीमा पाहुना जाँदा, कुनै विशेष मेला उत्सव आदिमा बाह्रमासे घाँटु नाचिन्छ । सती घाँटु रितपूर्वक नाचिन्छ । सतीघाँटुमा नाच्ने कन्याहरुमा देवी चढ्ने भएकाले उनीहरु नाच्ने क्रममा बेहोसी अवस्थामा हुन्छन् । यो अवस्थालाई कुुसुण्डा भनिन्छ । घाँटु गीतको लय जो कसैलाई बुझ्न गाह्रो हुन्छ । गैरगुरुङ र मगर समुदायलाई यो बुझ्न कठिन छ । तर, मगर गुरुङ समुदायमा यो अमूल्य संस्कृति र निधिका रुपमा रहेको छ । घाँटु एक वियोगान्त कथा भएकाले घाँटुको अभिनयले वातावरणलाई पनि त्यस्तै बनाइदिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->