“नेता जीको भरपर्दो बात छैन
यिनको पनि गतिलो छाँट छैन
पर्छ रात अवस्य दिन वितेसी
जनताको के वास्ता चुनाव जितेसी ”
गुल्मीको वडागाउँ घर वताउने ४६ वर्षिय शेरवहादुर गन्धर्वले सारङी रेट्दै यो गीत गाउँदा म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा धेरैले मन लगाएर सुने । २०४५ सालमा १६ वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका दुई छोरी १ छोरा, एक श्रीमती छन् । परिवारको हातमुख जोड्नकालागि सारङ्गी रेट्दै म्याग्दी आइपुगेका गन्धर्वले गीत मार्फत आफ्नो दुखोसो पोख्दै सहयोगका लागि हात जोडेको देखेर बगरफाँटबासीले पैसा र चामल दिदा गन्धर्वको अनुहार खुसीले भरीयो ।
देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि आफ्नो अवस्था भने चार दशक अघिकै जस्तो भएको बताउँदै शेरवहादुर गन्धर्वले खाने गास र बस्ने बासको अभावकै कारण कतिपय गन्धर्वहरु आफ्नो पुख्र्यौली पेशाबाट विस्थापित भई बैकल्पिक पेशा अपनाएको बताए ।कुनै दिन बम्बई गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासुले बुहारी मारेको अनि फुक्लानको टापुमा लड्दा लड्दै विरगति प्राप्त गरेका खबरको बाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गाईने दाइ हिजोआज फाट्टफुट्ट देखिन थालेका छन् ।
देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारे लगायतका भाखामा खबर दिदै घुम्ने गाईने दाइ (गन्धर्वहरु) अहिले गरिबीकै कारण पेशा परिवर्तन गर्न बाध्य भएको गन्धर्वको भनाइ थियो । ‘सारङगीको धुनमा घटनाक्रमहरुलाई सिलसिलेवार कलात्मक ढंगबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउँथे’ बगरफाँटका ७४ वर्षिय टेकवहादुर कार्कीले भने ‘गीत संगीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसुचित बनाउने गाईने दाइका सारङ्गी हिजोआज गाउँघरमा गुञ्जन छोडेका छन् ।’ सूचना र संचारको पहुचसंगै ग्रामिण क्षेत्रहरुमा समेत पाश्चात्य गीत संगीतको प्रभाव वढ्दै गइरहेको वेला कहिलेकाही गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्वहरु हिजोआज विकास निर्माण, जनप्रतिनिधि प्रतिको निराशा र सामाजिक वेथीतिका गीतहरु समेत गाउन थालेका छन् ।
वदलिदो समयसंगै नयाँ पुस्ता पाश्चात्य गीत संगीतमा झुम्न थालेपछि हो वा पुख्यौंली पेशावाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोली गाउँघरमा गाइने दाइको नामले चिनिने गन्धर्वहरु क्रमश घट्दै गइरहेका छन् । गाउँघरका विरह र वेदनाका भाका गाउने गन्धर्वहरुले वदलिदो समयसंगै आफ्नो गीतको स्वरुपलाई पनि परिवर्तन गरेका छन् ।
धेरै समयपछि बेनपा २ बगरफाँटमा भेटिएका शेरवहादुर गन्धर्वले पनि अरु कुनै सीप नभएकाले पुख्यौंली पेसालाई अपनाउनु आफ्नो वाध्यता भएको दुखेसो पोख्दै सारङ्गीको धुनमा जनतामा व्याप्त निराशा र जनप्रतिनिधिहरुप्रतिको अपेक्षाका वारेमा ¥याइ¥याइ सारङ्गी रेट्दै तीतो यथार्थ व्यक्त गरे ।
गुल्मीदेखि वागलुङ हुँदै म्याग्दीको वरङ्जा आइपुगेका गन्धर्वले गीतमा संविधान निर्माणका कुराहरुदेखि लिएर गणतान्त्रिक नेपालको अस्तव्यस्तता,तीनवटै तहको निर्वाचन र त्यसपछिको समसामयिक अवस्थालाई सरल शव्दमा जनताले वुझ्नेगरी व्यक्त गरेका थिए।
सूचना र संचारको पुरानो माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ । सूचना र संचार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन मोवाईल जस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेशालाई विस्थापित बनाएको हो । त्यसैले त गाउँ घरमा गाईने खवरमुलक मर्मस्पर्शी ह्दय विदारक गीत गुञ्जन छाडेका छन् ।





