६ महिनाअगाडि एकदिन बजारबाट फर्किंदा सौभाग्यवश तिम्री स्वास्नीसित भेट भएको थियो ।
त्यसबेला मैले देखेँ— एउटी पच्चीस–छब्बीस वर्षकी युवती काँधमा ह्यान्डब्याग, देब्रे हातमा बट्टाबट्टीले भरिएको नाइलनको तारको झोला र दाहिने हातमा जूटको डेढ हात लामो रङ्गीन झोला झुन्ड्याएर मत्थर गतिले हिँड्दै थिई । यो जूटको रङ्गीन झोला निकै गरूङ्गो प्रतीत हुन्थ्यो किनभने उसको शरीरको अधिकांश भाग त्यतैतिर ढल्किएको थियो ।
युवती निकै आकर्षक थिई । निर्मला मबाट गएपछि म आजकाल यस्तै युवतीहरुतर्फ आकर्षित हुन थालेको छु । स्कुल–कलेजका चञ्चल किशोरीहरुभन्दा पच्चीस–छब्बीस वर्षीया यी विवाहित युवतीहरुमा भिन्नै किसिमको मनोहारी आकर्षण हुन्छ । पूर्णरुपेण फक्रेको क्यामेलिया अथवा थुँगु सयपत्रीको फूलजस्तै । मकरन्दपूर्ण उन्माद र पूर्णयौवनको गाम्भीर्यले सिंगारिएको ।
अँ, युवती बिचरी बडो सङ्कटमा थिई । उसको अनुहार पसिनाका थोपाहरुले ढाकेको थियो, जसलाई पुछ्न ऊ ह्यान्डब्यागबाट रूमालसम्म झिक्न समर्थ थिइनँ । गर्मीको मौसम थियो । एकछिन ऊसँगसँगै हिँडेपछि मैले देखेँ( अब पसिनाका थोपाहरु धारामा परिणत हुन थालेका छन् । उसको अनुहारको मेकअप पखालिन थालेको छ । मेकअप उत्ताउलो थिएन । गहुँगोरो अनुहारमा मेरो मनपर्ने हल्का गुलाफी रङ्गसित समन्वित ओठको किञ्चित् गाढा गुलाफी रङ्ग । आँखामा गाजल तर नजानिँदो । यस सौम्य र सुरूचिपूर्ण सिंगारले म झन् मुग्ध भएको थिएँ ।
म एक्कासि दयावान हुँदै ऊनेर पुगेँ र भनेँ, “कृपया, यो जूटको ठूलो झोला मलाई दिनुस् । म पनि त्यतै जाँदै छु ।”
तिम्री स्वास्नीले पुलुक्क मतिर हेरी र आफ्नो असहाय अवस्था र भिजेको अनुहार सम्झेर एकछिन नियास्री भई । अनि आफ्नो श्वास–प्रश्वास नियन्त्रित गर्दै यति नै भनी, “धन्यवाद !”
र, उसैगरी झोलाको भारले ढल्केर हिँडिराखी । म पनि उसको आसमानी सारीको सरÞ्याक–सुरूक् सुन्दै पछि लागिराखेँ । एकछिनपछि फेरि मैले मन थाम्न सकिनँ ।
‘सुन्नस् त, नराम्रो नमान्नुहोला । यस्तो अवस्थामा सहयोग गर्नु सबैको कर्तव्य हो, ल्याउनुस् झोला मलाई दिनुस् । म पनि त्यतै जाँदै छु’ भन्दै मैले उसको हातबाट जूटको ठूलो झोला बलजफ्ती आफ्नो हातमा लिएँ । उसले फेरि पुलुक्क मतिर हेरी र ‘धन्यवाद’ भनी ।
उसको दृष्टिमा कृतज्ञताभावभन्दा कुतूहलभाव प्रस्टिएको थियो । तर मेरो सौम्य, गम्भीर र आत्मीय मुखमुद्रा देखेर आश्वस्त भई । अनि एकछिन अडिएर नाइलनको तारको झोला भुइँमा राख्दै ह्यान्डब्यागबाट पहेँलो लेडिज रूमाल झिकेर अनुहारको पसिना मेकअप नलत्पतिने गरी हल्का तवरले पुछ्न थाली । एक्कासि मेरो मुखमुद्रा बदलियो र उसको सुडौल देहयष्टिलाई लोलुप नजरले हेर्न थालेँ, जहाँ कामीको खलाँतीझैँ चलेको श्वासप्रश्वासले उसका कलशद्वय उद्वेलित भइराखेका थिए ।
“कस्तो घाम, उफ् !”
‘अँ’ भन्दै मैले पनि मौसमअनुकूल जवाफ दिएँ ।
झोला निकै गरुङ्गो रहेछ । मेरो पनि दाहिने हात तन्केर घुँडा छोला जस्तो गरÞ्यो । लाग्यो, झोलामा अन्य चिजबिजहरुभन्दा आलुकै मात्रा बढी छ । स्वास्नीमान्छेहरु जे सस्तो छ र जे सहजप्राप्य छ, त्यतैतिर झुम्मिन्छन् । खुबै मोलभाउ गर्छन्, महँगोमा पर्छन्– मीठोमीठो बोलीवचनले गर्दा । यत्रा यातायातका साधनहरु छन् तर वरिपरि नै आधार खोज्छन् । सहजप्राप्यले गर्दा निर्मला पनि त यस्तै थिई ।
‘तपाईंले मलाई चिन्नुभो र ?’ भन्दै उसले मतिर नियालेर हेरी ।
“चिनेर मात्र आफ्नो कर्तव्यपालन गरिन्छ र ?” प्रतिप्रश्न मेरो थियो ।
मेरो अनुहार फेरि सौम्य र भद्र भइसकेको थियो । प्रतिप्रश्नले गर्दा ऊ एकछिन चुप लागी र भनी, “निकै सहृदयी हुनुहुँदो रै’छ, धन्यवाद !”
उसको शब्द चयनले गर्दा मलाई ऊ सुशिक्षित छे भन्ने लाग्यो ।
“सहृदयता आर्जित गुण हुँदैन, स्वभाव हुन्छ ।”
उसले हाँसेर मतिर हेरी र कुनै जवाफ दिइन । मैले उसलाई अघि लगाएँ र आफू उसलाई अन्यथा अनुभव हुन नदिई एक पाइलो पछि परेँ किनभने मलाई उसको टोल र घरबारे केही थाहा थिएन । एकछिनपछि फेरि उसलाई नारीसुलभ वाचालताले घच्घच्यायो र वार्तालाप( पहिलोपटक भेट हुँदा हुने वार्तालाप( मौसम, महँगी हुँदै राजनीतिसम्म पुग्यो । यद्यपि घरेलु नारीको लागि राजनीति उस्तो आकर्षक विषय होइन तापनि शिक्षित छु भन्ने देखाउन अपरिचित अथवा नवपरिचितसित चर्चा गरिन्छ नै । राजनीतिक चर्चामा नारीहरुको विशेष रूचि मूलभूत सैद्धान्तिक विचार–विमर्शमा भन्दा प्रशासनिक चलन–विचलनमा बढी हुन्छ । यहाँ पनि सोही भयो । यसै सन्दर्भमा अन्ततः तिम्री स्वास्नीले तिमी अफिसर भएको र तिम्रो प्रशासनिक भूमिकाबारे चर्चा गरी । मैले समर्थनमा मुन्टो हल्लाउँदै रहेँ किनभने नारीलाई स्नेह र समर्थन चाहिन्छ । किनभने, म स्वयं पनि अफिसर थिएँ र प्रशासनिक कटुमधुर अनुभव मलाई पनि छ । निक्कै ठूलो रकम कुम्ल्याएर त्यागपत्र दिएँ, अथवा दिनुपरÞ्यो र अब ठेक्कापट्टा गर्दै छु ।
“हेर्नुस् न, कस्तो ब्याडलक ! ट्याक्सी नै पाइएन आज ।”
गल्लीजस्तो सडकबाट निस्केर हामी फाँटमा आइपुग्यौँ । टाढा–टाढासम्म नवनिर्मित घरहरु छरिएका थिए । ऊ एउटा एकतले र सामान्य वास्तुविन्यासयुक्त घरसामु उभिई । घर अपूर्ण थियो । प्लास्टर गरेको थिएन तर कम्पाउन्डवाल भन्ने थियो । ग्रिल–गेटको सट्टा तगारो थियो । उसले मतिर होइन, तिम्रो घरतिर हेर्दै भनी, “यै हो हाम्रो घर ।”
“लौ त, आफ्नो झोला लिनुस् ।”
अब त म पनि असिन–पसिन भएर थाकेर चूर भइसक्या थिएँ । अतः झोला उसको हातमा दिएर मैले गोजीबाट रूमाल झिकेँ र पसिना पुछ्न थालेँ । झोला दिँदा फेरि उसका मांसल र कोमल औँलाहरुको स्पर्श पाएँ ।
“धन्यवाद ! धेरै–धेरै धन्यवाद ! एहे तपाईं त ‘”
“क्यै छैन, क्यै छैन । तपाईंको यति सेवा गर्न पाएर मैले आफूलाई सौभाग्यशाली ठानेको छु ।”
“तपाईंको कुन टोल परÞ्यो ?”
‘त्यो त पछि परिसक्यो ।’
“ए ! उसो भए मेरै लागि तपाईंले यति कष्ट ‘”
“भैगो केही कष्ट छैन । लौ त अब बिदा दिनोस् ।”
अहिले भने उसको आँखामा कृतज्ञता र कताकता किञ्चित् अपनत्वको भाव देखा परÞ्यो । अक्मकाउँदै र यताउति हेर्दै मधुरो स्वरमा भनी, “एकछिन पर्खिनुस् ।”
“के यो झोला भित्रसम्म पु¥याइदिऊँ कि ?” भन्दै उसको हातबाट झोला लिएँ ।
“अँ ।” अन्यमनस्क भएर उसले भनी ।
तगारो खोलेर हामी भित्र पस्दा मैले जुन कुरा देखेँ, सो देखेर म विस्मयविमुग्ध भएँ । क्यामेलिया ! मेरो प्यारो क्यामेलिया फुलेको रहेछ, पूर्ण यौवनसाथ । ९ महिनाको कठिन प्रयासपश्चात् फुल्ने फूल । एक्कासि रवीन्द्रनाथ ठाकुरको प्रसिद्ध कविता ‘क्यामेलिया’को सम्झना आयो । दार्जि्लिङको पर्वतीय बाला तनुकाको सन्दर्भसहित यस कवितामा बङ्गाली कविगुरूले भनेका पंक्तिहरु मगजमा सल्बलाउन थाले ।तनुका बोलले, “दामी दुर्लभ गाछ,
ए देशेर माटिते अनेक यतने बाँचे ।”
जिगेस करलेम, “नामट की ?”
से बोलले, “क्यामेलिया ।”
मलाई क्यामेलियातिर टक लगाएर हेरेको देखेर उसले हर्षित हुँदै भनी, “कति राम्रो फूल छ हगि ? ल्याउनुस् झोला दिनुस् ।”
“अब म बिदा हौँ त ?” झोला दिँदै मैले भनेँ ।
“कहाँ हुन्थ्यो ! एक कप चियासम्म खाएर जानुस् न । साह्रै थाक्नुभो ।”
जम्मा चारवटा कोठाको एकतले घरमा उसले मलाई ड्रइङ रुममा बसालेर हस्याफस्याङ् गर्दै आफू किचेनतिर लागी । बैठक सादा तर सुरूचिपूर्ण थियो । फ्रेन्च विन्डोमा ग्रिल र पर्दा दुवै थियो तर शिशा हालेको थिएन । निर्माणाधीन घरमा यस्तै हुन्छ । निकैबेरपछि ऊ आई— एउटा हातमा चियाको कप–प्लेट र अर्को हातमा अम्लेटको रिकापी लिएर ।
“एकछिन कुर्नुप¥यो, हगि ?”
यत्रो कष्ट किन गर्नुभएको ? अनि तपाईंलाई ख्वै त ?”
“म आउँछु, तपाईं खाँदै गर्नुस् ।”
अतिथिपरायणताको गृहिणीसुलभ उमङ्गले उल्लसित हुँदै ऊ फेरि किचेनतिर हानिई र आफूलाई पनि चिया ल्याई ।
“यी यहाँ मेरो श्रीमान् !” उसले भित्तातिर औँल्याउँदै भनी ।मैले त्यतै हेरेँ । अफिसियल पार्टी खाँदाखाँदा डम्म परेको अनुहार, घोप्टे जुँघा, ढाकाको टोपी ।
“बडो ह्यान्डसम हुनुहुँदो रहेछ !”
ऊ चोरआँखाले मतिर हेर्दै लजाई र गहुँगोरो अनुहार आरक्त भयो । एकछिन अझैको वार्तालापबाट थाहा पाएँ( एउटी छोरी छे ६ वर्षकी, स्कुल जान्छे । एउटा श्रीमान् छन्, जो अफिस जान्छन् र साँझ झमक्क नपारी घर फर्किंदैनन् । बिदा हुँदा शिष्ट ढङ्गले ठट्टा गरेँ, “बाहिर क्यामेलिया फुलेको छ र भित्र तपाईं । अब बिदा दिनुस् ।”
फेरि चोरआँखाले मतिर हेरेर हाँसी र भनी, “नमस्ते ! आउँदै गर्नुहोला है !”
यो नितान्त औपचारिक वाक्य थियो तर यसैलाई मैले सहारा दिनुपर्ने चोरऔँला ठानेर समाएँ । अनि त तिम्रो स्वास्नीसँगको भेटघाट क्रममा यहाँ आवतजावत निर्बाध चल्यो ।
भेटघाट कहिले बजारमा, कहिले घरमा गर्दै दुई महिना बित्यो । आत्मीयता पल्लवित भयो, पुष्पित भयो । अनि कहिलेदेखि हो कुन्नि ‘तपाईं–तपाईं’ को भनाभन ‘तिमी–तिमी’मा परिणत भयो, दुवैलाई थाहा भएन । एकदिन अकस्मात् तिमी अफिसबाट छिट्टै घर आइपुग्यौ । हामी कुनै अश्लील अवस्थामा थिएनौँ किनभने बल्ल ‘तिमी–तिमी’को स्तरसम्म आत्मीयता पुगेको थियो । मैले चियाको कप सेन्टर टेबुलमा राखेर उठ्दै तिमीलाई नमस्कार गरेँ । एकछिन बादल लाग्यो । अनि लगत्तै झलमल्ल घाम भयो ।
“यहाँ को हुनुहुन्छ ?” पौरूषको एकाधिकारी सन्देहले जिज्ञासा गरÞ्यो ।
“मेरो मीतदाजु हुनुहुन्छ,” तिम्री स्वास्नीले एकक्षण पनि नबिराएर भनी ।
“यत्रा दिनपछि जेठानसाहेबको सवारी भएछ । के गर्नुहुन्छ ?”
“यसो सानोतिनो ठेक्कापट्टा गर्छु । आज बैनीसित पनि भेटौँ, हजुरको पनि दर्शन गरौँ भनेर आएको ।”
“मसित क्यै काम थियो कि ? लौ त आज यहीँ खाएर जाने अब ।”
घाम अझै झलमलायमान भयो । कति छिटो उसले ढाँटेर मलाई ‘मीतदाजु’ बनाई । यो स्वास्नीमान्छेको त्वरित छलबुद्धिको प्रमाण हो । उसले मलाई सहपाठी, छिमेकी, साथी पनि भन्न सक्थी तर भनिन । नारीको पुरूष–मनोविज्ञानको ज्ञान पुरूषको नारी–मनोविज्ञानको ज्ञानभन्दा श्रेष्ठतर हुन्छ— विशेषगरी व्यावहारिक सन्दर्भमा । आफ्नो स्नेहसूत्र कायम राख्न नारीले यस्तै सानासाना झुट बोलेर पुरूषको एकाधिकारी प्रवृत्ति र अहमलाई श्रद्धासुमन चढाइराख्छे । तर, पुरूषको लिंडे बलले यसैलाई स्त्रीयाचरित्र भन्छ ।
यसैगरी यदाकदा तिमीसित, प्रायःजसो तिम्री स्वास्नीसित भेटघाट गर्दै अझ ६ महिना बित्यो । अनि कसरी ड्रइङ रुमको स्नेह र आत्मीयता बेड रुममा गएर टुङ्गियो, सो कुराको ज्ञान न त मलाई नै भयो न त तिम्री स्वास्नीलाई नै । नजिक र आफूभित्र घटित हुने घटनाको प्रभाव त थाहा हुन्छ तर समय–कालको ज्ञान हुँदैन । अनि त सातामा एक–दुईपटक कहिले तिम्री स्वास्नीको आग्रहले र कहिले मेरो आग्रहले आत्मीय बेडरुम कार्यक्रम चल्दै राख्यो । बाहिरको क्यामेलिया ८ महिनापश्चात् हाम्रो हृदयबाटिकामा पूर्ण यौवनका साथ फुल्न थाल्यो । मबाट स्नेह र सन्तुष्टिको सहारा पाएर उसले अब तिम्रो अवगुणको पनि आलोचना गर्न थालिसकेकी थिई । तिम्रा गुणहरु गौण हुँदै गएका थिए । बेला–बेलामा मैले ल्याएको स्नेहोपहारले मेरो गुणगरिमा बढाएको थियो । तिमीलाई सन्देह नहोस् भनेर एकदिन मैले तिम्रो लागि पनि एउटा निकै दामी रोलेक्स घडी ल्याएको थिएँ ।
“ज्वाइँसाहेब, यो हजुरको लागि ‘ मेरो एउटा साथी दिल्ली गएको थियो, उसैले ल्याएको ।”
“भैगो राख्नुस् जेठानसाहेब !”
“मसित छँदै छ नि ।”
“मसित पनि त छ ।”
हामी दुवै हाँस्न थालेका थियौँ । यसैबीच तिम्री स्वास्नीले प्याच्च भनी, “तपाईं त साह्रै खर्चालु हुनुहुँदो रै’छ, दाइ !”
“बैनीलाई भन्दा ज्वाइँलाई खुसी पारे पो त बैनीले सुक्ख पाउली ।”
‘ठेक्काको पैसा के छ र ?’ भन्दै तिमी हाँस्यौ । अनि हामी तीनैजना हाँसेका थियौँ ।
तिम्रो हाँसोमा अफिसरीय खोक्रो अट्टहास थियो, मेरो हाँसोमा व्यापारिक कुटिलता थियो भने तिम्री स्वास्नीको हाँसोमा ईष्र्यामिश्रित उपेक्षा थियो ।
अनि भोलिपल्टै उसको ईष्यामिश्रित हाँसोलाई साम्य पार्न एउटा गहकिलै स्नेहोपहार लिएर दिउँसो १ बजेतिर उपस्थित भएको थिएँ । उसले मलाई ड्रइङ रुममा नबसाएर सोझै बेडरुममा लगी । लगाएर देखाई । अनि लगत्तै हामी बेडरुम कार्यक्रममा व्यस्त भयौँ । त्यस दिन आनन्दातिरेकमा तिम्री स्वास्नीले भनेकी थिई, “म त तिम्री हुनुपर्ने हगि ?”
मैले निर्मलालाई छोडेदेखि कुनै आफ्नो मनले खाएकी नारीले मलाई यसो भनोस् भन्ने प्रतीक्षामा थिएँ । सहज भएर ड्रइङ रुममा आएपछि चियाको घुट्को निल्दै मैले भनेँ, “यसरी कति दिन चल्ला ?”“जति दिन चल्ला चल्ला,” सन्तुष्टिको निष्फिक्रीपनले ऊ हाँसी ।
“के हामी सधैँभरिको लागि एकअर्काको हुन सक्तैनौँ ? आऊ, जाउँ छोडेर यो दुनियाँ र आफ्नो नयाँ दुनियाँ बसाऊँ !”“के रे ?” तिम्री स्वास्नी झस्किई र घोरिन थाली ।
“के रे से रे होइन, अब म तिमीबिना एकक्षण पनि बाँच्न सक्तिनँ । के मेरो माया लाग्दैन र ?”
‘लाग्छ’ भनेर उसले मतिर चोरआँखाले हेरी र फेरि घोरिन थाली ।
निकैबेरसम्म तिम्री स्वास्नी र मेरो गलबद्दी भयो । ऊ अन्कनाउँदै रही म फकाउँदै रहेँ । अन्ततः मलाई रिस उठ्यो र निर्णयात्मक स्वरमा कठोरतापूर्वक भनेँ, “म अन्तिम निर्णय चाहन्छु, मसित जाने कि नजाने ?”“कस्तो अबुझजस्तो कुरा गरÞ्या ‘ म आफ्नो लोग्नेलाई कसरी छोड्न सक्छु ? तिमी त उसै भेट भएका थियौ ।”
“उसै !” म अक्मकिएँ ।
“अँ, उसै त हो नि ।” तिम्री स्वास्नी झर्केर शब्द–शब्द अँठ्याएर बोल्दै थिई ।
एक्कासि म झल्याँस्स भएँ । यस आकस्मिक, अप्रत्याशित र अकल्पनीय जवाफले गर्दा म ऊतिर एकछिनसम्म घोरिएर हेरिराखेँ । हेरिमात्र राखेँ तर मगजमा कुनै कुरा फुरेन । ऊ भने मतिर हेर्न नसकेर भित्तातिर हेर्दै थिई, जहाँबाट तिम्रो फोटोले उसलाई हेर्दै थियो । क्षुब्ध मनस्थितिमा म त्यहाँबाट हिँड्न जुरूक्क उठेँ । उसले मेरो मनोभाव बुझेर सम्भ्रम चालले उठेर ढोकामा आई र आफ्नो सुडौल पाखुरा पखेटाझैँ फिँजाएर भनी, “रिसाएको ? लोग्नेमान्छेहरु कति छिटो रिसाउँछन् । अहिले नजाऊ न, म फेरि चिया ल्याउँछु है ?”
“जान देऊ, फेरि आउँला ।”
“हेर, शरीर जसलाई सुम्पे पनि मन त तिमीलाई नै सुम्पेकी छु । तापनि तिमी रिसाएर जाँदै छौ, पक्का आउँदैराख्ने हो भने मात्र म बाटो दिन्छु । आउँदैराख्छु भन न ल ‘ ल ‘ ल भन न,” उसको अनुहारमा आह्वान तीव्रतासाथ टल्किँदै थियो ।
म सोच्दै थिएँ, निर्मलाले पनि यसै भनेकी थिई, “त्यो त उसै भेट भएको ।” अनि तिम्री स्वास्नीले पनि यसै भनी, “तिमी त उसै भेट भएको ।”
तिम्री स्वास्नी र मेरी स्वास्नी दुवैले दिएको एउटै उत्तरले गर्दा म तुलनात्मक द्विविधामा परेँ । तिम्री स्वास्नीले शरीर तिमीलाई र मन मलाई सुम्पेको कुरा नितान्त तार्किक लाग्यो ।
वर्षदिनपूर्व निर्मलाले ‘उसै भेटेको’लाई शरीर सुम्पिन थाल्दा म टुप्लुक्क आइपुगेको थिएँ । ‘उसै भेटेको’ त उसै बेपत्ता भइहाल्यो, फेला परी निर्मला । कुट्नसम्म कुटेँ, ओठ काटिएर रगत पनि बग्यो । ऊ हात जोडेर रूँदै माफी माग्दै रही । उसले प्रतिवाद गर्ने ठाउँ नै थिएन । भ्रमको धमिलो पर्दासम्म पनि भएको भए ऊ मसित उग्ररुपले बाझेर आफूलाई पतिव्रता सिद्ध गर्न खोज्ने थिई । तर, प्रत्यक्ष रुपमा समातिएपछि ऊ निरुत्तर भई । अझै कुट्ने थिएँ तर पल्लो कोठामा डेढ वर्षे छोरो गोपु ब्युँझेर रून थालेको हुँदा कुटाइ बन्द गर्नुप¥Þयो ।
“को थियो त्यो ?”
बोलिन ।
“को हो भन्या ?”
“मेरो कोही होइन त्यो, उसै भेटिएको थियो, विश्वास गर्नुस् । अब म हजुरको पाउ छोडेर कतै जान्नँ ।”
“कोही होइन, उसै भेटेको रे ! तैँले जानैपर्छ । उसै भेटिनेजति सबैलाई ल्याएर मेरो घर होटेल र रन्डीखाना बनाउने ?” मैले जुठा प्लेट र चियाका खाली कपहरुतिर हेर्दै भनेँ ।
“बरू मेरो हातखुट्टा भाँचिदिनुस् तर यो घरबाट ननिकाल्नुस् मेरो हजुर ! म मर्छु । विश्वास गर्नुस् त्यो मेरो ‘”
“मलाई छैन विश्वास तँ रन्डीमाथि । जा निस्किहाल् ‘ अहिल्यै । नारायणघाट जाने बस भेट्टाउँछेस् । पैसा–सैसा केही बोकिस् भने काट्छु तँलाई । ड्राइभर–कन्डक्टर पनि भेटिएलान् उसै । तँमाथि दया गरेको यत्ति हो । निस्किहाल् भन्या‘ नत्र अहिले चुपी झिकेर छाला तार्छु तेरो ।”
अनि ऊ गोपुलाई बोकेर घरबाट निस्किएकी थिई ।
६ महिनासम्म प–पन्ध्र दिनमा निर्मलाका अनुनय–विनयपूर्ण चिठ्ठीहरु आउँदै राखे । अनि बन्द भयो ।
अहिले तिम्री स्वास्नी आफ्ना सुडौल पाखुराका पखेटा फिँजाएर ढोकामा उभिएकी छ । तिमीलाई थाहा छैन, त्यसो हुनाले ऊ अझै मेरो बाटो छेक्न तत्पर छे । अब यी पाखुरा स्नेहको होइन, स्वार्थको भर दिने पाखुरा भएका छन् । स्नेह र स्वार्थको दूरी धेरै त रहेनछ । एउटै दुष्टिकोणको पातलो पर्दाको वरिपरि दुवै बसेका रहेछन् । तिम्री स्वास्नी त तिम्री नै रहिछ, म त उसको रखौटा, नाठो, नटुवामात्र । अतः यी पाखुराहरुले अब मलाई बाँध्न सक्दैनन् । ‘उसै भेटेको’ यी दुई शब्दबीचमा बारम्बार कहिले तिम्रो अनुहार देखापर्थ्यो, कहिले गोपुलाई बोकेकी निर्मला देखा पर्थी ।
“आउँछु भन न ल ‘ ल !”
“ल,” मुक्त हुन मैले वितृष्णासाथ भनें ।
उसले मेरो गालामा म्वाइँ खाई र बाटो छोडिदिई । यो म्वाइँले मेरो गालामात्र होइन, मनसमेत पोल्यो र सोचेँ, यो मेरो माया होइन । यो त ‘उसै भेटेको’ लालसामात्र हो । केही समयपछि बिर्सिहाल्ने छेस् । अनि फेरि उही दालभात रूच्न थाल्नेछ । बिर्सन सक्ने क्षमता पुरूषमा भन्दा नारीमा बढी हुन्छ । अनि पो त सामान्यतः आत्महत्या गर्नेहरुमा नारीको भन्दा पुरूषको संख्या बढी देखिन्छ ।
बाहिर आएँ । क्यामेलियातिर हेरेँ । अब त्यहाँ फूल थिएनन्, पातैपात मात्र । रवीन्द्रनाथलाई सम्झेँ, गीतैगीत मात्र । त्यहाँबाट म सरासर बस स्ट्यान्डतिर लागेँ ।
२ः३० भएको रहेछ ।
“सिट छ ? नारायणघाट ।”
“छ दाइ ! कतिवटा ?”
“यताबाट एउटा, उताबाट दुइटा,” अन्यमनस्क छु ।
“उताबाट उतै किन्नुहोला, दाइ !”
“ए ऽ ल ? ठीक छ । कति बजे पुग्ला ?”
“११ बजे रातिसम्म पुगिहाल्छ नि !”
समय छ ।
यसबीच रत्नपार्क, भोटाहिटी, असन, नयाँसडक कताकता डुलेँ, को–कोसँग भेटेँ, के–के कुरा गरेँ, कुन्नि ! यो डुलाइभरि म निर्मलालाई भन्न उपयुक्त शब्द खोज्दै थिएँ । साढे ६ बजे बसमा चढ्दासम्म बल्ल–बल्ल दुईवटा वाक्य बनाएँ ।
११ बजे राति बूढी सासूले भन्दा निर्मलाले नै ढोका उघार्ली अनि भनौँला ।
“निर्मला, म उसै आएँ । भित्र आउन दिन्छ्यौ ?”
बस खोक्छ, खकार्छ, अनि चिच्याउँदै गुड्न थाल्छ ।
म सिटमा ढल्किनासाथ नारायणघाट पुग्छु र निर्मलाको आँसु पुछ्दै गोपुलाई जिस्क्याउन थाल्छु ।
( स्वगीर्य कथाकार मनु ब्राजाकीको कथा संग्रह ‘तिम्री स्वास्नी र म’बाट)





