नयाँदिल्ली ,२८ जेठ – आठ दिनदेखि बेपत्ता रहेको भारतीय वायु सेनाको विमानको टुक्रा अरुणाञ्चल प्रदेशमा भेटिएको छ ।
पछिल्लो ८ दिनदेखि बेपत्ता भारतीय सेनाको एएन–३२ विमानको टुक्रा मंगलबार अरुणाञ्चल प्रदेशमा भेटिएको हो । भारतीय वायु सेनाको एमआई–१७ हेलिकप्टरले अरुणाञ्चल प्रदेशको सियाङ जिल्लामा विमानको टुक्रा देखेको भारतीय वायु सेनाले ट्वीटमार्फत जानकारी दिएको छ ।विमानमा ८ जना क्रू मेम्बर र पाँच जना यात्रुसहित १३ जना चढेका थिए । यसमा रहेका यात्रुको अवस्थाका बारेमा भने जानकारी लिने प्रयास भैरहेको छ ।यो जहाजले गएको जुन ३ मा असमको जोरहाटबाट उडान भरेको थियो । उडान भरेको आधा घण्टामै जहाज सम्पर्कविहीन भएको थियो । हराइरहेको जहाजको खोजी इण्डियन स्पेस रिसर्च अर्गनाइजेसनको सहयोगमा भारतीय वायु सेनाको विमान सी–१३०, एएन–३२ एस, एमआई–१७ लगायत भारतीय स्थल सेनाको आधुनिक हेलिकप्टरमार्फत गरिएको थियो ।यसअघि तीन वर्ष पहिले भारतीय वायु सेनाको एएन ३२ विमान पनि हराएको थियो । जसमा भारतीय वायुसेनाका १२ जवान, ६ क्रू मेम्बर, एक नौसैनिक, एक सेनाका जवान र एकै परिवारका ८ जना सदस्य थिए ।त्यसको खोजी कार्यको लागि आठवटा विमान, एक पनडुब्बी र तीन पोतको प्रयोग गरिएको थियो । तर पनि त्यो विमान आजसम्म भेटाउन सकिएको छैन । त्यस घटनालाई एउटा रहस्य मानिएको छ ।





