पोखरा,२५ असार – बागलुङको पर्यटकिय गन्तव्यको प्रचार प्रसार गर्ने उदेश्यले डकुमेन्ट्री चलचित्र ‘बुकि’ निर्माण गरिने भएको छ । पर्यटकीय दृष्टीकोणले महत्त्वपूर्ण भएपनि ओझेलमा रहेका स्थानहरुलाई चलचित्रको माध्यमबाट विश्वसामु परिचित गराउने लक्ष्य रहेको निर्माण संयोजक मोहन केसीले जानकारी दिए । उनले भने, ‘हामीले विगत एक वर्ष देखि तैयारी सुरु गरेका हौ ,सुरुमा डकुड्रामा बनाउने योजना थियो तर अहिले चलचित्रनै बनाउने गरि काम सुरु गरिएको छ ।’
चलचित्रमा जिल्लाका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको परिचय र पहिचानलाइ उजागर गर्ने गरि कथा तयार गरिएको संयोजक केसिले जानकारी दिए । कुलबिर थापाको परिकल्पनामा कथा तयार भैरहेको छ । कथाको लेखन अन्तिम चरणमा पुगेको केसिले जानकारी दिए ।
चलचित्र व्यावसायिक नभएर जिल्लामा पर्यटन विकासको लागि निर्माण गर्न लागिएकोले सबै जिल्लावासिको सहयोग अपरिहार्य रहेको आर्थिक संयोजक प्रकाश आलेको भनाई छ । चलचित्र निर्माणको वारेमा जानकारी दिन हालै मात्र केही महत्त्वपूर्ण पर्यटकीय गन्तव्य र कलाकार सहितको भिडियो सार्वजनिक गरिएको छ । जिल्लामा रहेका स्थानीय तह ,पर्यटन बोर्ड ,पर्यटन मन्त्रालय लगाएको सहयोगमा चलचित्र निर्माण गरिने गरि काम अघि बढेको छ । चलचित्र निर्माणको लागि जिल्लास्थिति संघ सस्था र बागलुङ बाट रोजगारीको लागि प्रवासमा कार्यरत दाजुभाइ संग सहयोगको अपेक्षा गरिएको आलेले वताए । चलचित्र निर्माणको लागि पत्रकार थम्मन थापा र प्रवासमा जितु थापा ,किसान थापा ,दुर्गेस साहानी र ताराप्रसाद सापकोटा लगाएतले समन्वय गरिरहेका छन् । उक्त चलचित्र नेपाली र अंग्रेजी भाषामा तैयार हुने जनाइएको छ ।





