सम्झे आज एउटा घटना बाल्यकालमा भा को
टोलै भरका बालक मिलि काँक्रो चोर्न गा को !
मात्रै थियो काँक्रोमा के उसले हात ला को
कोहो भन्दै कोइली चरी गर्यो ठूलो डाको !
सबको भयो भागाभाग काक्रो त्यहि छोडी
तर्सिएर भागी हाले चोर्न गा का जोडी !
गलत कामलाई देख्दा पनि छैनन् आज बोल्ने
न त अन्त गै कतै यस्ता कुरा खोल्ने !
मतलब छैन कोहि कसैको चिन्ता आफ्नै मात्र
सृस्टि भरि बढी सके यस्ता खालका पात्र !
बिरोध गर्ने छैनन् कोहि अपराधको झुटको
देखे पनि बोल्दैनन केहि बचाउ गर्छन गुटको !
दस्ता बनाई लुट्ने खेलमा पाउदा सानो पिडो
त्यहि पिडोमा मुख मिठायो चुप्प लग्यो हिँडो !
किरा सरि मानब जाति छन् नि जता ततै
निमूखाको घटना घटोस साँझी छैन कतै !
जे देखेनी जे भोगेनी बोल्दैनन ति त्यहाँ
कुरो लिई हाजिर हुन्छन बरु मालिक कहाँ !
हाम्रो मान्छे फस्छ त्यहाँ नबोल भन्छ मालीक
प्राण भा को जिउदो मानिस बन्छ फेरी शालीक !
खबरदारी गर्ने जिम्मा पा का पनि आज
जे देखेनी चुप लाग्छन मान्दैनन केहि लाज !
उनै बाट आश नभएसी कता जानु अब
पखेरुमा विश्वास परि जिम्मा लाउछौ सब !
कोहो कोहो भन्दै थूर्ने तेरो ठूलो डाँकाे
तेरो छ नि दुधे दाजू यस्तै खुबी भा को !
खाइस खेलिस हूर्किस बढिस काग दाजू संग
उसको खुबी सुने कोइली त नि हुन्छस दङ्ग !
निकै टाढा सम्म देख्छ सबको खबर राख्छ
जस्तै आपत परे पनि ज्यानै जोगाइ भाग्छ !
जस्तो सुकै ठाउँमा पनि भन्दैन त्यो जान्न
हात उठाए देखि हाल्छ ताके भन्छ हान्न !
एक अर्काको खुबी अब अंश बन्डा गर
दुधे भएनी दाजूभाई होउ नमिल्ने पो छ र ?
सक्दैनौ त्यो साट्न भने अर्को शंधी गर
संगै बस, संगै खेल, संगसंगै चर !
जब देख्छ कागले केहि गडबड हुन ला को
कोहो भन्दै झपार तैले गर्दे ठूलो डाको !
भागे जस्तै काँक्रा चोर भाग्लान अरु पनि
तेरो आवाज सुन्दा बरु देखेछन् लौ भनि !
गर्दे एति कोइली आज धन्य हुन्छस त नि
तेरो पनि पूजा होला त्यस्तै दिन गनी !
काग हामी पहिलै पूज्थेउ काग तिहार भनि
एति भएसी मान्छौ हामी कोइली तिहार पनि !
शोध बरु यमराजलाई ढीला गर्छै किन
हुन्छ कि नाइ दुवै पूजा गर्न एकै दिन ?
चिन्ता छैन यमपन्चक लम्बिएमा पनि
हदै भए बिदा होला कोइली तिहार भनि !





