बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

क्या राम्रो बलेवा

क्या राम्रो बलेवा


  • गुरुदत्त पाठक
  • पुष ५ २०७६, शनिबार

बागलुङ जिल्ला बलेवा क्षेत्र नचिन्ने को छ’र
दशै र दिशा सम्बन्ध राम्रो चर्चाको शिखर
भेष र भुषा संस्कृति मिल्दो एउटै छ पहिचान
त्यसैको सानो कविता रुपी गर्दैछु बयान ।

पूर्वमा काली पश्चिमतिर सिगाना जोडियो
उत्तर सीमा भकुण्डे आयो तित्याङै छोडियो
दक्षिण दिशा टिमुरेखोला बैंशको देखियो
त्यसदेखि पारी दमेक वारी बलेवा लेखियो ।

पहिलेको थियो बलेवा यही पूर्खाले जानेको
पूर्खाकै कुरा सुनेर त्यही हामीले मानेको
विस्तार पछि फेरिँदै गयो अधिको म्यासेज
पूर्वका तीन गा.वि.स अहिले बलेवा बिशेष ।

कालीको तीर मोतीको शीर भैरब मन्दिर
पुगिन्छ जब भुलिन्छ सब मनको त्यो पीर
शीरै र माथि भैरब देव शक्तिका अपार
चारै र तिर बलेवा क्षेत्र घेरिन्छ विस्तार ।

धाराको पानी बिजुली बत्ति शिक्षाको विकास
खेती छ उस्तै लेक र वेशी चौतर्फी निकास
खेतका फाँट सुन्दर बस्ती सडक सञ्जाल
मिलेका सबै वन र पाखा नमुना नेपाल ।

सौन्दर्य थप्छ अमलाचौर प्राकृतिक छटाले
बलेवा भित्र रौनकै ल्याउँछ यो पैयुँपाटाले
बलेवाचौर नारायणस्थान क्या गरुँ बयान
देखेको जति लेखेको मैले द्विविधा नमान ।

वारि र पारी डाँडा र खोच दुनियाँ हजार
वेशीमा तल चिटिक्क राम्रो सेराको बजार
रमाईलो डाँडा त्यो रायडाँडा दुरैमा देखियो
विकास नयाँ रुपमा भयो मुहारै फेरियो ।

जस्ताको तस्तै रुप र सार प्रकृति भित्रको
भकुण्डेदेखि देखिन्छ सारा हिमाली क्षेत्रको
त्यसदेखि पारि भञ्ज्याङ माथि निर्मित टावर
जसबाट झनै देखिन्छ सारा यो सानु संसार ।

बैशाख मास लेखको बाटो गुहेँली पाकेका
बेशीमा तल किम्बु र टाँकी फुलेर ढाकेको
बीचमा लालीगुराँस फुल्दा बिचित्रै देखियो
बसन्त ऋतु सम्झना भयो कविता लेखियो ।

ऋङ्खलाबद्ध थुम र नेटा धर्तीका गहना
धार्मिक क्षेत्र पर्यटन क्षेत्र विकासको योजना
हुँदैछ सुरु बन्ने छ भोलि टलक्कै टल्किने
विविध हाम्रा सँस्कृति सारा झलक्कै झल्किने ।

उकाली राम्रा ओराली राम्रा देउराली राम्रा छन्
धुरीको बाटो बेशीको पाटो देखिन्छ राम्रो झन्
झनै र राम्रो बलेवा हाम्रो हवाई मैदान
जो जति दियौ प्रकृति देवी तिम्रै हो वरदान

जैमिनी धाम बलेवाकोट बलेवा भैरब
चण्डीका थान पाउजाकोट भूमि विर्सिन्न यी सब
कति छन् कति शक्तिका पीठ शिवका मन्दिर
निर्माण अझै हुँदैछन् सारा धर्मका खाँतिर

क्याम्पस यहीँ छन, छन उच्च मा.वि. प्रा.वि. र बोर्डिङ
यी नानीबाबु खुलेरै बोल्छन् हाई गुड मर्निङ
स्वास्थ्यको क्षेत्र राम्रै छ सारा भौतिक पक्षको
खाँचो छ अलि डाक्टर राम्रा सिपालु दक्षको ।

२० बर्षभयो बलेवा आउन मानेन जहाज
माया र प्रीति विरानो हुँदा दुखमा छु आज
धावन मार्ग घुमेर चक्का जमिन छुँदो हो
घुनुनु आवज गरेर बस्दा क्या राम्रो हुँदो हो ।

केवुलकार तरेर जाने जोडीको रहर
दिनभरी जसो घुमेर फर्के कुश्माको शहर
सिनेमा पनि सँगसँगै हेरे छुटिने मन छैन्
मुखले धेरै नबोले पनि ह्दय मान्दैन ।

देशकै अग्लो कैयाको पुल भैसक्यो तयारी
बीचैमा पुग्दा सिरिङ्ग होला ख्याल गरे पियारी
यसैले गर्दा नजिकै भयो कुश्माको बजार
वारि र पारी गर्नेको संख्या दिनमा हजार ।

पहिलेका पूर्खा बलिया थिए थाकको नुनने
परिश्रम गर्ने पसिना बगाई त्यो बेला तिनले
हलो र जुवा काँधमा लिन्थे धार्नीको कोदाली
हातैमा लिन्थे खेतैमा जान्थे आलस्य नपाली ।

सिँचाई, कुलो, बाटो र कुवा आँफैले बनाए
चौतारी चिने पोखरी खने यसैमा रमाए
सिधा र सोझा ती पूर्खा हाम्रा दुखलाई चिनेका
माटोमा सुन फलाउन सक्ने बाटोमा हिँडेका ।

क्या दुख थियो लाहुरै जाँदा पहिलेको जमाना
सुनौलीबाट गाडीमा बल्ल इण्डिया रमाना
हिँडेरै जान्थे बृघाको बाटो रानीघाट तरेर
चार बर्षपछि फर्केर आउने कबुलै गरेर

खुशी छौं ऐले करिडोर आयो खबरै सुन्न पाई
बलेवादेखि पाँचै र घण्टा बटौली सम्मलाई
तराई पहाड हिमाल जोडी दुनियाँ दिवाना
कालीको बाटो करिडोर पुग्यो चीनको सिमाना ।

समाजको लागि गरेको राम्रो जाँदैन त्यो खेर
आखिर सबै जानुनै पर्छ संसार छोडेर
जो राम्रो काम थाल्नु छ पहिले त्यो आफुबाट नै
गर्नु छ सुरु कर्मको बाटो उज्यालो छ सधैं ।

त्यसैले गर्दा धोएर मैला यो मन भित्रको
बलेवाबासी मिलेर सारा बलेवा क्षेत्रको
उन्नती गरौं अगाडि बढाउँ विकासको गतिलाई
भोलिका दिन सुनौला बनुन बाँकेका जतिलाई

हावा र पानी जाडो र घाम ठीक्क छ प्रकृति
घमाईलो जति रमाईलो उति उस्तै छ संस्कृति
बलेवा हाम्रो हामीलाई राम्रो धर्तीको स्वर्ग झैं
रुपका छोरी हुपका छोरा यत्तिको छर कहीं ?

घर मेरो बागलुङ जिल्ला अमालाचौर तीन
१५ सालको जेष्ठको महिना ७ गतेका दिन
जन्मेको हुँ गुरुदत्त पाठक हो नाम
जिन्दगीमा पेशा मेरो सामाजिक काम
बाबा मेरा चक्रपाणि आमा चन्द्रकला
यही हो मेरो परिचय नबिर्सनु होला–नबिर्सनु होला ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->