बागलुङ, १८ चैत – क्याटालोनियाको ठूलो र स्पेनको दोस्रो ठुलो शहर हो बार्सिलोना । त्यहीँ बार्सिलोनामा छन् तनहुँ म्याग्दे गाउँपालिका थर्पुका भुवन अछामी । केही साताअघि मात्रै बार्सिलोना पुगेका उनी कोरोना भाइरस संक्रमणको भुमरी फसे । बार्सिलोनामै ७ नेपालीमा कोरोना संक्रमण देखिएपछि अछामी बेचैन छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न स्पेनिस सरकारले मार्च १४ देखि आपतकालको घोषणा गरेको छ । अहिले बन्द कोठामा सिमित छ उनको अत्यासलाग्दो दिनचर्या ।
‘म यहाँ ठिक छु तर, स्थिति भयावह छ’ सामाजिक संजाल फेसबुकमा भेटिएका अछामीले भने– ‘लकडाउनपछि पुरा शहर चकमन्न छ, कोठामा बस्ने र कामना गर्नेबाहेक अरु विकल्प छैन ।’ हरेक बिहान निश्चित समयका लागि खुल्ने घरछेउका स–साना पसलबाट सामान किनेर खानाको व्यवस्था गर्दै आएको बताउँदै अछामीले भने– ‘फुड क्राइसिसभन्दा पनि कोरोना भाइरस संक्रमणको भयले तनाव दिइरहन्छ ।’ ‘अत्यावश्यक सामग्री खरिद गर्न कठिनाई भएपनि कतिपय नेपालीले भने यसअघिनै जोहो गरिसकेका छन्’ अछामी भन्छन्– ‘सरकारले सामाजिक सुरक्षाबारे केही घोषणा नगरेकाले कामदारहरु चिन्तित छन् ।’ नहुन पनि कसरी । कोरोनाले संकटले पर्यटन र फुटबलका कारण सधैँ चर्चाको शिखरमा रहने राजधानी मड्रिड र बार्सिलोना शहरमा सन्नाटा छाएको छ ।
स्पेनमा झण्डै १० हजार नेपालीको बसोबास छ । राजधानी मड्रिडपछि बढी प्रभावित क्षेत्र क्याटालोनिया हो । करीव चार हजार नेपालीहरु बसोबास गर्ने ठानिएको पर्यटकीय शहर बार्सिलोना रहेको क्याटालोनिया बढी प्रभावित क्षेत्र हो । स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार, मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ७ हजार ७ सय १६ जनाले ज्यान गुमाएका छन्भने संक्रमितको संख्या ८७ हजार ९ सय ५६ जनाभन्दा बढी नाघिसकेको छ । १६ हजार ७ सय ८० जनाभने निको भएका छन् ।
काठमाडौंको पनौती नगरपालिका स्थायी घर भएका श्याम मगराँती न्युयोर्क सिटीको ज्याक्सन हाइट क्षेत्रमा विगत सात वर्षदेखि बस्दै आएका छन् । नेपाली समुदायको बाक्लो बसोबास रहेको ज्याक्सन हाइट पनि कोरोना भाइरसबाट निकै प्रभावित छ । कोरोना संक्रमणबाट गैरआवासिय नेपाली अनिल लिम्बुको ज्यान गएको खबरले नेपाली समुदाय त्रसित बनेको मगराँतीले बताए । ‘धेरै नेपालीमा कोरोना संक्रमण फैलिएको खबर छ, तर सार्वजनिक हुन सकेको छैन्’ सोमबार दिउँसो अनलाइनमा भेटिएका मगराँतीले भने– ‘अमेरिकामा व्यक्तिगत गोपनियताको कानूनले यथार्थ विवरण बाहिर आउन नसकेका हुन् ।’
‘कोरोना भाइरसले निम्त्याएको विपत् नरोकिए अमेरिकामा बाँच्न मुश्किल छ’ पाँचजना परिवारका सदस्यसहित ६ दिनदेखि बन्दकोठामा गुम्सिएका मगराँतीले भने– ‘अहिलेसम्म जोहो गरेको खाद्यन्नले गुजारा चलेको छ, यहीँ अवस्था रहे बाँच्न गाह्रो छ ।’ अधिकांश पसल बन्द छन्, खुलेका डिपार्टमेन्टल स्टोर पनि खाली भएको मगराँतीले बताए । निराशाबीच आशाको त्यान्द्रो साँच्दै मगराँती भन्छन्– ‘अमेरिकाजस्तो शक्ति राष्ट्रले केही त गर्ला नि ! मगराँतीलाई के थाहा, अमेरिकामा कोरोनाको संक्रमण ‘भूसको आगो’झै फैलिरहेको छ ।
ज्याक्सन हाइटमै मगराँतीले संचालन गरेको जुत्ता र झोलाको सानो पसल पनि कोरोना संक्रमणको प्रकोप संगै बन्द छ, तर उनलाई माक्स बनाउन भने भ्याईनभ्याई छ । ‘केही पसलबाट माक्सको माग आएकाले बनाउने काममा भुलिरहेको छु’, उनले थपे । ज्याक्सन हाइटकै क्विन्सक्वान्टीमा रहेका थुप्रै नेपाली वेरोजगार छन् ।
मगराँती अमेरिकामा रहेका नेपाली समुदायका एक प्रतिनिधि पात्र मात्रै हुन् । वैदेशिक रोजगारीका लागि त्यहाँ पुगेका उनीजस्तै थुप्रै नेपाली कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । कोरोना संकटका कारण उद्योग, मल, रेष्टुरेण्टहरु बन्द हुँदा धेरै नेपालीले रोजगारी गुमाएका छन् । ‘नेपाली समुदायको सहायताले बाँचेकाहरुको अवस्था अहिले कस्तो होला ?’ आफैलाई प्रश्न गर्दै मगराँती भन्छन्– ‘विपत्मा यहाँ कसैले कसैको काँध थाम्ने अवस्था नै छैन, काम नगरे भोकै बस्नुपर्छ, दयाभावको संस्कार नै छैन यहाँ ।’
अमेरिकामा अनुमानित ५ लाख नेपालीहरु बसोबास गरिरहेका छन् । उनीहरुमध्ये कतिले उतैको नागरिकता लिइसकेका छन् । न्यूयोर्कमा मात्रै लाखौं नेपाली रहेको अनुमान गरिए पनि एकिन तथ्यांक भने छैन । अमेरिकामा प्रायः नेपालीहरु स्टोर, रेस्टुरेन्ट, मलहरुमा काम गर्छन् । कोरोनाको महामारीसँग लड्न अमेरिकी सरकारले २० खर्ब डलर बराबरको आर्थिक प्याकेज घोषणा गरेपनि त्यसले नेपाली समुदायलाई समेट्ने विश्वास गर्ने आधार भने छैन । बढ्दो आप्रवासीका कारण अमेरिकामा वेरोजगारको संख्या बढ्दै गईरहेका बेला कोरोना संकटले स्थिती झन् भयावह हुने देखिन्छ । त्यस्तो बेला नेपाली कामदार थप संकटमा पर्ने देखिन्छ ।
अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट मर्नेको संख्या तीन हजार नाघेको छ । मृतकहरुको यो संख्या चीनकै आसापस हो । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट ३ हजार १ सय ६५ जनाले ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितहरुको संख्या १ लाख ६४ २ सय ५३ पुगेको छ । अमेरिकी सरकारका संक्रामक बिरामी विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकामा कोरोना भाइरसले एकदेखि दुई लाखसम्म मानिसको ज्यान जाने चेतावनी दिएका छन् ।
जैमिनी नगरपालिकाका अप्सन मगर खाडी मुलुक दुवैमा पेन्टिङको काम गर्छन् । दुवैमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले कफ्र्यु लगाएको छ । ‘कोरोना फैलिएपछि रोजगार कम्पनीले छुट्टि दिएको छ’ मगर भन्छन्– ‘कारोना भाइरसले हाम्रो एरियामा पनि थुप्रैको ज्यान गएको खबर छ तर यथार्थ बाहिर ल्याउँदा जरिवानामा परिने कानुनले गर्दा यथार्थ थाहा हुँदैन ।’ ‘विपत्मा पर्दा गाउँघरको साह्रै याद आउँदो रहेछ’ उनले भने– ‘आशा र भरोसामा बाँच्नुबाहेक यहाँ अर्काे विकल्प छैन ।’





