काठमाडौँ, २२ चैत – सरकारले कोरोना भाइरस (कोभिड–१९ं) को संक्रमणको रोकथाम तथा न्यूनिकरणका लागि लकडाउनमा थप कडाइ गर्ने भएको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद्कौ बैठकले आवागमनमा थप नियन्त्रण गर्दै लकडाउनमा कडाइ गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनमा नियन्त्रण गरिने बताए ।
त्यसैगरी सरकारले कोरोना देखिएका जिल्ला बागलुङ, कैलाली र कञ्चनपुरमा र्यापिड टेष्ट किट प्रयोग गरेर कोरोना परीक्षण गर्ने निर्णय समेत गरेको छ । प्रवक्ता खतिवडाका अनुसार कोरोना संक्रमित देखिएका जिल्लामा तत्कालका लागि र्यापिड टेष्ट किटको परीक्षणबाट पिसिआर टेष्ट गर्ने निर्णय भएको हो । मन्त्रिपरिषद् बैठकले संक्रमणको जोखिममा सक्रिय रहने स्वास्थ्यकर्मीको सुरक्षा प्रबन्ध गर्ने निर्णय गरेको छ ।
दुईजना कोरोना संक्रमित देखिए लगत्तै चैत ११ गतेदेखि १८ गते बिहानसम्म लकडाउनको निर्णय गरेको सरकारले संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनको समय थपेर चैत २५ गतेसम्म पुर्याएको छ ।
मन्त्रिपरिषद्मा शनिबार नै लकडाउनको समय थप गर्ने प्रस्ताव पेश भए पनि त्यो भने निर्णय भएन । सरकारले यसअघि नै अन्तर्राष्ट्रिय उडानमा भने २०७७ वैशाख ३ गतेसम्म रोक लगाएको छ । नेपालमा एकजना बाहेक सबै कोरोना संक्रमित विदेशबाट आएका भएकाले सरकारले छिमेकी देशसँगका सीमा नाकामा समेत कडाइ गर्दै आएको छ ।
कोरोना भाइरसको जोखिमबाट बचाउन भन्दै सरकारले यही चैत २५ गते मध्यरातिसम्म लकडाउन तोकेको छ। संक्रमित संख्या बढ्दै गएमा लकडाउन बढाउने तयारीमा सरकारको तयारी छ। शनिबारसम्म नेपालमा कोरोनाको संक्रमितको संख्या ९ पुगेको छ। जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन्।




