पोखरा, २४ चैत – कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै पोखरामा ‘ग्लोब वाल सिस्टम’को सुरक्षा कवच निर्माण गरिएको छ । कोरियाले अपनाएको यो प्रविधिलाई यहाँको पोखरा विश्वविद्यालयअन्तर्गतको नेपाल इनोभेसन टेक्नोलोजी एण्ड आन्टरप्रेनरसीप सेण्टर (एनटिइसी) को पहलमा विकसित गरिएको हो । यसको निर्माण भने पोखराकै पोखरा युपिभिसी उद्योगले गरेको छ । कोरोना संक्रमण बढ्दै जाँदा संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई सुरक्षित राख्न ‘ग्लोब वाल सिस्टम’ उपयोगी हुने एनटिइसअन्तर्गत यो परियोजनाका संयोजक रवि भण्डारीले जानकारी दिए ।
उनका अनुसार ग्लोब वाल सिस्टम यसअघि नै विभिन्न ल्याबहरुमा खतरनाक रसायन एवं अन्य विभिन्न परीक्षणमा प्रयोग हुँदै आएको छ । कोरोना सन्त्रासको बेला कोरियाले शंकाष्पद बिरामीहरुको परीक्षण गर्न यो प्रविधि उपयोगमा ल्यायो ।
‘कोरियामा यही प्रविधि उपयोग गरि कोरोना संक्रमितहरुको परीक्षण गरेको तथा सडकमा ज्वरो नापेको देखेपछि हामीले यसको निर्माण थालेका हौँ’, भण्डारीले ढोरपाटनसंग भने,‘ नेपाल इनोभेसन टेक्नोलोजी एण्ड आन्टरप्रेनरसीप सेण्टर आफै पोखरा विश्वविद्यालय र कोरियाको ह्यानदङ विश्वविद्यालयको संयुक्त कार्यक्रम भएकाले पनि हामीलाई सजिलो भयो ।’
उनका अनुसार अहिले यहाँ तयार पारिएको ग्लोब बाल सिस्टममा नेपालमै पाइने सामानहरु प्रयोग गरिएका छन् ।
‘हामीले यहीँ पाइने युपिभिसी,प्लाइउड,प्लाष्टिक,बत्ती,माइक,स्पिकर,सिसा र पञ्जा प्रयो गरेका छौँ’,संयोजक भण्डारीले भने,‘ अहिले बनेको ग्लोब वाल सिस्टम एकप्रकारको भेण्टिलेटर नै हो ।’
उनका अनुसार अहिले तयार भएको यो ग्लोब वाल सिस्टम एउटा बाकसजस्तो भेण्टिलेटर नै हो । एक मिटर लम्बाई, एक मिटर चौडाई र २. ५ फिट अग्लो यो बाकसमा बाहिरको हावा छिर्दैैन ।डाक्टर भित्र बसेपछि त्यहाँ बाहिरबाट हावा दिइन्छ । करिब २० फिट परबाट त्यहाँभित्र अक्सिजन प्रवाह (डक्ट) गरिने र त्यहाँभित्रको दुषित हावा फाल्न एडजस्ट पंखा पनि प्रयोग गरिने उनले जानकारी दिए । डाक्टर भित्र बसेपछि बाकस पूरै बन्द हुन्छ । नजिक आएका बिरामीलाई डाक्टरले माइक्रोफोनबाट निर्देशन दिन्छन् । आवश्यकता अनुसार त्यहाँ भएको एउटा प्वालबाट डाक्टरले सुरक्षित पञ्जा लगाएर बिरामीको परीक्षण गर्छन् । भण्डारीका अनुसार पञ्जा भने भेटेनरी डाक्टरले लगाउने प्रयोगमा ल्याइएको छ ।
‘डाक्टरले बिरामी जाँचेपछि पञ्जामात्रै फाले हुन्छ ,बाकस र अन्य सामान पुनः प्रयोग गर्न सकिन्छ’, उनले भने,‘यहाँ पिपीईको अभावमा रेनकोट लगाएर हिँड्ने अवस्था छ, संकटको बेला काम लाग्ला भनेर कोरियन प्रविधिमै बाकस बनाइएको हो ।’ उनका अनुसार एउटा बाकस बनाउन करिब ८० हजारजति खर्च भएको छ । कोरियामा भने यही बाकसलाई करिब ७ लाख नेपाली रुपैयाँ पर्ने उनले बताए । महंगा माइक्रोफोन र अन्य सामान प्रयोग गरिएकाले त्यहाँ मूल्य बढी भएको उनले अनुमान लगाए । अहिले एउटा मात्रै बाकस बनाइएको र आफूहरुको परीक्षणमा त्यो एकदम राम्रो भएको पनि उनले दावी गरे । ‘डाक्टरहरुबाट परीक्षण र प्रमाणित हुन त बाँकी छ तर यो काम लाग्ला भन्ने हाम्रो विश्वास छ’, उनले भने,‘अब हामी यो बाकस प्रदेश सरकार वा प्रदेश स्वास्थ्य मन्त्रालयलाई निःशुल्क दिँदैछौँ ।’
पोखरा युपिभिसी उद्योगका संचालक गेहेन्द्र भट्टराईका अनुुसार संकटको बेला यो बाकस काम लाग्छ भनेर आफूहरुले ४ दिनमा बाकस तयार पारेको जानकारी दिए । कोरियन प्रविधि भए पनि बाकसभित्र हावा छिर्न नदिने र सुरक्षाको प्रबन्ध गर्ने काम स्थानीय तहमै भएको उनले जानकारी दिए । महावीर पुनले पनि करिब यस्तै प्रकारको बाकस निर्माण गरिरहेका छन् । उनका अनुसार यो बाकस बन्नु अगावै निजी अस्पतालबाट माग आउन थालिसकेको छ । उनले आफूहरु यसको प्रमाणिकरणपछि मात्रै बजारीकरणमा जाने जानकारी दिए ।
यताm गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर विनोदविन्दु शर्माले यस्तो आविष्कारबारे आफूलाई जानकारी नभए पनि भइरहेको काम सह्रानीय भएको बताए । ‘मेरो जानकारीमा आएको छैन, उहाँहरु आउनुभयो भने हामी त्यसको प्रभावकारिता हेर्छौँ र प्रभावकारी भए तत्काल उपयोगमा ल्याउँछौँ’, उनले भने, ‘संकटको बेला गरिएको यो प्रयास प्रशंसनीय छ ।’





