पोखरा, १६ बैशाख – देश लकडाउनमा छ । सवारी सधान चलेका छैनन् । सवारी चलाउन पास चाहिन्छ । कोरोना भाइरसका कारण प्रसुती सेवा लिन समस्या नहोस भनेर पोखरा महानगरले निःशुल्क एम्बुलेन्सको ब्यवस्था गर्ने निर्णय गरेको छ । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा रहेको कोरोना संक्रमण नियन्त्रण मुल समितिको सोमबार बसेको बैठकले प्रसुती सेवाका लागि अस्पताल जानुपर्ने गर्भबती महिलालाई निःशुल्क एम्बुलेन्स सेवाको ब्यवस्था गर्ने निर्णय गरेको हो ।
कुनै पनि महिलाले प्रसुती सेवा समयमै नपाएर समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको उपप्रमुख गुरुङले बताइन् । लकडाउनका कारण सवारी साधनको अभावमा प्रसुती सेवाका लागि अस्पताल जान समस्या हुने र ज्यानै जानसक्ने अवस्था आउने भएकाले महिलाहरुको समस्यालाई ध्यानमा राखेर यो निर्णय गरेका हौ उनले भनिन् ।
महानगरले प्रसुती सेवा लिन अस्पताल जानुपर्ने अवस्थाका महिलाका लागि चार वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले बताए । ‘बिहान निर्णय भयो, त्यसपछि हामीले एम्बुलेन्सको ब्यवस्था गरेका छौं’, उनले भने, ‘एम्बुलेन्सका लागि पोखरा महागनरपालिका वडा नम्वर २० भलाम, पोखरा २४ पामे, पौखरा–३१, बेगनास र पोखरा १९ लामाचौरमा एम्बुलेन्स तयारी अवस्थामा राखेका छौ ।’





