काठमाडौं, १६ बैशाख – रौतहटका दुई युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित एकजना बृन्दावन नगरपालिकाकाका २४ वर्षीय युवा छन् । उनी गत चैत २२ गते भारतको कलकत्ताबाट आएका थिए । नगरपालिकाका मेयर रामस्नेही राय यादवका अनुसार, युवकको जनकपुरमा रहेको पिसिआर मेसिनमा नेगेटिभ आएको र काठमाडौंमा गरिएको परीक्षणमा नतिजामा पोजेटिभ देखिएको हो ।
अर्का संक्रमित देवाही गोनाही नगरपालिका–१ का ३५ वर्षीय पुरुष हुन् । उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए । उनी अहिले पनि क्वारेन्टाइनमै रहेको मयेर धर्मेन्द्र प्रसाद पटेलले जानकारी दिए । दुबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरूलाई वीरगन्जस्थित नायाराणी अस्पताल पठाउनेबारे छलफल चलिरहेको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।




