पोखरा, २१ बैशाख– पोखरा महानगरपालिकाले सुत्केरीलाई पौष्टिक आहारसहित भेटघाट गर्ने अभियान थालेको छ । महानगरले गत चैत ११ गतेपछि सुत्केरी भएका महानगरभित्रका महिलालाई भेट्ने र कोसेलीका रुपमा घिउ, हर्लिक्स, तेल, साबुनसहित नगद पाँच हजार रुपैयाँ उपलब्ध गराउन थालेको हो ।
महागनरले अभियानअन्तर्गत आइतबार १८ जनालाई सुत्केरी महिलालाई पौष्टिक आहार उपलब्ध गराएको छ । शनिबारसम्म २६ जना सुत्केरीको नाम महानगरको हटलाइन नम्बरमार्फत टिपाइएको थियो । आइतबार पोखरा महानगरपालिका–९, १० र १५ मा वडा अध्यक्ष, वडासदस्य र महानगरका कर्मचारी पौष्टिक आहारसहित सुत्केरीलाई भेट्न पुगेका थिए । महागनरले उपलब्ध गराएको पौष्टिक आहारमा एक किलो घिउ, एक किलो हरलिक्स, एक लिटर तेल, एउटा साबुन र नगद पाँच सय रुपैयाँ उपलब्ध गराइएको छ ।
सुत्केरी महिलाहरुलाई आवश्यक पर्ने पौष्टिक आहारको अभाव भएको गुनासो आएपछि महागनरले १५ सय रुपैयाँ बराबरको प्याकेजसहित नगद पाँच सय रुपैयाँ दिने निर्णय गरेको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङल बताइन् । सुत्केरी भएपछि आँटिलो खाना खानुपर्ने महिलालाई हरलिक्स, घिउ, तेल उपलब्ध गराएका छौ’ उनले भनिन्, ‘हामीले दिएकोबाहेक केही आवश्यक सामग्री किन्न नगद पाँच सय रुपैयाँ उपलब्ध गराएका छौ ।’
चैत ११ गतेपछि सुत्केरी भएका ४५ दिनसम्मका महिलालाई पौष्टिक आहार उपलब्ध गराएको उनले बताइन् । ‘सुत्केरी प्याकेजमा नाम टिपाउने सबैलाई उपलब्ध गराउने निर्णय भएको छ’ उनले भनिन्, ‘यसलाई राहतको रुपमा भन्दा पनि सुत्केरी अवस्थालाई मध्यनजर गरेर पोसिलो खाना आवश्यक पर्ने भएकाले त्यहीँअनुसार वितरण गरिएको छ ।’ वडाका जनप्रतिनिधिको समन्वयमा महागनरका कर्मचारीसहित सुत्केरी महिलाको घरमै सामान पु¥याइने छ ।
आइतबार पोखरा–१५ मा वडाध्यक्ष प्रकाश पौडेल, वडासदस्य पार्वती कार्की, महागनरका कर्मचारी शर्मिला भण्डारी र रेवती भण्डारीले सुत्केरी महिलाको घरमै पुगेर औष्टिक आहार उपलब्ध गराएका थिए । त्यस्तै, वडा नम्बर १० मा वडासदस्य सम्मरबहादुर श्रेष्ठ लगायतका कर्मचारीसहित पुगेर पौष्टिक आहार उपलब्ध गराएको महानगर सामाजिक विकास महाशाखाले जनाएको छ ।





