पोखरा, २६ बैशाख– कोरोना परीक्षणमा विश्वसनीय मानिएको पिसिआर किटको अभाव भएपछि प्रदेश नम्बर ५ बाट स्वाब परीक्षणको लागि पोखरा पठाउन थालिएको छ । पोखरामा रहेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा हालसम्म प्रदेश नम्बर ५ बाट पठाइएका ५८ वटा नमूनको परीक्षण गरिएको छ । परीक्षण गरिएका सबै स्वाबमा कोरोना नेगेटिभ देखिएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिएका छन् । बिहीबार गण्डकीमा थप ५ जनाको स्वाब संकलन गरि पिसिआरको तयारी गरिएको छ । हालसम्म गण्डकी प्रदेशमा ६९० जनाको स्वाब संकलन गरिएको छ । तीमध्ये २ जना संक्रमित निको भएर घर फर्केका छन् भने ३ जनाको परीक्षणको नतिजा आउन बाँकी छ ।बाँकीको भने नेगेटिभ देखिएको छ । गण्डकीमा ६३७७ जनाको आरडिटी परीक्षण गरिएको छ ।
कोरोना संक्रमणकै बेला गण्डकीका केही ठाउँमा दादुराको महामारी देखिएको छ । पधादिङको रोराङ गाउँपालिकामा फैलिएको महामारी प्रदेशअन्तर्गत गोर्खा जिल्लाको गण्डकी गाउँपालिकामा पनि देखिएको प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । दादुरा महामारी देखिएपछि शुक्रबारबाट खोप कार्यक्रम संचालन गर्ने निर्णय भएको छ । ५ महिनादेखि ९ वर्षसम्मका बालबालिकाहरुको लागि लक्षित दादुरा खोप कार्यक्रम वैशाख ३१ गतेसम्म प्रदेशभर संचालनमा आउनेछ । करिब १७०६ जना बालबालिका यो कार्यक्रममा सहभागि गराउने प्रतिष्ठानको लक्ष्य रहेको छ । खोपको लागि प्रदेशभर ४३ वटा खोपकेन्द्रको व्यवस्था गरिएको छ । लकडाउनकै कारण यसअघि घोषित खोप कार्यक्रम स्थगित भएको थियो ।





