बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कोरोनापछि कामको चिन्ता : योजना बनाउँदै स्थानीय सरकार

कोरोनापछि कामको चिन्ता : योजना बनाउँदै स्थानीय सरकार


  • संजय रेग्मी
  • बैशाख २८ २०७७, आइतबार

पर्वत, २७ बैशाख– फलेवास नगरपालिकाका नारायण शर्मा हालै बिदेशबाट फर्किएका हुन् । अब भने उनलाई विदेश नजाउँ जस्तो लागेको छ । कोरोनाका कारण विश्वको अर्थतन्त्र तहसनहस भएको अवस्थामा विदेश जाँदा सोचेजस्तो काम र आम्दानी नहुने भएकोले लकडाउनपछि गाउँमा के गर्ने ? भन्ने सोच उनमा आएको छ । उनले भने, ‘लकडाउन खुलेपछि गाउँमै पशुपालन वा तरकारी खेतीमा लाग्दा राम्रो होला ।’
कोभिड १९ को संक्रमणबाट जोगिन शहरबजार र वैदेशिक रोजगारीबाट फर्किएकाहरू यतीबेला गाउँमा भेला भएका छन् । कोरोनाले देशभित्र र बाहिर रोजगारी कटौती हुने भएकोले अबको बिकल्प के भन्नेबारे यूवापुस्ता सोचमग्न छन् । गाउँमा व्यवसायिक रुपमा कृषिका काम सुरु गर्ने सोच नै गाउँका लागि उत्तम बिकल्प भएको धेरैको सोचाई छ ।
कोरोनाले रोजगारीबाट विस्थापन गर्दा गाउँ फर्किएकाहरूलाई व्यवस्थापन गर्न पर्वतका स्थानीय तहले भने कृषि तथा पशुपालनको क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । गाउँमा स्वरोजगार बन्नको लागि साना उद्योग वा कृषि क्षेत्रबाहेकका विकल्प मुस्किल हुने भएकोले कृषिक्षेत्रमै संलग्न गराउने गरी स्थानीय तहहरुले योजना बनाईरहेका छन् ।
महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले कृषि र निर्माणको क्षेत्रमा गाउँपालिकाले रोजगारीका अवसरहरू सिर्जना गरेर गाउँ फर्किएकाहरूलाई काम दिने योजना बनाउन लागिएको बताए । पालिकाभित्रका कृषि तथा निर्माणको क्षेत्रमा आवश्यक पर्ने जनशक्ति पूर्ति गर्न विदेशबाट फर्किएकाहरू प्राथमिकतामा राखेको उनको भनाई छ । ‘महाशिला विकास स्वयंसेवक कार्यक्रममा अहिले पनि ११ प्रकारका काममा युवाहरूलाई लगाएका छौँ । अब कोरोनाका कारण गाउँ फर्किएकाहरूलाई पनि काम दिनको लागि अध्ययन गरेर टिम नै बनाइएको छ ।’
उनले भने, ‘गाउँका बाँझो जमीनको सदुपयोग गरेमा कोही खाली बस्नु पर्दैन ।’ महाशिलामा मासु, दूध र तरकारी उत्पादनमा कम्तीमा पनि १५ सय युवालाई रोजगारी दिन सकिने र आधुनिक कृषिमार्पmत उत्पादनको महाअभियानमा उनीहरूलाई जोड्ने दाबी पालिकाको छ । महाशिलामा अहिलेसम्मको तथ्याङ्क अनुसार झन्डै ६ सयलाई रोजगारी दिनुपर्ने छ ।
फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले गाउँ फर्किएकाहरूलाई कृषि तथा पशुपालनमै जोड्ने गरी पालिकाले योजना र बजेट तयार पार्ने बताए । ‘कृषि र पशुपालन लगायतका क्षेत्रमा पालिकाले सघाउने गरी योजना तयार पारिरहेका छौँ’ रिजालले भने ।
यता, कुस्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछानेले कोरोनाका कारण वेरोजगार बनेकालाई कृषि क्षेत्रमा व्यवस्थापन गर्नुनै उत्तम विकल्प भएको बताउँछिन् । उनले भनिन्, ‘कृषि र पशुपालनमा यसवर्ष बढी बजेट विनियोजन गर्ने योजना छ । एक घर एक रोजगार सिर्जना गरेर अगाडि बढ्ने योजना नगरपालिकाले ल्याउने गरी छलफल चलिरहेको छ ।’
‘कोरोनाले गाउँ फर्काएकालाई चुनौतीभन्दा पनि मौकाको रूपमा लिनुपर्छ । उनीहरुलाई व्यावसायिक कृषिमा लगाउनु उत्तम विकल्प हो’ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले भने, ‘युवाहरूले योजनाका प्रस्ताव ल्याउनुहोस् । नयाँ बन ऐनले ६० प्रकारका कामहरू टुरिज्म र एग्रो टुरिजमसँग सम्बन्धित काम गर्न दिएको छ । हामीकहाँ जनशक्तिको अभाव छ । उनीहरूलाई यसैमा लगाउन सकिन्छ ।’ कोरोनापछि अवस्था सहज बनेपनि युवाहरू आफ्नै ठाउँमा रमाउनुपर्ने लम्सालले बताए ।
संघिय सांसद पदम गिरीले भने संघीय सरकारको सहयोगमा स्थानीय सरकारले विशेष योजना तयार पार्नुपर्ने र फर्किएकाहरूको श्रम क्षमताको आधारमा काम दिएर कोहीलाई पनि खाली बस्नुनपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउँछन् । ‘संघिय सरकारले स्थानीय सरकारलाई आवश्यक बजेट दिएर प्रभावकारी रूपमा रोजगार सिर्जना गर्नुपर्छ’ गिरीले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->