बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अभाव र महामारीबीच जारी छ मध्यपहाडीको काम

अभाव र महामारीबीच जारी छ मध्यपहाडीको काम


  • संजय रेग्मी
  • बैशाख २९ २०७७, सोमबार

पर्वत, २९ वैशाख– कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थगित भएको मध्यपहाडी लोकमार्गको काम सुचारु भएको छ । छिमेकी जिल्ला बागलुङमा दुईजना कोरोना संक्रमित भेटिएपछि लकडाउनमा कडाइ गरिएको पर्वतमा जोखिम कम हुँदै गएपछि मध्यपहाडी लोकमार्गको काम सुचारु भएको हो ।
सरकारले बाहिरबाट श्रमिकहरू नल्याई जिल्लाभित्रै रहेर काम गरिरहेकाहरूमार्पmत सडकको काम सम्भव भएसम्म सुचारु गराउने भनेपछि सोही आधारमा लकडाउनको समयमा सडकको काम चलिरहेको आयोजना कार्यालयका प्रमुख आशिष थापामगरले बताए । अहिलेको अवस्थामा पहिलेको रफ्तारमा काम नहुने भएपनि उपलब्ध स्रोत र मजदुरलाई नै प्रयोग गरेर काम सुचारु भइरहेको हो । ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सनले लकडाउनको कारण घर फर्किन नसकेकाहरूलाई नै काममा लगाएको छ । लोकमार्गअन्तर्गत पर्वतको खरेहामा कल्भर्ट निर्माण, पातीचौरमा चक्लाबन्दी तथा बेतेनी र चुवामा भीर कटानको काम भइरहेको छ ।
आयोजना कार्यालयका अनुसार लोकमार्गअन्तर्गत पर्वतमा २४ किलोमिटरको सडकको काम हुन्छ । अधिकांश ठाउँमा सबै काम सकेर कालोपत्रेको तयारी अवस्थामा राखिएको छ । लकडाउनका कारण झण्डै डेढ महिनासम्म काम हुन नपाउँदा सडक निर्माणको रफ्तार निकै घटेको भएपनि हालसम्म झण्डै ६५ प्रतिशत काम पूरा भएको छ । आयोजना प्रमुख थापामगरले पर्वतमा गर्नुपर्ने २४ किलोमिटरको काममध्ये ४ किमीमा कालोपत्रेको काम सकिएकोले अब बाँकी रहेको २० किमी सक्न झन्डै तीन महिना लाग्न सक्ने बताए । निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्सनले ७५ जना कामदारलाई सामाजिक दुरी कायम गराएर काममा लगाएको छ ।
यसैबीच, लकडाउनका कारण बाहिरबाट निर्माण सामग्रीहरू ल्याउन नपाउँदा काम सुचारु भएको भएपनि समस्या भने भइरहेको छ । स्थानीय स्तरबाट उपलब्ध हुन सक्ने सामग्रीहरूको अभाव नभए पनि आयात गर्नुपर्ने सामग्रीहरूका कारण सडकको काम लम्बिएको छ । बाहिरबाट सामान ल्याउन परिस्थिति सहज नभएको, ठाउँ–ठाउँमा पास बनाउन झझण्ट रहेको लगायतका कारण बाहिरबाट सामग्रीहरू ल्याउन नसकिएको हो ।
लोकमार्गको बागलुङ खण्डमा भने लकडाउनकै अवधिमा पनि झन्डै पाँच किलोमिटर सडक कालोपत्रे भएको छ । यद्यपी यो बेलासम्म १७ किलोमिटर पूरा गर्ने लक्ष्य राखिएको थियो । आगामी भदौ ३० गतेसम्म सक्नेगरी पर्वतखण्ड विस्तारको जिम्मा लिएको लामा कन्स्ट्रक्सनले तोकिएकै समयमा काम सक्नेगरी करिब ९ सय कामदार परिचालन गरेको कन्स्ट्रक्सनका प्रबन्धक गोविन्द भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->