पोखरा, ९ जेठ– पोखराका कलाकार यतिबेला राहत बाँड्न सक्रिय बनेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीसंगै नेपालमा पनि लकडाउनको अवस्थाबाट गुज्रिरहेको छ । लामो समय देखिको लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर, विपन्न परिवारलाई विहान बेलुका हातमुख जोड्न नै समस्या परेको छ । गरिव, निमुखा तथा अपाङ्गहरुको घरमा खाद्यान्न अभाव नहोस भनेर पोखराका कलाकार यतिबेला राहत वितरणमा जुटेको हो ।
पोखरा सांगितिक कलाकार संघले पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा तेस्रो चरणको राहत वितरण कार्यक्रम पनि सम्पन्न गरेको छ । संघले पोखरा वडा नम्बर १० तथा १५ क्षेत्रका अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरेको हो । ४७ घर अपाङ्गता भएका व्यक्तिको परिवारलाई राहत वितरण गरिएको संघका अध्यक्ष संगीतकार सुनिल थापाले जानकारी दिए । संघले पोखराको कोलपाटन, नयागाउँ, रामबजार क्षेत्रमा राहत वितरण गरेको हो । लकडाउन पिडित विपन्न परिवारको घरघरमै पुगेर राहत वितरण गरिएको गायक कर्णदासले बताए । खाद्यान्न राहत ३ तहमा विभाजन गरि वितरण गरिएको छ । राहतमा १० देखि २० किलो सम्म चामल, दाल, तेल, नुन, सोयाविन, मसला, तथा साबुन गरि एउटा सामान्य परिवारलाई २५ दिन गुजारा चल्ने गरि वितरण गरिएको गायक भाइ गुरुङले बताए ।
राहत वितरण कार्यक्रममा गायक कर्णदास, भाइ गुरुङ, विनोद वानियाँ, भाष्करध्वज श्रेष्ठ, आनन्द बज्राचार्य, शान्त बज्राचार्य, संगीतकार सुनिल थापा, तेज केसी, तिल गुरुङ, बसन्त थापा र गीतकार राजेन्द्र अधिकारी सहभागी थिए ।





