पोखरा, १४ जेठ– गण्डकी प्रदेशसभाको छैठौं अधिवेशनअन्तर्गतको दोस्रो बैठकले ‘वातावरण संरक्षण गर्न बनेको विधेयक’ पारित गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विधेयक पारित गर्न गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको हो । पारित गर्नुअघि भएको दफावार छलफलमा भाग लिदै सांसदहरुले विधेयक अत्याश्यक भएपनि यसको दायरा फराकिलो पार्नुपर्ने बताएका थिए ।
सभामुख नेत्रनाथ अधिकारीले वातावरण संरक्षण गर्न बनेको विधेयकमाथि छलफल गर्न उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री विकास लम्साललाई प्रस्ताव पेश गर्न अनुमति दिएपछि विधेयकमाथि दफावार छलफल भएको थियो । २०७६ माघ ५ बसेको बैठकमा प्रस्तुत भई विधायन समितिमा दफाबार छलफलमा भएर उक्त विधेयक संसदम पेश गरिएको थियो ।
दफाबार छलफलमा सांसद ईन्द्रधारा विष्ट, सरिता गुरुङ, पियारी थापा, मनकुमारी गुरुङले भाग लिएका थिए । छलफलमा उठेका प्रश्नमाथि उद्योग वन तथा वातावरण मन्त्री विकास लम्सालले विधेयकबारे प्रष्ट्याएका थिए । ‘हामीले यो विधेयक संसदमा पेश ग¥यौं । दफावार छलफलपछि विधायन समितिमा पठायौं । त्यहाँ व्यापक छलफल भएर यहाँ आएको छ । यहाँ पनि छलफल भयो’, उनले भने ।
विधेयकबारे उठेको प्रश्न दिँदै मन्त्री लम्सालले हतारमा विधेयक नल्याएको प्रष्ट्याए । उनले धेरै योजनाहरुमा प्रारम्भिक वातावरणीय परिक्षण नगर्दा वातावरण क्षेत्रमा धेरै ठूलो क्षति भएको हुँदा पनि यो ऐन आवश्यक भएको उनको तर्क थियो । धेरै कुरा ऐनमा लेखेर ल्याउँदा भद्दा हुने भएकाले पनि नियामावली, कार्यविधिमा ल्याएको उनले बताए । यसरी आई सकेपछि प्रस्ट हुने उनको भनाई छ । सबै कुरा ऐनमा राख्दा नियमावली पनि ऐनमा राखेको भनेर टिप्पणी गर्न सक्ने अवस्था आउन सक्ने सम्भावना रहकाले पनि नियमावलीका कुरा ऐनमा नराखेको उनले प्रस्ट्याए । मंगलबारको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धमा बनेको विधेयक,विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले ‘गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक’ सम्बन्धमा समितिको प्रतिवेदनसहितको विधेयक प्रस्तुत गरे । यसैगरि बैठकमा संसदको प्रदेश मामिला समितिका सभापति कृष्ण थापाले समितिको वार्षिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गरे । उनले गत आर्थिक वर्षको प्रतिवेदन सभा समक्ष प्रस्तुत गरेका हुन् । यो प्रतिवेदन एक वर्षअघि नै पेश हुनुपथ्र्यो ।
सभामुख नेत्रनाथ अधिकारीले मंगलबारको बैठकमा उपचुनावमा बागलुङबाट निर्वाचित सांसद खिमविक्रम शाहीलाई सार्वजनिक लेखा समितिको सदस्यमा नियुक्त गरेको जानकारी पनि गराए ।प्रदेशसभाको अर्को बैठक बुधबार दिउसो १ बजे बस्नेछ ।





