पर्वत, २२ जेठ– पर्वतको फलेवास नगरपालिकामा चितुवाको आतंक बढेपछि कृषकहरू चिन्तित भएका छन् । चितुवाले खोरमा राखिएका कुखुरादेखि बाख्रा र गोठमा बाँधिएको गोरु समेतलाई आक्रमण गरेर मार्ने र घाइते बनाउने गरेका कारण आपूmहरू समस्यामा परेको कृषकहरूले बताएका छन् ।
केही दिनअघि मात्र फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीस्थित रामकृष्ण रेग्मीको गोठमा बाँधिएको गोरुलाई चितुवाले आक्रमण गरेको थियो । त्यसको दुई दिनपछि सोही वडाका दिलबहादुर थापाको खोरमा रहेका कुखुरालाई चितुवाले आक्रमण गरी मारेको थियो ।
गएको सोमबार राती पुनः सोही वडाअन्तर्गत चाम्लेश्वारका हरि थापाले पालेको बोकालाई चितुवाले मारिदिएको छ । बेच्न तयार भएको बोका चितुवाले मारेपछि आर्थिक मन्दीको बेलामा समस्या थपिएको थापाले बताए ।
घरपालुवा पशुपंक्षीमाथि आक्रमण गरेकाबाहेक दैनिकजसो गाउँमा चितुवा देखिँदा त्रास बढेको र पशुपंक्षी जोगाउन मुस्किल हुन थालेको स्थानीय युवा प्रकाश गौतमले बताए । प्राय ः साँझ र राती चितुवा आउने गरेका कारण गाउँलेहरू क्रसिद भएको गौतमको भनाई छ ।





