पोखरा, २६ जेठ– संक्रमितको संख्या बढ्दै गएपछि गण्डकीमा उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या देखिएको छ । प्रदेशमा हालसम्म क्वारिण्टाइनको समस्या नदेखि पनि आइसोलेसन बेडको भने अभाव हुने देखिएको छ । चैत १५ गते पहिलो संक्रमण देखिँदा त्यहाँ भेण्टिलेटरको अभाव थियो । बल्लतल्ल राताता आइसोलेसन वार्ड बनाएर संक्रमितको उपचार भएको बागलुङमा मात्रै हालसम्म २९ जना संक्रमित देखिएका छन् । तीमध्ये २ जना उपचारपछि घर फर्केका छन् । आइतबारमात्रै बडिगाड गाउँपालिकाको भानु माध्यमिक विद्यालयको क्वारिण्टाइनमा ५ जना, बुद्ध माध्यमिक विद्यालयमा ४ जना र ढोरपाटन नगरपालिकाको अधिकारीचौरमा रहेका १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २७ जनालाई आइसोलेसन बेड चाहिन्छ । तर, जिल्लामा अहिले १६ जना अट्ने आइसोलेसन वार्ड छ । जसोतसो त्यहाँ २४ जना राख्न सकिन्छ ।
यता, स्याङ्जाको अवस्था पनि उस्तै छ । सबैभन्दा बढी ३७ जनामा संक्रमण देखिएको स्याङ्जामा जिल्ला अस्पतालको अवस्था पनि उस्तै छ । त्यहाँ जम्मा १० वटा आइसोलेसन बेड छ । तीमध्ये ६ वटामा संक्रमित बसिरहेका छन् । एकजनालाई स्याङ्जाले पोखरा पठाए पनि अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानले उतै फिर्ता पठाएको छ । स्याङ्जा जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुशील मरासिनीका अनुसार अहिले जिल्लाकै हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा ६० बेड क्षमताको आइसोलेसन तयार गरिएको छ । त्यहाँ १८ जना रहेको उनले जानकारी दिए । ‘जिल्लामा आइसीयू भने छैन’, उनले टेलिफोनमा भने,‘ ६० जनासम्म हामीले धान्न सक्छौं, त्यसपछि त घरघरमै राख्ने हो ।’ प्रदेश र स्थानीय तहको सहयोगमा ६० बेडको आइसोलेसन बनेको हो । गोर्खामा पहिलो पटक आइतबार एकैचोटी ११ जनामा संक्रमण देखियो । उनीहरु सबैलाई आइसोलेसनमा राख्नुपर्ने छ । गोर्खामा आइसोलेसनको संख्या ३५ छ । संक्रमित बढेमा कहाँ राख्ने भन्ने टुंगो छैन ।
गण्डकी प्रदेशको आधिकारिक सूचना अनुसार प्रदेशमा हालसम्म जम्मा २९३ वटा मात्रै आइसोलेसन बेड रहेको दावी गरिएको छ । तीमध्ये कास्कीमा १११,स्याङ्जामा ४,लमजुङमा ५,गोरखामा ३५,पवर्तमा २०, म्याग्दीमा ६, बागलुङमा ९, नवलपुरमा २४,मनाङमा ७, मुस्ताङमा ६ र तनहुँमा १० वटा मात्रै रहेका छन् । प्रदेशअन्तर्गतका सबै अस्पतालहरुमा आइसीयू निर्माणका लागि नीतिगत निर्णय भई प्रक्रिया अघि त बढेको छ तर काम भएको छैन । संक्रमितको उपचार गराउन भन्दै अहिले प्रदेशले मनाङ र मुस्ताङमा २/२ वटा र बाँकी जिल्ला अस्पतालमा ५/५ बेडको आइसियू बनाउने निर्णय गरेको गरे पनि बागलुङमा रातारात बनाइएकोबाहेक त्यो निर्णय कार्यान्वयमा आइसकेको छैन । प्रदेशमा क्वारिण्टाइन बेड भने ४ हजार ७२ वटा रहेको दावी गरिएको छ । भएका सबै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारका भने छैनन् । कोरोना संक्रमण फैलनुअघि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १३ वटा र गण्डकीका निजी अस्पतालमा १८८ वटा आइसियू छन् । प्रदेशले सञ्चालन गर्ने तयारी गरेको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा १० वटा आइसियु निर्माण गर्ने तयारी भएको छ । प्रदेश सरकारले अस्पतालमा पूर्वाधार जोड्न ३ करोड २० लाख रुपैयाँ छुट्याइएको छ । तर, काम नहुँदै संक्रमित बढ्दा खतरा पनि उत्तिकै बढेको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले पनि संक्रमण बढ्दै जाँदा आइसोलेसन बेड कम भएको स्वीकारे । उनले गोर्खामा आइसोलेसन बेड थप्न जनशक्ति परिचालन गरिएको ,नवपुरमा ७ वटा भएकोमा १ सय वटा बनाइएको, बागुलङमा आइसोलेसन भरिएको र त्यहाँ क्याम्पसमा राख्ने तयारी गरिएको, पर्वतमा वैकल्पिक बनाउन लागिएको र लमजुङमा पनि यस्तै तयारी भएको जनाए । ‘हामी तयारीमा छौँ, स्याङ्जामा पहिला १० वटा थियो, त्यहाँ ८० वटा बनाउँदैछौं,तनहुँमा १० वटा थियो,जिपी कोइरालामा ८० वटा बनाइसकेका छौं’ उनले भने, ‘आइसीयू त आवश्यक प¥यो भने संक्रमितमध्ये एकसय जनामा २/३ जनालाई चाहिने हो,त्यसको चिन्ता छैन तर वेवास्था भने गरिएको छैन, तयारी हुँदैछ ।’
गण्डकीमा हालसम्म ११३ जनामा संक्रमण देखिएको छ । मनाङ, मुस्ताङमा संक्रमण नै देखिएको छैन । लमजुङ पनि अहिलेसम्म संक्रमण नेदेखिएको जिल्ला हो । यद्यपि, गण्डकी स्वास्थ्य निर्देशनालयले काठमाडौंमा देखिएको एक संक्रमणलाई आफ्नै प्रदेशको मानेको छ । म्याग्दीमा २ जनामा संक्रमण देखिएपछि थप संक्रमण देखिएको छैन । तनहुँको संख्या पनि २ मात्रै छ । नवलपुरमा १७, कास्कीमा ५ जना संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क रहेको छ ।





