पोखरा, २७ जेठ– आफ्नो होटललाई क्वारिण्टिन बनाउन तयार हुँदा पोखराका होटल व्यवसायीहरुले केही सर्तहरु अघि सारेका छन् ।
पोखरा महानगरपालिकको होटललाई क्वारेण्टिन बनाउने प्रस्तावमा आवेदन हालेका होटलहरुले स्थानीयको विरोधो सामना गर्न तथा संक्रमण फैलिएमा त्यसको जिम्मेवारी नबोक्ने बताएका छन् । होटलहरुको छाता संस्था पश्चिमाञ्चल होटल संघले दुई दर्जन होटलको नामसहित विभिन्न नौ बुँदामा समेटिएको ध्यानाकर्षण पत्रमार्फत् सो माग गरेको हो ।
संघका तर्फबाट कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीलाई सोमबार बुझाइएको पत्रमा होटलमा पाहुना आगमन हुनुपूर्व स्वास्थ्य परीक्षण गर्नु पर्ने र कोरोना नेगेटिभ देखिएका व्यक्तीलाई मात्र होटलमा राख्ने व्यवस्था गरिनुपर्ने माग गरिएको छ । होटलमा रहने सम्पूर्ण व्यक्तिहरुको नियमित स्वास्थ्य जाँच गरिनुपर्ने ,होटलहरुको नामावली संघबाट प्रदान गरिएको भएता पनि आवश्यक मापदण्ड अपनाई वर्गिकरण गर्दै होटलहरुको छनौट गर्नुपर्ने पनि संघको माग छ । यसैगरि, धेरैजसो होटलहरु बन्द रहेका र कर्मचारीहरु पनि बिदामा रहेको हुँदा पाहुना आउनुभन्दा कम्तीमा पनि ४ दिन अगावै संघमा अथवा होटल प्रतिष्ठानमा जानकारी गराउनुपर्ने, होटल क्वारेन्टिनका लागि उपलब्ध गराउँदा अपनाउनुपर्ने कार्यविधिमा सुरक्षा, स्वास्थ्य लगायतको स्पष्टता र होटलका कर्मचारीहरुलाई तालिमको व्यवस्था गरिनुपर्ने माग पनि गरिएको छ । होटलमा रहेका जम्मा कोठाको ८० प्रतिशत पाहुना राखेपछि मात्रै अन्य होटलमा राख्ने व्यवस्था हुनुपर्ने साथै भुक्तानीको अवस्थाको बारेमा अग्रिम जानकारी हुनुपर्ने पनि संघको माग छ । होटल प्रतिष्ठानमा आवश्यक पर्ने स्वाथ्य सामग्रीहरु सर्वसुलभ रुपमा उपलब्ध गराउन, कोठाभन्दा बाहिर निस्कन नदिई सुरक्षाको व्यवस्थाको जिम्मा लिइनु पर्ने भन्दै संघले ध्यानाकर्षण गराएको छ । होटललाई क्वारेन्टिन बनाई सके पश्चात् होटललाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पूर्ण रुपमा निर्मलिकरण गरी भविष्यमा सहज रुपले व्यवसाय संचालन गर्न स्वास्थ्य, महानगर वा पर्यटन विभागबाट निर्मलिकरणको प्रमाणिकरण स्टिकर टाँस गरिनु पर्ने माग पनि संघको छ । होटललाई क्वारेन्टिनको रुपमा प्रयोग गर्दा कोठा दर प्रति व्यक्तिका लागि दुई हजार रुपैयाँदेखि १२ हजार रुपैयाँ र दुई जनाका लागि तीन हजार देखि १४ हजार रुपैयाँ प्रस्तावित गरिएको छ ।





