पर्वत १६, भदौ– कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि पर्वतमा सोमबार राती १२ बजेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ ।
जिल्लामा सञ्चालनमा रहेका विकास निर्माण तथा अन्य आयोजनामा काम गर्नको लागि विभिन्न जिल्लाबाट लुकीछिपी श्रमिकहरू ल्याउँदा गाउँ गाउँमा संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्येनजर गर्दै एक हप्ताका लागि सार्वजनिक यातायात संचालनमा रोक लगाइएको कोरोना संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।
सोमबार जिल्लाका सात ओटै स्थानीय तहका प्रमुख, सरोकारवाला निकाय सम्मिलित बैठकले एक साता सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको हो । मानिसको ओसारपसार हुने मुख्य माध्यम सार्वजनिक सवारी भएले यस्तो निर्णय गरिएको प्रजिअ रेग्मी बताउँछन् ।
‘कामदारहरूलाई लुकीछिपी ल्याउने गरेको थाहा भएको छ । दाङबाट लुकेर आएका ४५ जनालाई उतै फिर्ता गरिएको छ ।’ उनले भने, ‘लुकेर आएका मान्छेहरू सवारीमा गाउँ गाउँमा पुग्ने खतरा देखिएका सार्वजनिक यातायात रोक्नुपरेको हो ।’
यद्यपी चालक र सहचालक मात्र बसेर खाद्यान्न तथा अत्यावश्यक सामग्री लिएर आउने सवारीलाई चेकजाँचपछि जिल्लामा छिर्न अनुमति दिइने छ । बैठकले सहकारी संस्थाहरूलाई घर घरमा पुगेर दैनिक बचत संकलन नगर्न आग्रह गरेको छ ।





