शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अब्बल पाङको ज्योतिष विद्या

अब्बल पाङको ज्योतिष विद्या

मिलेको कुण्डली भएमा पाङका ज्योतिषले हरेक व्यक्तिको सबै कुरा बताउने गरेको घटना आफूहरूले नै जानेको अघिल्ला पुस्ताका ज्योतिषहरू बताउँछन् ।


  • संजय रेग्मी
  • असोज ७ २०७७, बुधबार

पूर्वीउत्तर फर्किएको लहरै यो मनमोहक गाउँ पर्वतको पाङ हो । कुस्मा नगरपालिका–१ मा पर्ने पाङ ज्योतिष विद्याको महिमा बेग्लै छ । ज्योतिष ज्ञानको खानी यो गाउँमा देशैभरका विद्यार्थी ज्योतिष ज्ञान हासिल गर्न आउने ठाउँ हो यो । परापूर्वकालदेखि यहाँ ज्योतिष ज्ञानका लागि विद्यार्थी आउनेक्रम जारी छ । यतिबेला पाङमा इलाम, झापा, स्याङ्जालगायत जिल्लाबाट ज्योतिष बन्न तल्लीन छन् विद्यार्थी ।
पाङमा चिना, चिर्कटो, हस्तरेखा, आखत्लगायत हेर्ने काम कहिलेबाट सुरु भएको हो भन्ने यकिन छैन । तर, वि.सं. ११९० सालयताका प्रमाणहरू भने फेला परेको पाका ज्योतिष ८१ वर्षीय खगराज रिजाल बताउँछन् । उनका अनुसार दैवज्ञ नामाखर रिजालले बाँसको सिन्का र मयूरको प्वाँखले सिमी, बोडीको पातबाट बनाइएको मसी प्रयोग गरेर वर्षौंपहिले लेखेको ‘भास्वती’बाट पनि यसको पुष्टि भएको छ । प्रमाणहरूअनुसार १२ सय वर्षअगाडि दैवज्ञ नामाखरले लेखेको किताबमा आफूले अवन्ती देशमा पढेको भनी उल्लेख गरेका छन् ।
पाङबाट बसाइँ सरेर चितवन र झापा गएर बसेका ज्येष्ठ सदस्य तथा ज्योतिषहरूका अनुसार पाङको ज्योतिष विद्या निकै अब्बल थियो । पूर्णिमा र औँसीको विषयमा दाजुभाइको झगडा हुँदा औँसीको रातमा आकाशमा चन्द्रमा जस्तै वस्तु मन्त्रबाट उत्पन्न गराएर पूर्णिमाको रातजस्तै बनाइदिएको भन्ने किंवदन्ती रहेको पाङले स्व. राजा महेन्द्रबाट बक्सिससमेत पाएको थियो ।
‘२०३२÷३३ सालतिर काठमाडौंमा भएको ज्योतिष सम्मेलनमा यहीँका ज्योतिष गगनराज रिजालले पुरस्कार पाएका थिए,’ खगराजले भने– ‘यहाँको सबैभन्दा सिपालु मानिने ज्योतिष रमाकान्त रिजालको नाम त हनुमान ढोकामा पनि राखेको छ रे भन्ने सुनेको हो । हेर्न गएका छैनौँ ।’
ज्योतिष विद्या पढ्नका लागि प्रख्यात मानिएको भारतको बनारसका ज्योतिषले गरेको निर्णयलाई पाङ ज्योतिषहरूले झुटो साबित गरिदिएको अर्का ज्येष्ठ नागरिक ८३ वर्षीय उमानन्द रिजाल बताउँछन् । ‘पञ्चाङ्ग पात्रोमा बनारसमा राखिएका विषयवस्तु ठीक थिएनन् रे । यहाँ (पाङ)का ज्योतिषलाई दरबारमा पत्र पठाउँदै त्यो झुटा भएको बताएपछि राजाले दरबार झिकाएर त्यसका बारेमा बताउन लगाउँदा रमाकान्त गुरुले जित्नुभयो । त्यही भएर नारायणगढमा जग्गा पनि बक्सिस पाउनुभयो,’ उनले भने– ‘दरबारमा हतियार हराएको रहेछ, रमाकान्त गुरुले त्यो विषयमा पनि बताएपछि उहाँको नाम हनुमानढोकामा राखेको हो भन्ने सुनिन्छ । राजाले पठाएको पत्र यही गाउँमा छ । तर, कसको घरमा छ भन्ने यकिन छैन ।’
मिलेको कुण्डली भएमा पाङका ज्योतिषले हरेक व्यक्तिको सबै कुरा बताउने गरेको घटना आफूहरूले नै जानेको अघिल्ला पुस्ताका ज्योतिषहरू बताउँछन् । उनीहरूले एउटा सत्य कथा पनि सुनाए– ‘एउटी महिला हेराउन आउँदा गुरुले खाना खान लाग्नुभएको रहेछ । त्यो कुण्डली विद्यार्थीले हेरेछन् । उनीहरूले ती महिला गाउँकै एक पुरुषसँग अनैतिक सम्बन्धमा रहेको बताएपछि उनले अञ्चलाधीशकोमा उजुरी हालिन् । विद्यार्थीले नजानेर यस्तो बताएको भन्दा पनि महिलाले हठ गरेपछि ज्योतिषले त्यो पुरुषलाई उपस्थित गराएमा सबै घटना नै विस्तारमा बताइदिने बताएपछि महिला बोलिनन् । र, त्यही पुरुषसँग उनी भागेर गइन् ।’
हुम्लाबाट पाङ भित्रिएका पंगालीहरू प्रायः ज्योतिष नै बने । देशका विभिन्न ठाउँबाट आउने विद्यार्थीलाई निःशुल्क ज्योतिष बनाए । अहिले पाङको पहिचानलाई कायम राख्न वडाको योजनाअन्तर्गत अस्थायी भवन बनाएर पढ्न आउनेहरूलाई निःशुल्क पढाउने गरी काम थालिएको वडा सदस्य तथा ज्योतिष ज्ञानमा चासो राख्ने वीरेन्द्र रिजालले बताए ।
वर्षौं पहिलेसम्म बाहिरबाट आउने करिब ४ सय विद्यार्थीको समूह हुने गरेको आफूले सुनेको बताउँछन् रिजाल । पछिल्लो समयमा पाङबाट सिकेर गएकाहरूले आफ्ना ठाउँकालाई सिकाउन थाल्दा र पाङको ज्योतिष विद्याको महत्व घट्दै गएको छ । यसको विकास र प्रवद्र्धनका लागि कसैबाट पनि पहल नभएपछि बिस्तारै महत्व घट्दै गएको उनले गुनासो गरे । दोस्रो काँशीका रूपमा चिनिएको पाङका ज्योतिषले काँशीका ज्योतिषहरूले गरेको ज्योतिषीय निर्णयलाई झुटो साबित गरेर राजालाई पत्र पठाई पात्रो नै फेर्न सकेको आफूले पढेको पनि रामप्रसादले बताए ।
पाङ घर भई फलेवासको माटेदेवल प्राविधिक विद्यालयको प्रधानाध्यापकका रूपमा रहेका रामप्रसाद रिजालले पाङको ज्योतिष २३औँ पुस्तामा चलिरहेको बताए । आफूले अध्ययन गरेका इतिहासमा पाङको ज्योतिष विद्या देशकै अब्बल रहेको उनको अनुभव छ । पछिल्लो समय आधुनिकताको नाममा अंग्रेजी शिक्षाप्रति बढेको मोह, पश्चिमा शैली, संस्कृतिका कारण शक्तिको र विज्ञानका रूपमा रहेको ज्योतिषशास्त्रमा असर परेको उनको भनाइ छ ।
पाङको ज्योतिष विद्याले पूर्वीय दर्शनलाई समेत सहयोग गरेको वीरेन्द्र बताउँछन् । ‘हामीले खाना खानुअगाडि कपडा खोल्नुपर्छ । जुत्ताचप्पल बाहिर राख्नुपर्छ । बाहिर गएर आएपछि हातखुट्टा धोएर भित्र पस्नुपर्ने हुन्छ । अपरिचित व्यक्तिसँग नछोइनेलगायतका कुरा हाम्रा संस्कार हुन्,’ उनले भने– ‘धर्मकर्म गर्ने टुप्पी पाल्नेहरूलाई धर्ममा मात्रै लागेको र विज्ञानलाई बेवास्ता गरेको आरोप पश्चिमाले लगाए । अहिले कोरोनाबाटै जोगिन मैले माथि भनेका कुराहरू गर्नुपरेको छ । जुन हाम्रा पुर्खाले गर्दै आएका थिए ।’
राम्रोसँग अध्ययन नगरी हचुवाको भरमा कमाउनकै लागि चोकचोकमा बोर्ड राखेर बस्ने ज्योतिषहरूको एकातिर बोलवाला छ । पहिलेजस्तो अहिले ज्योतिषमा विश्वास गर्ने वातावरण कम हुँदै गएको छ । ज्योतिषले भनेका कुराहरू पनि गर्न छाडेको पाङकै पाका ज्योतिष बताउँछन् । ९ ओटा कुण्डलीमध्ये ६ ओटा कुण्डली नभएसम्म मानिसको भूत र भविष्यका बारेमा बताउन सकिँदैन । अहिलेका कुण्डली नै छोटा भएर आएका कारण ज्योतिषले पनि सबै जीवनफल बताउन नसक्ने उनीहरूको अनुभव छ । ज्योतिषका नाममा कमाउन बसेकाहरूले ग्राहकलाई सन्तुष्ट पार्नका लागि हचुवाको भरमा भविष्यवाणी भनिदिँदा ज्योतिषका कुरामा धेरैको विश्वास घट्दै गएको खगराजले बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->