बागलुङ, १३ असोज– बागलुङ बजारमा खुलेयाम म्याद गुज्रेका खाद्यवस्तु बिक्रीवितरण भएको पाईएको छ । बजार अनुगनका क्रममा बजारका १२ वटा पसलले म्याद गुज्रेका सामग्री बिक्री गरिरहेको भेटिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ मंगलबार गरेको बजार अनुगमनका क्रममा त्यस्ता खाद्यवस्तु भेटिएको कार्यालय प्रमुख केदार पौडेलले बताए ।
जिल्ला प्रशासन, प्रहरी, नगरपालिका, घरेलु तथा साना उद्योग विकास समिति, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च बागलुङलगायतको अनुगमन टोलीमा सहभागि थिए । मंगलबार अनुगमन गरिएका सबै पसलमा कुनै न कुनै म्याद गुज्रेका सामग्री फेला परेको पौडेलले बताए । अनुगमन टोलीले त्यस्ता पसलहरुको नाम खुलाउन भने चाहेन ।
म्याद गुज्रिएका सामग्री अनुगमन टोलीले नियन्त्रणमा लिएको छभने व्यवसायीलाई चेतावनी दिएर छोडेको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । तोरीको तेल, जिरा, मेथी, घिउँ बदाम, दालमोठ, कुरकुरे, धनिया, फ्राईभुजालगायत केही पेय पदार्थसमेत म्याद नाघेका भेटिएको थियो ।
जफत गरिएका सबै सामग्री नष्ट गरिएको डिभिजन कार्यालयले जनाएको छ । म्याद गुज्रिएका समान भेटिएका र मूल्यसूची कायम नरहेका पसललाई पहिलो चरणमा सचेत गराइएको र पटकपटक दोहोरिए कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।





