बागलुङ, १४ असोज– बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले आफ्नो वर्षभरिको चिया खर्च, पाहुना स्वागत र तेल खर्च के कति भयो भनेर खोज्दा कर्मचारीबाट पाउन सकेका छैनन् । उनले ताकेता गर्दा प्रमुख प्रशासकीय अधिकृतले से्रस्ता हेरेर जानकारी दिने आश्वासन दिएका छन् । आइतबार दिने आश्वासन सकिएपछि फेरी खड्काले हिसाब खोजी रहेका छन् ।
उनले अन्य पदाधिकारीको पनि सेवासुविधा र खर्च माग गरेको बताए । ‘अरुको दिन नसकेपनि मैले मागेपछि मेरो हिसाब राख्न नसकेका हुन् या नदिएका हुन् बुझ्न सकिन’ खड्काले भने, ‘अघिल्लो वर्ष धेरै खर्च भए यो वर्ष घटाउने चाहना पुरा गर्न पनि नसकिने कस्तो कर्मचारी संयन्त्र हो ? नगरपालिकाको लेखा शाखामा दुई जना लेखा अधिकृतसहित आधादर्जन कर्मचारी छन् ।
नगरपालिकामा विविध खर्च शिर्षकमा मात्रै अघिल्लो वर्ष १४ करोड ३० लाख रुपैया“ खर्चेको देखिएको थियो । अघिल्लो वर्षसम्म खर्च गर्ने पद्वती अस्पष्ट भएकोले विविध खर्च धेरै देखिएको भन्दै चालु वर्ष त्यो अंक घटेर जाने लेखा अधिकृत जब्बरबहादुर भण्डारीले बताए । उनले जथाभावी खर्च नभएपनि अबदेखि सुरु भएको आधुनिक हिसाव प्रणालीबाट स्पष्ट देखिने बताए । नगरप्रमुख जनकराज पौडेलले पनि खर्च घटाउने योजना बनाएर काम थालिएको दाबी गरे ।
नगरपालिकको समीक्षा बैठकमा पनि उपप्रमुख खड्काले त्यहीं विषय उठाएका थिए । तर चित्तबुझ्दो जवाफ नपाएको बताए । जवाफ मात्र हैन, गत वर्षको समीक्षासमेत स्पष्ट नभएपछि त्यसै स्थगित भएको उनले बताए ।
‘हतार भएकोले म त केही कुरा राखेर निस्केको थिएँ, साथीहरुले पनि वास्तविक समीक्षा र आगामी कार्यक्रमबारे केही स्पष्ट नभएको बताएका छन्’ खड्काले भने, ‘जनप्रतिनिधि आएको अनुभूति दिनुपर्छ भन्दा नगरप्रमुख पनि चासो राख्नुहुन्न ।’ उपप्रमुख लगायत सबै वडा अध्यक्ष परिचालन गर्ने र चुस्त प्रशासनका लागि कर्मचारीलाई निर्देशन दिनुपर्नेमा प्रमुख नै चुप बसेको उनले टिप्पणी गरे ।
नगरप्रमुखले भने समयमा भएका कामको समीक्षा भएको दाबी गरे । उनले नगरपालिका सफलतामा अगाडि बढेकोसमेत बताए । ‘तीन वर्षमा उल्लेख्य उपलब्धी हासिल भएका छन्, त्यसले नगरको स्तरनै बढाइदिएको छ’ पौडेलले भने, ‘हिलाम्मे हुने सडक र चोक सुधार भएको छ, शिक्षक नियुक्तीमा हुने चलखेल अन्त्य भएको छ ।’
उनले महिला सेल निर्माण, दर्जनौ ऐन नियम निर्माण, माझी बस्ती निर्माण, एयरपोर्ट संचालन, कृषि क्षेत्रमा सुधारको काम गरेको बताए । सुन्तला खेती विस्तार गरेर नगरलाई उत्पादनमुखी बनाइएको विषय नदेखेर टिप्पणी गर्नेहरु बढेको पनि उनले बताए ।
नगरको समीक्षामा राम्रा कामको भन्दा एकादुइ समस्याको विषय बोकेर हिड्नेहरुले नगरमा केही भएन भन्ने गरेको उनले टिप्पणी गरे । तीन वर्षको सामूहिक समीक्षा गर्न नपाएपनि समग्रतामा नगरले पाएको सफलताप्रति गर्व गर्नुपर्ने उनको धारणा छ ।
लेखा अधिकृत भण्डारीले भने गतवर्ष नगरप्रमुख, उपप्रमुख र कार्यालय प्रयोजनका लागि ९ लाख रुपैयाँको इन्धन खर्च भएको दाबी गरे । ‘कसले कति तेल खर्च गरेको भनेर छुट्टिदैन, तर १२ लाख खर्च गर्ने भनिएकोमा कम खर्च भएको छ’ उनले भने, ‘भत्ता पनि तोकेभन्दा कम खर्च भएको छ ।’ गतवर्ष विपदतर्फ इन्धन खर्च भएको उनले बताए ।
तर एक वर्षको समीक्षामा जे हुनुपथ्र्यो, त्योभन्दा बढी बेथिती देखिएको वडा अध्यक्षहरुनै बताउँछन् । ‘गत असारमै भुक्तानी गरेर असोजमा यातायातका साधन किन्नेदेखि खर्चको पारदर्शीता नदेखिनु पनि केही कमजोरी छ भन्ने हो’ वडा नंं २ का अध्यक्ष जीवन आचार्यले भने, ‘सूचना लुकाएर हैन, सार्वजनिक गरेर सफलतामा पुगिन्छ ।’ भएको काम देखाउन नसक्दा जनता र जनप्रतिनिधिले नै केही समस्या छ भन्ने स्पष्ट बुझ्न सक्ने उनले बताए ।





