
बागलुङ, १४ असोज– स्थानीय तहले सञ्चालन गर्ने योजनाहरुमा २० प्रतिशत श्रमदान अनिवार्य गरिएको छभने केही स्थानीय तह अनुसार श्रमदानको फरक फरक व्यवस्था पनि छन् । योजना सम्झौतामा उपभोक्ता समितिले कानुनी व्यवस्था अनुसारको कामका लागि कागजात तयार गरेका भएपनि कामको शिलशिलामा भने विनियोजित रकमको मात्रै काम हुन्छ र कागज मिलाएरै फरफारक ।
श्रमदानको संस्कृतिमा विश्वास कम हुन थालेको नयाँ संरचनासँगै स्थानीय तह गठन भएपछि हो । पहिलेका नगरपालिका तथा गाउँविकास समितिले सञ्चालन गर्ने योजनामा अहिलेको भन्दा फरक हिसाबले उपभोक्ता श्रमदानमा सहभागि हुन्थे । श्रमदानमा विश्वास बढाउन स्थानीय तहले पहल भने नगरेका होईनन् । तर आम उपभोक्ताको तत्कालिन आवश्यकतासँग जोडिएका योजनामा ध्यान नपुगेकै कारण श्रमदानप्रति सर्वसाधारणको जागरुकता नदेखिने गरेको काठेखोला गाउँपालिका–७ रेशका अध्यक्ष प्रेम लामिछाने बताउँछन् ।
‘सामुदायीक वनमा उपभोक्ताको सक्रियता हेर्नुस् त । सबैले अपनत्व लिन्छन्, चाहिएको बेला योगदान’ लामिछाने भन्छन् ‘उपयोगमा विश्वास हुँदा मात्रै सर्वसाधारणले श्रमदान गर्ने हुन् ।’ उपभोक्ताको दैनिकीसँग जोडिएका कार्यक्रम ल्याउँदा मात्रै उनीहरुलाई उत्साहित गर्न सकिने उनी बताउँछन् ।
कोरोना कहरका कारण भएको लकडाउनेले धेरैलाई बेरोजगार बनाएको छ । स्थानीय सरकारले सञ्चालन गर्ने योजना र नयाँ अवसरमा युवा पुस्ताको चासो छ । त्यस्तै अवसरको खोजीमा छन् रेशका सर्वसाधारण । गत वर्ष गण्डकी प्रदेश सरकारले दिएको ११ लाख रुपैयाँबाट ३ सय मिटर पक्कि पदमार्ग मात्रै बनाएका रेशालीले यसवर्ष बिना अनुदान श्रमदानमै पदमार्गको निर्माणमा जुटेका छन् ।
रेशमा रहेको माहुरी भिर झरना पुग्न पदमार्ग निर्माण गर्दा पर्यटनको सम्भावना उनीहरुले देखे । स्थानीयको आर्थिक उन्नती हुने देखेका उनीहरु श्रमदान गर्न कस्सिएका हुन् । लकडाउनका कारण अल्झिएको दैनिकी र आफ्नो गाउँको पर्यटकीय स्थल प्रचारप्रसार तथा पूर्वाधार निर्माणको गतिलो अवसरको रेशालीले प्रयोग गरेको स्थानीय हरि कुँवरले बताए ।
श्रमदानमा पदमार्गको काम गरिरहेका गाउँले मिलेर १३ सदस्य रहेको ‘माहुरी झरना संरक्षण समिति’ गठन भएको छ । यहि समितिले टोल अनुसारको श्रमदान गर्ने पालो लगाउँछ । गाउँलेहरु स्वस्फुर्त श्रमदानमा जोडिने गरेको वडाध्यक्ष लामिछाने बताउँछन् ।
गत वर्ष निर्माण भएको पदमार्गदेखि माहुरी भीर झरनाको फेदीमा पुग्न झण्डै २ किलोमिटर पदमार्ग आवश्यक छ । अक्करे भीरको बाटो रहेकाले सहज आवातजावतका लागि पदमार्ग आवश्यक परेको हो । संरक्षण समितिले आर्थिक तथा भौतिक व्यवस्थापनमा सहयोग पु¥याउने भनेको छ । रेशको नयाँ पर्यटकीय गन्तव्य भएकाले यसको प्रचारप्रसारका लागि वडाको सहायतामा स्थानीय कस्सिएका छन् । सबै मिलेर ११ दिन श्रमदान गर्नेगरी कामलाई अगाडि बढाइएको छ । उनीहरुले १.५ मिटर चौडाईको पदमार्ग बनाएका छन् ।





