बागलुङ, १४ असोज– जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानीका भिम प्रसाद पौडेलको घरमुनि ठुलो पहिरो चलेको छ । वर्षा हुँदा होस् वा घाम लाग्दा पौडेलको परिवार घर छोडेर गाउँमा दौडिन्छन् ।
पानी पर्दा मात्रै होईन घाम लागेर सुख्खा हुँदासमेत पहिरो खस्ने त्रासले उनको परिवार छिमेकमा बस्न थालेको तीन साता भयो । भिमप्रसाद मात्रै होईन राङ्खानीको ढाँडचिन्ने गाउँका ७ परिवारको दैनिकी हो यो ।
यसैवर्ष निर्माण भएको कच्चि सडकको घुम्तीले पहिरो निम्त्याएपछि ढाँडचिन्ने गाउँका ७ घरपरिवार पहिरोको उच्च जोखिममा छन् । ‘घरमुनिबाट सबै तान्लाजस्तै गरेको छ, पहिरो खसिरहन्छ’ पौडेल भन्छन् ‘घर छोडेर हिँडौं, जाने ठाउँ छैन, बसौं बाच्ने आशै मारेर बस्नुपर्ने ।’ ढाँडचिन्ने गाउँका जनकराज पौडेल, इश्वरी पौडेल, पवित्रा पौडेल, दुर्गा बहादुर नेपाली, मिना नेपाली, भवे सार्कीको घर पहिरोको उच्च जोखिममा छन् ।
केहीदिन यता वर्षा रोकिएकाले पसिहरोको जोखिम कम भएको महसुस उनीहरुले गर्न थालेका छन् । तर चिन्ता आउँदो वर्ष कहाँ बस्ने भन्ने हो । ‘हिउँद लागे अर्को वर्षा सुरु नहुने बेलासम्म त बस्न सकिएला अर्को वर्षा के गर्नु’ पीडित मिना नेपालीले भनिन् । पहिरोको विषयमा सोधीखोजी गर्न सरोकारवाला नआएको भन्दै उनीहरु दुखी छन् । गाउँनै पहिरोको जोखिममा पर्दा वडाध्यक्ष् समेत पहिरो हेर्न पुगेका छैनन् । ‘बाटो उनैले बनाए, नेता हामीले बनाईयो, दुःख पर्दा फोनसमेत उठाउँदैनन्’ स्थानीय दिल प्रसाद पौडेलले भने ‘यहाँ बिचल्ली हुनेवाला छ तर समयमा जानकारी गराउँदा वास्तै गर्दैनन् ।’
वडाध्यक्ष नरबहादुर थापाले भने सम्बन्धित टोलका वडा सदस्यलाई जिम्मेवारी दिएकाले आँफु नगएको बताए । ‘कुरा आएको थियो म गएको छैन’ थापाले भने ‘हामी जिम्मेवारी बाँडफाँड गरेर काम गर्छौं, वडा सदस्यको जिम्मेबारी हो त्यो गाउँ जाने ।’ स्थानीयले वडाध्यक्ष मात्रै होईन नगरपालिकाले प्राविधिक जनशक्ति खटाएर पहिरोको अध्ययन गर्नुपर्ने बताउँछन् । ‘अहिले क्षति भएको छैन भनेर उम्किन्छन्, क्षति हुनेवाला छ’ पौडेल भन्छन् ‘अहिले बेवास्ता गर्ने, पहिरोले लगेपछि राहत दिने संस्कार बसेको छ ।’
जैमिनीमा यसवर्ष बाढीपहिरोका कारण धेरै बस्तीहरु जोखिममा छन् । पहिरोले गाउँनै पुरेका र स्थानीयको मृत्यु भएका स्थानमा मात्रै पुग्ने गरेको स्थानीय सरकारले जोखिमको विषयमा भने बेवास्ता गरेको छ । जैमिनीकै वडा नं. १ का विभिन्न ठाउँका जोखिमयुक्त बस्तीहरुमा समेत जनप्रतिनिधि पुग्दैनन् ।
‘यस्तो छ भन्दा प्रहरीको मुचुल्का गरेर वडा सिफारिस लिएर आउनु भन्छन्, यहाँ बस्तीनै जोखिममा छ’ कुश्मीशेराका दिनानाथ शर्मा भन्छन् ‘क्षतिको पछि दौडिएकाले सम्भावित क्षतिको विषयमा हेरेनन् ।’ सडक बनाउँदा जोखिमको बेवास्ताकै कारण पछिल्लो दुई महिना यता जैमिनीमा पहिरोमा पुरिएर तीन जनाले ज्यान गुमाएका छन्भने नौ परिवार बिस्थापित छन् । समयमा बस्तीको व्यवस्थापन गर्न नसके आउँदो वर्षामा धेरै जनधनको क्षति व्यहोर्नुपर्ने स्थानीय बताउँछन् ।





