मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

जो भाग्दाभाग्दै पक्राउ परे…

जो भाग्दाभाग्दै पक्राउ परे…

बैंशमा लुकेकाहरु बढ्यौलीमा धमाधम समातिँदै । दश रुपैयाँदेखी ५६ लाखसम्म जरिवाना बाँकी ।


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०७७, बिहिबार

बागलुङ, १५ असोज– सेतै फुलेको कपाल अनि दाह्री, ढाका टोपीबाट निस्किएका रौं । चरचरी फुटेका खुट्टा, हातका औंलामा लामा नङ । च्याउरिएको अनुहार अनि थरथरी काप्ने खुट्टा । जिल्ला प्रहरी कार्यालयको परिसरमा देखिएका बागलुङ नगरपालिका वडा नं. ७ का ७६ वर्षिय सोम बहादुर केसी दयालाग्दो अवस्थामा थिए । उनलाई प्रहरीले घरबाटै पक्राउ गरेर त्यहाँ पु¥याएको हो ।
उमेरले डाँडो काट्यो, आफन्त सबैले छोडे, घरमा एक्लै बस्दै आएका केसीलाई कानुनले भने छोडेन् । हाडनाता करणीको आरोपमा लामो समय मुद्दा खेपेका केसीलाई अदालतले फैसला गरेको १९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०५० सालमा हाडनाता करणीको आरोप लागेका केसी देशका सबै न्यायलयमा पुगे । घर जग्गा भएको सम्मत्ति सबै सकियो । जिल्ला, पुनरावेदन र सर्वोच्चसम्मको लडाईंमा सम्पत्ति सकेका बुढ्यौलीमा कारागार पुगेका छन् ।
जिल्ला अदातल बागलुङ र पुनरावेदन अदालतबाट मुद्दा जितेका केसीलाई वादीपक्षले छोडेनन् । २०५८ साल जेठ २ गते सर्वोच्च अदालतले उनलाई एक वर्षको कैद सजाय सुनायो । अदालतको फैसला आयो तर उनलाई लिन कोही आएन् । उनी आँफैपनि कानुनको पालना गर्नुपर्छ भनेर अदालत वा प्रहरी समक्ष पुगेनन् ।
सर्वाेच्चले फैसलाको पूर्ण विवरण जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाएपछि कहिले भाग्दै त कहिले निर्धक्कै आफ्नै घरमा रहेका केसी बुधबार पक्राउ परे । बाँकी कैद भुक्तानका लागि अदालतहुँदै कारागार पठाईयो । मुद्दा हारेको थाहा पाएपछि छोराबुहारी, श्रीमती र आफन्तबाट समेत एक्लिएर बसेका केसी सहारामा बाँच्नुपर्ने अवस्थामा कानुनले तोकेको सजाय भुक्तानका लागि कारागार पुगेका छन् ।
हाडनाता करणीकै अपराधमा संलग्न बागलुङ नगरपालिका–१४ नारायणस्थानका दुर्गा पौडेल पनि केही दिनअघि पक्राउ परे । २०४५ साल बैशाख १५ गते जिल्ला अदालत बागलुङले ४ महिना १० दिन सजाय सुनाएका पौडेल फैसलाको साढे ३१ वर्षपछि पक्राउ परेका हुन् । ‘कहिले विदेश, कहिले नेपालमै गरेर अहिलेसम्म पनि लुक्दै आएका थिए’ प्रहरी निरीक्षक दिपक रिजाल भन्छन् ‘करणीपछि जन्मेको छोरा कमाउने भएपछि कानुनको दायरामा आए ।’ जिल्ला अदालत पेश भएका उनी अदालतले तोकेको बिगो तिरेर थुना मुक्त भएका छन् । लकडाउनको समयमा घर आएका उनी कानुनको फन्दामा परे ।
‘सधैं भाग्ने गरेका थिए, यसपटक प्रहरीबाट उम्किन पाएनन्’ रिजाल भन्छन् ‘अभियान सधैं हुन्थ्यो, यो पटक थप सशक्त बनाएका छौं ।’ लकडाउनले प्रतिवादी पक्राउमा ठुलो सहयोग गरेको रिजाल बताउँछन् । लामो समय घर छोडेर, ठेगाना बदलेर बसेकाहरु समेत घर आएको मौकामा पक्राउ परेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय बागलुङले प्रतिवादी पक्राउ गर्ने कामलाई थप सशक्त बनाएपछि केसी र पौडेलजस्तै विभिन्न मुद्दामा अदालतले सजाय सुनाएर पनि फरार रहेकाहरु धमाधम पक्राउ परेका छन् । बुधबार दिउँसोसम्म प्रहरीले ७५ जना प्रतिवादी प्रक्राउ गरेको छ । अदालतले तोकेको सजाय भुक्तान गर्न बाँकी रहेका ४ सय ८० जना छन् । तीमध्ये बाँकी रहेकाको समेत प्रहरीले खोजी तिब्र बनाएको छ । जरिवाना बाँकी रहेका भुक्तानपछि घर फर्किएका छन्भने कैद सजाय बाँकी रहेका सबैलाई अदालतको निर्देशन अनुसार कारागार पठाईने गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मी बताउँछन् ।
दश रुपैयाँदेखी ५६ लाखसम्म जरिवाना बाँकी
ज्यान मार्ने उद्योग कसुरमा जिल्ला अदालत बागलुङले गलकोट नगरपालिका–११ रिघाका ७ जनालाई जरिवाना सुनाएको २२ वर्ष भयो । २०५३ साल असार २३ गते अदालतले जरिवाना सुनाएका सातै जना अहिलेसम्म भुक्तानका लागि आएका छैनन् । अदालतले उनीहरुलाई दश रुपैयाँका दरले जरीवाना सुनाएको थियो ।
ठगी मुद्दामा सर्वोच्च अदालतले २०७१ साल असार ५ गते सजाय सुनाएपछि गाउँ नफर्केका गलकोट नगरपालिका वडा नं. ३ का ६५ वर्षिय ओमबहादुर खड्का यस पटक गाउँ आए । कोरोनासँग बच्न गाउँ फिरेका खड्कालाई ६ वर्षअघि फैसला भएको मुद्दाले भने छोडेन् । गाउँमा एक जनासँग लिएर अर्कोलाई मिटर व्याज लगाउने र लिएकासँग नतिर्नेजस्ता कारोवारमा संलग्न उनलाई जिल्ला अदालतमा मुद्दा प¥यो ।
जिल्ला, पुनरावेदनहुँदै सर्वाेच्चमा पुगेको उनको मुद्दामा सर्वोच्च अदालतले २ वर्ष ३ महिना १९ दिन कैँद र ५५ लाख ५२ हजार १२ रुपैयाँ जरिवाना असुल गर्न भनेको छ । दुवै सजाय भुक्तान नगरेका खड्का यसपटक पनि भाग्न खोज्दै थिए । इलाका प्रहरी कार्यालय हरिचौरले उनलाई अघिल्लो साता पक्राउ गरेको हो । फैसला कार्यान्वयन गर्न उनी कारागार चलान भएका छन् ।
जिल्लाभर सबैभन्दा धेरै प्रतिवादी बागलुङ नगरपालिकामा छनभने सबैभन्दा कम फरार प्रतिवादी ताराखोला गाउँपालिकामा रहेको तथ्यांक छ । बागलुङमा १६२, गलकोटमा ४५, जैमिनीमा ६७ र ढोरपाटन नगरपालिकामा ४१ जना प्रतिवादी फरार सूचीमा छन् । त्यस्तै, ताराखोलामा ८, बरेङमा १५, बडिगाडमा ३५, तमानखोलामा १६, निसीखोलामा ५०, र काठेखोला गाउँपालिकामा ४८ जना प्रतिवादी फरार रहेको प्रहरी नायव उपरीक्षक रेग्मी बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->