तमु अर्थात् गुरुङहरुले आज नयाँवर्ष मनाउँदै छन् । गुरुङहरु नेपालका आदिवासी जनजातिमध्येको एक जात मात्रै हैन, नेपालीलाई विश्वभर चिनाउने माध्यम पनि हुन् । गोर्खाली सेनामा भर्ना भएर होस् वा अन्य माध्यमबाट उनीहरुले विश्वभर नेपाली वीरताको गाथा सुनाएका छन् । विदेश घुमेर नेपाल आउँदा उनीहरुले नयाँ संस्कृति र सभ्याता पनि ल्याएका छन् । प्रकृतिका पूजारीहरु हुन्, गुरुङहरु । प्रकृतिको सामिप्यतामा रहेको यो जातले यो वर्ष च्यु ल्हो (मुसा वर्ग) को बिदाई र ल्वों ल्हो(गाई वर्ग) को स्वागत गर्दैछ । गुरुङसँग सम्बन्धित विभिन्न संघ/संस्थाले आज गण्डकी प्रदेश र देशभर ल्होसार÷ल्होछार मनाउँदैछन् । पुस १५ लाई नेपालका अन्य जातजातिले पनि विभिन्न स्वरुपमा मनाउने गर्छन् । मध्य पुसको ठिहि¥याउँदो चिसोमा मनाइने पर्वसँग तातो कुरा खाने र स्वस्थ रहने सन्देश पनि प्रवाहित हुन्छ ।
मुलतः यो पर्व प्रकृति र संस्कृतिसँगै जोडिन्छ । तमुहरुलाई ल्होसार/ल्हाछारको हार्दिक मंगलमय शुभकामना ! गण्डकी प्रदेश तमुहरुको आदिम थलो हो । उनीहरु यहीँका लेकपाखामा भुले, यहाँका वन र बस्तीहरुमा रमाए । अहिले पनि यो लेकाली जातिको आफ्नैखाले रहनसहन अनि संस्कृति रहेको छ । अघिल्ला केही वर्षहरु नेपालमा पहिचानको मुद्दा पेचिलो बनेका वर्षहरु थिए । त्यो बेला यहाँका गुरुङ जातिले समग्र गण्डकीलाई तमुवान राज्य घोषणा गर्नुपर्ने माग गरे ।सशस्त्र विद्रोहताका माओवादीले उठाएको यो मागले यहाँका गुरुङहरुमा आफ्नो अस्तित्व खोज्नुपर्छ भन्ने भावना जागृत गरायो । कालान्तरमा विद्रोही माओवादीले त्यो मुद्दा छाडिदियो । राजनीतिक दलले मुद्दा छाडे पनि यहाँका गुरुङसँग सम्बन्धित संघ÷संस्थाले यो मुद्दा उठाउँदै आए । संविधानसभाको पहिलो र दोस्रो निर्वाचन हुँदै २०७४ सालको आम निर्वाचनसम्म आइपुग्दा पहिचानको मुद्दा नेपालमा कमजोर बन्यो ।
पहिचानलाई जातियतासँग जोडेर हेर्न नहुने मत बलियो बन्यो । गण्डकीको हकमा पनि सबैजसो मुख्य राजनीतिक दलहरुले बहुपहिचानयुक्त प्रदेश बनाउने धारणा राखे । निश्चय पनि गण्डकी तमुसहित अन्य जातजातिको पनि थलो हो । अहिले यो मुद्दा असान्दर्भिकजस्तो देखिएको छ । नाम जे भए पनि मौलिकता परम्परा र संस्कृतिको संरक्षण गर्नु राज्यको कर्तव्य हो । यहाँ रहेका सबै जातजातिहरुको धर्म र संस्कृति अनि परम्पराको संरक्षण गरिनुपर्छ । राज्यले ती जातजातिको आत्मसम्मानमा चोट पु¥याउने कार्य गर्नु हुँदैन । अर्कोतर्फ विविधतामा एकता भन्ने पुरानो नारालाई सार्थकता दिएमा त्यसले देशको आर्थिक र सामाजिक विकासमा सघाउँछ भन्ने भुल्नु हुँदैन । तमु ल्होसार मनाइरहँदा यहाँ रहेका हरेक मौलिक परम्परा र संस्कृतिहरुको संरक्षणमा राज्य लाग्नैपर्छ । जनजाति वा कसैको मुख्य चाडमा शुभकामना दिनुमात्र राज्यको काम हैन । शुभकामनासँगै उनीहरुको चाहना पूरा गरिदिए मात्रै वास्तवमा सबैको भलो हुन्छ । समान अवसर प्रदान गर्दै पछि परेकाहरुलाई अगाडि ल्याउने प्रयत्नको थालनी गरिनुपर्छ ।

