काम गर्ने इच्छा र चाहना भयो भने जुनसुकै परिस्थितिमा पनि काम हुने रहेछ भन्ने कुरा बागलुङको बलेवा बिमानस्थलमा देखिएको छ । बर्षौदेखिको रोकिएको काम बिषम परिस्थितिमा पनि भएको देख्दा इच्छाशक्ती नै पहिलो कुरा रहेछ । किनकी समस्या देखाएर कामबाट भाग्ने प्रवृत्ति बिशेषगरेर नगर्ने मनसाय भएकालाई मात्र हो भन्ने देखिएको छ ।
बलेवा बिमानस्थल २०५० साल भन्दा अघि दुइ दशक सम्म नियमित संचालन भएको स्थान हो । यहाँबाट बागलुङ र पर्वतका धेरै मानिस भैरहवा र काठमाण्डौ जाने गर्थे । सडक संजाल नभएपछि पैदलै यात्रा गर्नुपर्ने बाध्यताको समयमा बलेवाको हवाई मैदान धेरैको भरोसाको केन्द्र थियो । बलेवाबाट भारी खेपेर बागलुङ बजार आउनेहरुको पनि निकै भीडभाड हुने गरेको जानकार बताउँछन् । भीडभाडको कुरा मात्र नभइ बलेवामा आफ्नै प्रकारको व्यपार थियो । धेरै मजदुरले काम पनि पाउने गर्थे । त्यो परिस्थिति बागलुङ पोखरा सडक मार्ग खुलेपछि बिस्तारै लोप भयो । अर्थात बलेवा पुगेर जहाज जढ्ने भन्दा गाडि चढेर पोखरा पुग्नेहरु बढी भए । जसले गर्दा जहाज आउन छाड्यो ।
पोखरा पुग्दा धेरै जहाज र धेरै स्थानमा जानकालागि बाटो खुला भएकोले बलेवा बिमानस्थल र बलेवामा जहाज आउने क्रम रोकिएको थियो । यो परिस्थितिलाई खुलाउने वा पुनरावृत्ती गर्ने काम लामो समय सम्म कसैले गरेनन् । बरु पछिल्लो समय संचारक्षेत्रको बिकासक्रमले यो बिषय उठान गरेको देखिन्छ । बेला बेलाका चुनावी नारामा बलेवा बिमानस्थल संचालन गर्ने भाषण नभएका होइनन्, तर काम भएको थिएन । संचारक्षेत्रले निरन्तर खवरदारी र समाचारको रुपमा प्रवाह गरेपछिमात्रै यो बिषयले गति लिएको हो । अर्थात २०६९÷०७० सालतिर मात्रै यो बिषयले राष्ट्रिय बहस बनाउन सफल भयो । त्यसपछि बेला बेला जहाज ल्याउने क्रम पनि चल्यो । कहिले मन्त्रीहरु जहाज चढेर आए भने कतिपय समय नेपाल नागरिक उड्ययन प्राधिकरणका पदाधिकारीले पनि भ्रमण गरे । जहाज ल्याएर चलाउन सकिने भन्दै बागलुङ नगरपालिकाले पनि पहल गरेको भने हो । उक्त पहलमा खाली सिटलाईपनि मूल्य तिर्ने प्रावधानले नगरपालिका पछाडि परेको थियो । कहिले खाली सिट उड्नुपर्ने र यात्रीले पनि बलेवा पुग्न समस्या पर्ने भएपछि ६ महिनामै बलेवाको जहाज उडाउने सपना फेरी तुहियो ।
अहिले भने प्राधिकरणले आफ्नै अगुवाई गरेको छ । नगरपालिकाले अनुगमनको काम गरेपछि हवाइ मैदानको स्तरउन्नतीले गति पाएको छ । अर्थात हवाइ जहाज आउने जानकालागि सहज बनाउन कालोपत्रेको काम समेत गरिने भएको छ । अहिले बलेवाको बिमानस्थलमा ग्राभेल गर्ने अबस्था सुरु भैसकेकोले अब छिटै कालोपत्रे हुने आशा पलाएको छ । यो आशा सँगै बलेवा मैदान सम्म पुग्ने दुइवटा सडक पनि तयार भएका छन् । कालीगण्डकी करिडोरले पूर्वी खण्डमा र बागलुङ कुश्मीसेरा सडकले पश्चिम खण्डमा जोड्ने अबस्था आएपछि बिमानस्थल चल्ने संभावना पनि बढेको छ । छिमेकी पर्वतको कुश्माबासीले पनि अग्लो पुल र यन्त्रिकपुलबाट आएर सजिलै जहाज चढ्ने सपना पुरा गर्न सक्ने देखिएको छ । करिडोरपनि केही समयमै कालोपत्रे हुने क्रममा छ भने कुश्मीसेरा सडक खण्डपनि कालोपत्रे भैरहेको छ । यी सबै कारणले बलेवा बिमानस्थल अब भने चल्ने र आम मानिसलाई सेवा दिने अबस्थामा पुगेको देखिएको छ । यो स्वागतयोग्य कदम हो ।

