पर्वत, २७ पुस– अस्थायी ठाउँमा रहेको पर्वतको फलेवास नगरपालिकाको केन्द्र अब भने स्थायी ठाउँमा सर्ने भएको छ ।
पुस २४ गते बसेको कार्यपालिकाको बैठकबाट फलेवास नगरपालिका–५ खानीगाउँ स्थित झकलकमा केन्द्र सार्ने गरी बहुमत सदस्यहरूबाट निर्णय भएको नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ मुडिकुवाका अध्यक्ष टीकाराम गौडेलले बताए ।
नगरपालिका बने लगत्तै भाडाको घरमा रहेर कार्यालय सञ्चालन हुँदै आएकोमा त्यसपछि फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सेवा सुरु गरिएको थियो । लामो समयसम्म जग्गाको खोजी हुँदै आएकोमा बल्ल मात्रै उपयुक्त स्थान भेटिएको र त्यसमा सर्ने निर्णय गरिएको प्रवक्ता गौडेलको भनाई छ ।
झकलकमा कार्यालय राख्नको लागि ११ जना स्थानीय नागरिकले ६० रोपनी जग्गा दान स्वरूप दिएको र जग्गा खरिदका लागि रकम खर्च गर्नुनपरेको पनि उनले बताए । केन्द्र सर्न लागेको स्थान हाल रहेको अस्थायी केन्द्रबाट करिब एक किलोमिटर टाढाको दूरीमा रहेको छ ।
अहिले कार्यालय रहेको सिचाइको भवनको क्षेत्रफल ३ रोपनी मात्रै रहेको र त्यहाँबाट सेवा सञ्चालन गर्न समस्या भएको तथा उक्त भवन नगरपालिकाको नहुँदा थप भौतिक विकास समेत गर्न नपाएको नगरप्रमुख पदमपाणी शर्माले बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ मा नगर तथा गाउँपालिकाको स्थायी केन्द्र बनाउन आफ्नै स्वामित्वको जग्गा हुनुपर्ने र उक्त जग्गा नगरपालिकाको हकमा कम्तीमा ८ रोपनी र गाउँपालिकाको हकमा कम्तीमा ६ रोपनी हुनुपर्ने नियम अनुसार नयाँ ठाउँमा सर्नको लागि निर्णय भएको शर्माको भनाई छ ।
नगरपालिकाको मुख्य प्रशासनिक भवन, विषयगत शाखाका भवनहरू लगायत बजार क्षेत्रको विस्तार लगायत नगरपालिकाको केन्द्रका लागि आवश्यक पूर्वाधारहरू झकलकमा निर्माण कार्य अघि बढाइने भएको छ । यसका लागि स्थानीय जग्गादाताहरूले नगरपालिकालाई जग्गाको लालपुर्जा समेत दिइसकेका छन् ।
नयाँ ठाउँमा सर्नको लागि मुख्य प्रशासनिक भवन निर्माणको काम चालु आर्थिक वर्षभित्रमा नै सुरु गरेर एक वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ ।





