प्रधानमन्त्रीले संसद बिघटन गरेपछि दुइ समूहमा बाँडिएको नेपाल कम्प्युनिष्ट पार्टी नेकपाका नेताहरुले एकआपसमा आरोप प्रत्यारोप लगाउन थालेका छन् । यो क्रम प्रधानमन्त्री केपी शर्मा ओली देखि माधवकुमार नेपाल र प्रचण्ड सम्ममात्रै सिमित छैन । वडा तहसम्म दुइ समूहमा बिभाजन भएर आफ्ना सहकर्मीलाईनै खुइल्याउने काम गरिरहेका छन् ।
झट्टहेर्दा आरोप प्रत्यारोप मात्र जस्तो लाग्छ । तर ५० बर्षभन्दा बढी एउटै पार्टीमा बसेका, सँगै काम गरेका र भोलीको दिनमापनि सँगै बस्नुपर्नेहरुको पानी बाराबारले उनीहरुको पार्टी मात्रै कमजोर भएको छैन । बरु देशको बिकास निर्माण, आर्थिक वृद्धि र जनताको जनजीविकापनि प्रभावित भएको छ । एकले अर्कोलाई भ्रष्टाचारको आरोप लगाएका छन् । अन्य धेरै आरोपले उनीहरुको समूह र अन्धभक्त भएकाहरुले ताली पिटेपनि आम जनतामा सबै नेताहरुप्रति वितृष्णा फैलिएको छ । सानातिना कमजोरीलाई ठूलो अपराध समेत करार गर्न खोजेपछि नेताहरुको भाषणबाटै आम जनताले सबै नेता उस्तै भएको बुझ्न थालका छन् ।
यो आरोप प्रत्यारोपले आगामी दिनमा दुवै समूह माथी उठ्नै नसक्ने अबस्थामा पुगिसकेका छन् । एकमहिना सम्मको आरोपप्रत्यारोपको असर सर्वसाधारण मतदातामा पनि पुगिसकेको छ । भोलीको दिनमा पार्टी मिले, नेता मिले भनेपनि आम जनताले बुझ्ने भाषा मिल्ने छैन । अर्थात उनीहरुले नेता मिलेको भन्दैमा पार्टी मिलाउने वा अहिलेको आरोपप्रत्यारोप बिर्सन नसक्ने अबस्थामा पुगिसकेको छ । २०५१, २०५४ वा २०५७ सालको जस्तो पार्टीको बिचलन मात्र यो समय होइन । अहिले हरेक नेताले बोलेका भाषा, आरोपहरु सामाजिक संजाल सहित टेपरेकर्ड भएका छन् । मिलेको भनेर देखिएपनि उनीहरुका भनाइलाई अब जनताले जुनसुकै बेला बाहिर ल्याउन सक्छन् ।
अहिलेपनि कतिपय नेताले मध्यावधिमा जान नसकिने बिषयकै कारण संविधानको धारा ७६ लेखिएको व्यक्त गरेका रेकर्ड बाहिर आएका छन् । आफ्नो स्वार्थ पर्दामात्रै उनीहरुले त्यस्ता भाषा बोल्ने रहेछन्, अहिले फेरी गुटको भाषा बोल्न थालेका छन् भन्ने ती रेकर्डले पनि देखाउँछन् । यस्ता भाषा प्रयोग गर्दा संवैधानिक सर्बोच्चता, कानूनी शासन लगायतका मूल्य र मान्यता पनि ध्वस्त भैसकेका छन् । दुवै समूहमा नलागी बामदेव गौतमले पार्टी एकताको आब्हान पनि गरेका छन् । अब केहीगरी फेरी पार्टी एकता भैहालेको खण्डमा पनि उनीहरुको मन पुरानै अबस्थामा मिल्छ त ? उनीहरु मिल्दैमा कुटाकुट गर्न लागेका कार्यकर्ता मिल्देलान ? कि दुइ समूहका नेता मिलेपछि जनता भेडाझै मिलेर बसिदिनुपर्ने बाध्यता हो ? यी तमान बिषयमा नेतृत्व तहमा कहिले पनि बसह भएको देखिएको छैन । घेराबन्दीमा राख्ने कार्यकर्ताले नेतालाई जे सुझाव दियो त्यही मात्रै सत्य हो भन्ने भावना नेपालका नेताहरुमा छ । चाहे नेकपामा होस्, चाहे कांग्रेसमा यो प्रवृत्ती रहेसम्म नेपालका नेताप्रतिको विश्वास भने अब गुमिसकेको छ । भलै यतिबेला निकै चहलपहल देखिएको छ । कार्यकर्तामा जोश देखिएको छ । तर जनतामा जोश छैन । उनीहरु आफ्नो जनजीविकाकालागि संघर्षरत छन् । उनीहरुको संघर्षको घाउमा मलम लगाउने काम कुनैपनि दल, नेता र समूहले गरेको देखिएन । त्यसैले आम नागरिकको विश्वास उनीहरुप्रति गुमिसकेको छ । अझै सच्चीएर देशलाई एकढीका बनाउने केही मौका बाँकी छ । जनताप्रति अलिकतिपनि विश्वास बढाउनेहो भने अब गालीगलौज तत्काल रोकिनुपर्छ । जनताको जीवन सुधार गर्ने साझा एजेण्डामा सबै मिलेर जानुको बिकल्प छैन ।

