पर्वत, ४ माघ– पर्वतको कुस्मा नगरपालिका–६ मा रहेको शिवालय माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत सुहानी नेपालीलाई पढाईलेखाईमा समस्या छ ।
आमा सुनिता नेपालीले मजदुरीको भरमा काम गरेर सुहानीलाई आवश्यक पर्ने शैक्षिक सामग्रीहरूको व्यवस्थापन गर्दै आइरहेकी छिन् । गएको २०७५ सालबाट भने सुहानीलाई आवश्यक पर्ने शैक्षिक सामग्री जोहो गर्न अलि सजिलो भएको छ । नयाँ शैक्षिक सत्रको सुरुमा चलाइने राष्ट्रिय भर्ना अभियानका क्रममा त्यो बेलामा सरकारी अधिकारी वा अन्य सक्नेहरूले पनि समस्यामा परेका बालबालिकाहरूको अभिभावकत्व ग्रहण गर्ने अभियान चल्यो ।
सोही क्रममा सुहानीको अभिभावकत्व राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लिएका थिए । अभिभावकत्व ग्रहण गरेकै वर्षमा अध्यक्ष तिमिल्सिनाले सुहानीलाई १० हजार मूल्य बराबरका शैक्षिक सामग्री प्रदान गरेका थिए । दोस्रो वर्षबाट भने उनले आवश्यकताको आधारमा सामग्रीहरू खरिद गर्न सकुन् भनेर नगद १० हजार रुपैयाँ दिन थालियो । यही क्रममा अभिभावकत्व ग्रहण गरेको तेस्रो वर्षमा अध्यक्ष तिमिल्सिनाले शुक्रवार सुहानीलाई नगद १० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले पोखरामा अध्ययनरत विद्यार्थीको पनि अभिभावकत्व ग्रहण गरेका थिए। तर शुक्रवार पर्वतमा अभिभावकत्व लिएका तीन जना बिद्यार्थीहरुलाई १० हजार रुपैयाँका दरमा नगद सहयोग गरे । रकम पाउने अन्य विद्यार्थीहरूमा जिल्लाको मोदी गाउँपालिकामा रहेको नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत निकिता थापा रहेकी छिन् । उनी आफ्नी आमाको साथमा बस्दै आएकी छिन् । अर्का विद्यार्थी पनि मोदी गाउँपालिकामै रहेको नवजागृत माध्यमिक विद्यालयको कक्षा दुईमा अध्ययनरत अनुप जि.सी. रहेका छन् ।
अभिभावकत्व ग्रहण अभियानले विद्यार्थीले अभिभावक पाए ।
कुस्माको शिवालय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले यो अभियानले बालबालिकाहरूले अभिभावक पाएको बताए ।
घरको आर्थिक अवस्था कमजोर रहेका कारण अध्ययनमा समस्या भोग्दै आएका तथा पढाई छोड्नै बाध्य भएका बालकालिकाहरुले आफ्नो भविष्य उज्यालो पार्ने मौका अभिभावकत्व ग्रहणले भएको उनको भनाई छ । ‘अभिभावक नभएका तथा भएर पनि बालबालिकाका शैक्षिक आवश्यकता पूरा गर्न नसकेकाहरूलाई अभिभावकत्व ग्रहणले अभिभावक खडा गरिदिएको छ ।’ उनले भने, ‘हाम्रो विद्यालयकी सुहानीको अध्ययनमा रहेको समस्यालाई सम्माननीय ज्यूले केही हदसम्म टार्नुभएको छ ।’ दैनिक मजदुरीको भरमा आम्दानी गर्दा खान लाउनमै समस्या रहेको परिवारले वार्षिक १० हजार रुपैयाँ पाउँदा पनि ठुलो राहत हुने र बालबालिकाहरूले बिचैमा पढाई छोड्नु नपर्ने पहाडी बताउँछन् ।
नमुना आवासीय मा.वि.का प्रिन्सिपल बलाराम शर्मा र नवजागृत मा.वि.का प्रधानाध्यापक विष्णु सुवेदीले पनि अध्यक्ष तिमिल्सिनाले अभिभावकत्व लिएका विद्यार्थीहरूको पढाइमा पहिलेको जस्तो समस्या नरहेको बताए । उनीहरूलाई शैक्षिक सामग्रीहरू व्यवस्थापनमा सहज हुँदा उनीहरूको अध्ययनमा पनि सुधार आएको उनीहरुको भनाई छ ।
‘लौन हजुर अस्थायी भए नि एउटा जागिर पाऊँ’
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले शिवालय मा.वि.की सुहानीलाई नगद हस्तान्तरण गर्दै गर्दा उनकी आमा सुनिताले आफूलाई एउटा अस्थायी जागिरसम्म मिलाइदिन सके छोरीको पढाइमा झनै सुधार गर्न सकिने बताइन् । मजदुरीको भरमा काम गरेर दैनिक आवश्यकताहरू परिपूर्ति गर्न समस्या भएको बताउँदै उनले आफूलाई र छोरीलाई सजिलो पार्न कहीँ कतै अस्थायी रूपमै भए पनि जागिर मिलाइदिन अनुरोध गरेकी हुन् ।
‘सुनिताको परिवारमा समस्या छ । उहाँले आम्दानी गरेर जसोतसो कमाएको थोरै पैसाले परिवार धान्न, छोरीका आवश्यकता पूरा गर्न धौ धौ भएको छ ।’ विव्यस अध्यक्ष पहाडीले सुनिताको भनाई उद्धृत गर्दै भने, ‘उहाँको समस्या समाधानको लागि कहीँ कतै त्यस्तो खालको अवसर मिलेमा पहल गरौँला भनेका छौँ । उहाँलाई मिल्दो खालको अवसर आएमा उहाँको व्यवस्थापनको लागि लागि पर्ने छौँ ।’





