बैतडी, २४ माघ – बैतडीको पुरचौर्डी नगरपालिकामा बाबुले छोरीलाई गोली प्रहार गरी हत्या गरेका छन् । नगरपालिकाको वडा नम्बर १० विजयपुरको धौबिसैका अन्दाजी ५० वर्षीय धनबहादुर महराले आफ्नै २० वर्षीया छोरी बेलमतीमाथि गोली प्रहार गरी हत्या गरेका हुन् ।
शनिबार साँझ ५ बजे सामान्य घरायसी विवादमा धनबहादुरले छोरीको पिठ्युमा गोली हानी जंगलतर्फ भागेका थिए । घटना लगत्तै पुरघाट प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा गएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए । गोली लागेर घाइते भएकी छोरीको मृत्यु भइसकेको उनले बताए । प्रहरीका अनुसार बन्दुकसहित महरा जंगल भागेका छन् । मृतकका १ वर्षका छोरा पनि रहेका छन् ।





