शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि जवाफी बहस हुँदै

प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि जवाफी बहस हुँदै


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २ २०७७, आइतबार

काठमाडौं , २ फागुन– प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि संवैधानिक इजलासमा जवाफी बहस सुरु हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न दिने तयारी गरेका छन् । विपक्षी अर्थात् सरकारी पक्षकोे बहस गत बिहीबार सकिएकोे थियो । उनीहरूका तर्फबाट आएका जिज्ञासा तथा तर्कको जवाफ निवेदक पक्षले दिनेछन् । जवाफी बहसका लागि नेकपाका प्रमुख सचेतक देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, शम्भु थापालगायत छन् । अन्य १२ निवेदकका तर्फबाट क–कसले जवाफ दिने भन्ने इजलासबाट समय दिएपछि मात्र थाहा हुनेछ ।

माघ ४ गते हेर्दाहेर्दैमा राखेर सुनुवाई भइरहेको प्रतिनिधिसभा विघटनविरुद्धका १३ रिट निवेदकका तर्फबाट ७० भन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए । उनीहरुले १३ दिनको समय लिएपछि सरकारको तर्फबाट सुुरुमा बहस गरेका थिए ।

जवाफी बहस सकिएपछि एमिकस क्युरीमा रहेका पाँचजनालाई आफ्नो कुरा राख्न समय दिइनेछ  । एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका थिए । प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा त्यसमाथि सुनवाइ भइरहेको हो । जबरासँगै न्यायाधीशहरू तेजबहादुर केसी, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठ छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->