पर्वत, १४ फागुन– ‘एक पालिका एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत बिहादी गाउँपालिकामा निर्माण भएकामा औद्योगिक ग्रामको पहिलो चरणका काम सम्पन्न भएका छन् । कार्यक्रमअन्तर्गत बिहादीमा औद्योगिक ग्राम निर्माणको काम अगाडि बढाएको हो । सङ्घ र प्रदेश सरकारको सहलगानीमा गत वर्षदेखि औद्योगिक ग्राम स्थापनाको काम शुरु भएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालका अनुसार सङ्घीय सरकारबाट प्राप्त भएको बजेटबाट अहिलेसम्म करिब रु ५८ लाख खर्चिएर विभिन्न संरचना निर्माण भइसकेका छन् । पूर्वाधार निर्माणअन्तर्गत जग्गा सम्माउने, तारबार लगाउने, विद्युत् जडान, सडक निर्माण, पानीको व्यवस्थापन, सुरक्षा पर्खाल निर्माण, ढल निकासलगायतका काम सम्पन्न भएको उनले बताए । औद्योगिक ग्राममा सङ्घ सरकारबाट बाट रकम प्राप्त भएर पूर्वाधार निर्माणको काम भएको र प्रदेश सरकारबाट हालै रु ३० लाख प्राप्त भएको उनले जानकारी दिए ।
प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट थप काम गर्न बोलपत्र आह्वान गर्ने तयारी रहेको छ । औद्योगिक ग्राममा स्थानीय स्तरका घरेलु तथा साना उद्योग स्थापना गर्ने लक्ष्य रहेको छ । फर्निचर उद्योग, कुटानीपिसानी मिल निर्माण, सलाइका काँटी बनाउने, अगरबत्ती उद्योग तथा स्थानीय कच्चा पदार्थमार्फत बन्ने बस्तु उत्पादन हुने उद्योग स्थापना गर्ने तयारी भएको छ ।
प्रदेश सरकारबाट प्राप्त बजेटले प्रदर्शनी हल निर्माण गर्ने र त्यसैमा साना तथा घरेलु उद्योग निर्माण हुने गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिए । औद्योगिक ग्रामलाई बृहत्तररुपमा सञ्चालन गर्न गाउँपालिकाले अर्थ मन्त्रालयमा बजेटको माग गरेको पनि प्रशासकीय अधिकृत भुसालले बताए । मन्त्रालयमा रु २८ करोडको डिपिआर तयार पारेर पेश गरिएको उहाँले बताउनुभयो । सरकारलाई बहुवर्षे पूर्वाधार विकासको रुपमा बिहादीको औद्योगिक ग्रामलाई समावेश गर्न प्रस्ताव गरिएको उनले जानकारी दिए । बिहादीसँगै फलेवास, कुश्मा र जलजलामामा पहिलो चरणमा औद्योगिक ग्राम स्थापना गर्न थालिएको छ । कुश्मा नगरपालिका–१ पाङ, जलजला गाउँपालिका–३ माझफाँट र फलेवासको देवीस्थानमा औद्योगिक ग्राम स्थापना गर्ने तयारी भइरहेको छ ।





