आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

आकासमा उडेको, फेवामा अस्ताए..

आकासमा उडेको, फेवामा अस्ताए..

एडभेन्चर स्पोट्र्स तालिम लिँदा लिँदै फेवातालमा खसेका थिए राजाराम ।


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ४ २०७७, बुधबार

पोखरा, ४ चैत– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम भवन अगाडि मंगलबार मानिसको भिड थियो । भिडम उभिएका सबैको अनुहार मलिन थियो । उनीहरु आपसमा कुराकानी पनि कमै गर्थे । वातावरण नै शोकमा डुबेको थियो ।
पोस्टमार्टम भवनमा सोमबार मृत्यु भएका एकसैनिक जवानको शव राखिएको थियो । त्यसैको पर्खाइमा थिए, भवन बाहिर बस्नेहरु । धादिङको निलकण्ठ–२ सिउडीबारका २३ वर्षीय जवान राजाराम रानामगरको प्याराग्लाइडिङ उडानका क्रममा सोमबार दिउँसो मृत्यु भएको थियो । विगत १ महिनादेखि पोखरामा प्याराग्लाइडिङ तालिम लिइरहेका राजारामले आइतबार सोलो (एकल) उडान भरेका थिए ।
फेवाताल माथिबाट उडेका राजाराम फेवातालमा गएर डुब्न पुगे । नेपाली सेनाले तालिमकै क्रममा सम्भावित दुर्घटनाबाट उद्धार गर्न तालमै टोली खटाएको थियो । फेवातालमा डुबेका राजारामलाई क्षणभरमै सेनाको टोलीले उद्धार ग¥यो, पोखराकै रानीपौवा स्थित सैनिक अस्पतालमा उपचारका लागि लगे ।
अस्पतालमा पुग्दा राजारामको मृत्यु भइसकेको थिएन । नेपाली सेनाको पश्चिम पृतनाका सुचना अधिकृत सेनानी प्रेमप्रसाद पौडेलका अनुसार अस्पतालको आकस्मिक कक्षमा उनको उपचार भइरहेको थियो । राजाराम बोल्न सक्ने अवस्थामा थिएनन् । उनको उपचारकै क्रममा मृत्यु भएको सेनानी पौडेलले बताए ।
राजारामको कार्यक्षेत्र पोखरामा थिएन । उनी कार्यरत कालीजंग गण अहिले रसुवामा कार्यरत छ । गत दशैंमा छुट्टीमा घर पुगेका थिए, राजाराम । उनका बुबा कुलबहादुर रानामगरका अनुसार राजारामले त्यतिबेला १५ दिनको छुट्टी आएको बताएका थिए ।
घर बसेको १०÷१२ दिनमै राजारामलाई पल्टनबाट फोन आयो । तालिमका लागि पोखरा जान उनलाई आदेश आयो । उनी दशैं मानेर पोखरा हानिए । त्यसपछि तालिममा सहभागी भए ।
नेपाली सेनाले खेलाडी उत्पादन गर्न ‘एडभेन्चर स्पोर्टस्’ तालिम चलाइरहेको छ । राजाराम एक महिनादेखि यही तालिमका क्रममा प्याराग्लाइडिङ सिकिरहेका थिए । सेनाले यो तालिममा २ जना महिला सहित २३ जनालाई सहभागी गराएको छ । ‘राष्ट्रिय खेलाडी उत्पादनका लागि यो तालिम चलाएका थियौं, खेलाडी छनौटका क्रममा दुर्घटना भयो,’ पौडेलले भने ।
राजाराम सेनामा भर्ती भएको बल्ल ४ वर्ष पुगेको थियो । धादिङमा कक्षा १२ पास भएपछि उनी सेनामा भर्ती हुन रौतहट पुगेका थिए । त्यहीबाट राजाराम सेनामा छनौट भएका थिए । उनका बुबा कुलबहादुर नेपाली सेनाकै हवल्दार भएर अवकाश लिएका थिए भने उनका दाजु ऋषि रानामगर अहिले नेपाली सेनामै छन् ।
राजारामको मृत्यु भएपछि उनका बुवा कुलबहादुर, आमा राधाकुमारी र दाजु ऋषि अहिले पोखरा आएका छन् । उनीहरुलाई नेपाली सेनाले नै पोखरा ल्याएका हुन् । राजारामसँगै प्याराग्लाइडिङ तालिम लिइरहेका जवानहरु पनि प्रतिष्ठानको पोस्टमार्टम भवनमा पुगेका थिए ।
पोस्टमार्टम भवनअगाडि राजारामका आमा राधाकुमारी बोल्न सक्ने अवस्थामा थिइनन् । सँगै तालिम लिइरहेका साथी गुमाउनुको पीडा सहकर्मी सैनिक जवानहरुको मुहारमा देखिन्थ्यो । दुर्घटनाका बारेमा आफूहरुले केही बताउन नसक्ने राजारामसँगै तालिम लिएका एक जवानले बताए ।
राजारामको शव पोखरामै अन्त्येष्टी गर्ने तयारी गरिएको छ । पोस्टमार्टम सकिएपछि परिवारको चाहना अनुसार पोखरामै अन्त्येष्टी गरिने सेनानी पौडेलले बताए । उनले भने, ‘राजारामको शव हामी सैनिक सम्मानका साथ अन्त्येष्टी गछौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->