पोखरा, ५ चैत –बङ्गलादेशको ढाकाबाट उडेको युएस–बाङ्ला जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गर्दा २०७४ फागुन २८ गते दुर्घटना भयो । त्यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सुरक्षा शाखामा कार्यरत विक्रमराज गौतम अहिले पोखरा विमानस्थलको प्रमुख भएर आएका छन् ।
युएस–बाङ्ला विमान दुर्घटना हुँदा चालक दलका सदस्य सहित ५१ जनाको ज्यान गएको थियो भने २० जना घाइते भएका थिए । ३ वर्षअघि त्यो दुर्घटनाको उद्धारमा खटिएका गौतमले बुधबार पोखरा विमानस्थलमा त्यस्तै दृश्य देखे । जुन दृश्यले युएस–बाङ्ला जहाज दुर्घटनाको दृश्य ताजा बनायो ।
पोखरा विमानस्थल बुधबार दिउँसो ४ बजेपछि बन्द भइसकेको थियो । विमानस्थलको कन्ट्रोल टावरमा काल्पनिक जहाज एयर अन्नपूर्ण कल साइन २०५ (एएनएनए २०५)ले आकस्मिक अवतरणको अनुमति माग्यो । विमान चालकले पोखरा टावरलाई खबर गरे, ‘पोखरा टावर अन्ना २०५, दाहिने इञ्जिनमा आगो देखियो । आपतकालीन अवतरणका लागि प्राथमिकता पाउन अनुरोध गर्दछु ।’
पोखरा टावरले जहाज चालकलाई सोधे– ‘जहाजमा बाँकी इन्धन कति छ र कति जना यात्रु छन् ?’
चालकले जवाफ दिए, ‘डेढ घण्टालाई पुग्ने इन्धन छ र यात्रु चालक दलका सदस्य सहित २८ जना छन् ।’ पोखरा टावरले विमान चालकलाई आपतकालीन सेवा तयारी अवस्थामा रहेको जानकारी गराए ।
विमानस्थलको कन्ट्रोल टावरले उद्धार अग्नि निवारण सेवालाई आपतकालीन अवस्थाको जानकारी गराए । विमानस्थलभित्रै रहेको अग्नि नियन्त्रण टोलीले विमानमा रहेको इन्धन र यात्रुका बारेमा जानकारी लिए । थप सहयोगका लागि अन्य जिल्ला आपतकालिन उद्धार समितिलाई जानकारी दियो ।
जहाजमा आएको खराबीेबारे विमानस्थलको सुरक्षामा खटिएको नेपाली सेनाको रेन्जर बटालियन, विमानस्थलमा रहेको अग्नि नियन्त्रण तथा उद्धार टोली, स्वास्थ्य संस्था र अस्पतालहरुलाई आपतकालीन अवस्थाबारे जानकारी दियो । विमानस्थलको आकस्मिक योजना अनुसार ट्याक्सी पार्किङ लगायतका उद्धारका लागि क्रियाशील बने ।
अन्नपूर्ण २०५ ले फेरी विमानस्थलको टावरलाई अर्को सुचना दियो– जहाजको दुबै इन्जिन फेल भयो । जहाज पोखरा विमानस्थल भन्दा ५ माइल पूर्वमा छ र ५ हजार फिट उचाइमा । टावरले विमानस्थलको उत्तरपूर्वी मोहोडा रनवे २२ बाट अवतरण गर्न अनुमति दियो । टावरले विमानस्थलभित्र आपतकालीन अवस्था आएको भन्दै अरु नियमित उडान ढिलो हुन सक्ने सुचना जारी ग¥यो ।
टावरले दिएको अनुमति अनुसार अन्नपूर्ण २०५ विमान रनवे २२ बाट अवतरण त ग¥यो तर विमान चिप्लिएर रनवेको पुर्वतर्फ पेरीफेरी रोड नजिकै पुगेर दुर्घटना भयो । लगत्तै पोखरा विमानस्थलको टावरले दुर्घटनाको साइरज बजाउँछ, विमानबाट भने धुँवाको मुस्लो उड्यो ।
विमानस्थलमा यात्रुको कोलाहल मच्चिन्छ । रुवाबासी चल्छ । विमानको अगाडिको ढोकाबाट ११ जना यात्रु निस्किए । विमानमा ठूलो आगलागी हुन्छ । विमानस्थलको अग्नि नियन्त्रण सेवा आगो निभाउन थाल्छ । दुर्घटनाका घाइते र मृतक राख्न नेपाली सेना र सशस्त्र प्रहरीले व्यवस्था मिलाउँछ ।
विमानमा लागेको आगो २ वटा दमकलले निभाउँछ । सेनाको टोली जहाज भित्र गएर दुर्घटनाका घाइते र मृतकको शव लिएर बाहिर निस्कन्छन् । दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको हुन्छ भने १२ जना यात्रु गम्भीर घाइते हुन्छन् । ११ जना सामान्य घाइते भए । मृतकको शव पोस्टमार्टम गर्न पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइन्छ । बाँकी घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १४ जना र फेवासिटी अस्पतालमा ९ जना उपचारका लागि लगिन्छ ।
गम्भीर घाइते भएका एक जना बिरामीलाई रनवे ०४ मा उद्धारका लागि राखिएको प्रभु एयरको हेलिकप्टर मार्फत उद्धार गरिन्छ । विमान दुर्घटना पश्चात यात्रुका आफन्त विमानस्थल आएर आफन्तका बारेमा सोधीखोजी गर्छन् । वायु सेवा कम्पनीले यात्रुका बारेमा जानकारी दिन्छ । दुर्घटनामा परेका सबै यात्रुको उद्धार गरी पुन संचालन गर्न विमानस्थलले तयारी थाल्छ ।
पोखरा विमानस्थलमा बुधबार देखिएको यो दृश्य यथार्थ होइन । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा हवाइजहाज आपतकालिन उद्धार अभ्यासमा देखिएको थियो । उक्त अभ्यासमा विमान दुर्घटना हुँदा कसरी छिटो भन्दा छिटो उद्धार गर्ने भनेर अभ्यास गरेको विमानस्थलका सुचना अधिकारी देवराज सुवेदीले बताए ।
प्रदेश सरकारको १० लाख रुपैया सहयोगमा गरिएको ३ दिने अभ्यासमा पोखरा नागरिक उड्यन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अस्पताल तथा स्वास्थ्य संस्था, महानगरीय वारुण यन्त्र, रेडक्रस, प्रशासन, वायुसेवाका प्रतिनिधी र एम्बुलेन्स चालकहरु सहभागी थिए ।
विमानस्थलमा अभ्यास गरिएको काल्पनिक दुर्घटनाको यो दृश्य काठमाडौंमा युएस–बाङ्ला दुर्घटना हुँदा देखिएको दृश्यसँग ठ्याक्कै मिलेको विमानस्थल प्रमुख गौतमले बताए । ‘साँच्चै दुर्घटनामा पनि यस्तै हुन्छ, तत्काल उद्धारमा खटिन्छौं’, गौतमले भने, मलाई त युएस–बाङ्ला दुर्घटनाको दृश्य झलझली आयो ।’
निरुत्तर बाहेक विकल्प छैन– मुख्यमन्त्री
हवाइजहाज आपतकालिन उद्धार अभ्यास हेर्न पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारसँग निरुत्तर बाहेक विकल्प नभएको बताए । ‘कतै विपद् आइहाले सरकार निरुत्तर हुनु बाहेक अर्को विकल्प छैन’, गुरुङले भने, ‘सरकारसँग विपद्का बेला उद्धार गर्न आश्यक स्रोत र साधनको कमी छ ।’
२०७२ सालको महाभूकम्पले विपद् व्यवस्थापनका लागि तयारी रहन सिकाए पनि स्रोत र साधन जुटाउन नसकेको उनले बताए । जनशक्ति भएपनि विपद् पूर्वाधारको अभाव भएको भन्दै मुख्यमन्त्री गुरुङले भने, ‘हामीसँग जनशक्ति पर्याप्त छ तर स्रोत साधनको भने कमी छ ।’
विपद् व्यवस्थापनका लागि वर्षको एक दिन मात्र अभ्यास गरेर नहुने भन्दै उनले समय– समयमा तालिमको व्यवस्थापन गर्न सुझाव दिए । अन्नपूर्ण आधार शिविरमा गत बर्ष हिमपहिरोमा परेर विदेशी पर्यटक सहितले ज्यान गुमाएको घटना स्मरण गर्दै मुख्यमन्त्री गुरुङले त्यतिबेला स्रोत साधनको अभाव हुँदा खोजी र उद्धार गर्न नसकेको बताए ।





