पर्वत, ९ चैत– पर्वतको फलेबास नगरपालिकाले श्रमिकहरुलाई पेन्सन परिचयपत्र बाँड्न सुरु गरेको छ । नगरले वडा नम्बर ९ भगराका ४० जना श्रमिकलाई पहिलोटक पेन्सनपट्टा बाँडेको हो ।
पट्टा पाएका श्रमिकले अब हरेक महिना आफ्नो खर्च कटाएर ५ सय रुपैयाँ जम्मा गर्नेछन् । उनीहरुले जम्मा गरेको पैसामा नगरपालिकाले ५ सय थप्नेछ । उपप्रमुख लक्ष्मी अधिकारीका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा योजनासँगको सहकार्यमा यो अभियान थालिएको हो । ती श्रमिकले पेन्सन भने ६० वर्षपछि मात्रे पाउनेछन् । ‘वैदेशिक रोजगारीमा नगएको र आम्दानी नभएकाले दिइने हो’,उपमेयर अधिकारीले भनिन्,‘मजदुरले कति योगदान गर्छ, त्यसकै आधारमा पेन्सन पाइने हो ।’ उनका अनुसार ६० वर्ष उमेरभन्दा माथिकालाई यो कार्यक्रममा समावेश गरिएको छैन । प्रधानमन्त्री केपी ओलीले ‘नयाँ युगको सुरुवात’ भन्दै यो कार्यक्रम लागु भएको घोषणा गरेका थिए । निजी क्षेत्रका केही व्यावसायिक फर्महरु यो योजनामा सामेल भएपनि नगरपालिकाले नै योजना कार्यान्वनयमा ल्याएको भने पहिलो हो ।





