काठमाडौं, १० चैत– पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको आठ महिनामा १३६ विदेशी नागरिकलाई निष्कासन गरिएको हो । पर्यटक भिसामा नेपाल प्रवेश गरी विभिन्न गतिविधिमा संलग्न भएका विदेशी नागरिकलाई निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक रमेश केसीले जानकारी दिए । उनका अनुसार, कारवाहीस्वरुप निष्कासित हुनेमा ओभरस्टे, विदेशी मुद्रा अपचलन, बैंकिङ कसूर, लागुऔषधलगायत कसूरका धेरै रहेका छन् ।
विभागका अनुसार पछिल्लो समय निष्कासनमा पर्नेमा चिनियाँ नागरिक धेरै छन् । निष्कासित हुने विदेशी नागरिकलाई कसूरका आधारमा एक वर्षदेखि दश वर्षसम्म नेपाल प्रवेशमा रोक लगाइएको महानिर्देशक केसीले बताए ।
आठ महिनामा विभिन्न १३ शीर्षकमा ४२ हजारभन्दा बढी विदेशीलाई नेपाल प्रवेशका लागि भिसा जारी गरिएको छ । विभागले आठ महिनामा विभिन्न शीर्षकमा भिसा जारी गरेर ४२ करोड २६ लाख २९ हजार राजश्व संकलन गरेको छ ।





