शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

अन्नपूर्णको चुचुरोतिर लम्मेका पाइलाहरु

अन्नपूर्णको चुचुरोतिर लम्मेका पाइलाहरु


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २५ २०७७, बुधबार

पोखरा, २५ चैत– छ जना नेपाली महिलाको टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरी इतिहास रच्ने भएको छ ।हालसम्म कुनै पनि नेपाली महिलाले आरोहण गर्न नसकेको ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण (पहिलो) आरोहणमा यसअघि नै थुप्रै रेकर्ड बनाएका अनुभवी महिलाहरु सरिक हुनलागेका हुन् । आरोहणका लागि माया शेर्पा, डावुटी शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता, दावा याङ्जुम शेर्पा, शर्मिला स्याङ्तान र पूर्णिमा श्रेष्ठ अन्नपूर्ण बेसक्याम्प पुगिसकेका छन् । यी सबैले विश्वकै अग्लो सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।यीमध्ये जसले अन्नपूर्णको शिखरमा पहिलो पाइला राख्छ, उनी नै अन्नपूर्णको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बन्नेछिन् ।उनीहरुले चाहेमा एकसाथ चढ्न पनि सक्नेछन् जसरी पाकिस्तानको केटू हिमालमा यसैवर्ष नेपाली आरोहीले एकैसाथ शिखर चुमेका थिए ।अन्नपूर्णमा पहिलो पाइला भने फ्रान्सेली नागरिक मौरिस हर्जोगले टेकेका थिए । सोही दिन उनीसँगै अर्का फ्रान्सेली नागरिक लुइस ल्याचनल पनि गएका थिए ।उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् वि.सं. २००७ जेठ २१ गते यो हिमालको पहिलोपटक सफल आरोहण गरेका हुन् ।पहिलो नेपालीको रुपमा भने सन् १९७७ मा सोनाम वोलाङ शेर्पाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए। संसारका ८ हजार मिटर अग्ला १४ मध्ये एउटा हिमाल अन्नपूर्ण चढ्नु साह्रै जोखिमपूर्ण र कठिन मानिन्छ ।८ हजार ९१ मिटर अग्लो यो हिमाल आरोहणको ७० वर्ष पुग्दा नेपाली महिला अहिलेसम्म पुग्नसकेका छैनन्।इम्याजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन नेपाल प्रालिमार्फत डावुटी शेर्पा, पासाङ ल्हामु शेर्पा (अकिता), दावा याङ्जुम शेर्पाले हिमाल आरोहण गर्दै छन् ।
बरिस्टा दावा

इम्याजिन नेपालका अनुसार अहिले ३ जना पहिलो र दोस्रो क्याम्पसम्म जाने र झर्ने अभ्यास गरिरहेका छन् ।हिमालको चुचुरोमा कहिले पुग्ने भन्ने मौसममा भर पर्छ । हालसम्म मौसम सफा नभएकाले उनीहरुले कहिले आरोहण पूरा गर्छन् भन्न नसकिने इम्याजिन नेपालले जानकारी दिएको छ । त्यस्तै, पिक प्रमोसन नेपाल एजेन्सीमार्फत माया शेर्पाले पनि अन्नपूर्ण आरोहण गर्दै छिन् ।

पिक प्रोमोसन नेपालका निर्देशक पासाङ शेर्पाले हाल अन्नपूर्ण हिमालको बेसक्याम्प २ सम्म बाटो बनाउने (डोरी टाग्ने) काम भइरहेको छ । अन्नपूर्ण बेसक्याम्प पुगिसकेकी माया चुचुरोमा पुग्ने लक्ष्यका साथ अभ्यास गरिरहेकी छिन् ।

सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पा अहिलेसम्म कुनै नेपाली महिला नपुगेकाले यो वर्ष उनीहरुले इतिहास रच्नेमा विश्वस्त छन्।

पूर्णिमा श्रेष्ठ
पूर्णिमा श्रेष्ठको आरोहणलाई सहयोग गरिरहेको उनको कम्पनीले को पहिला चढ्छ भन्न नसकिने बताएको छ ।‘६ जना नेपाली चेली आरोहणका लागि अन्नपूर्ण पुग्नुभएको छ’, शेर्पाले नेपालखबरसँग भने, ‘हिमालको चुचुरोमा कसले पहिला चढ्छ भन्ने नै ग्यारेन्टी हुँदैन। जसले सक्छ उसले गर्ने हो ।’
जो इतिहास रच्दै छन्
अन्नपूर्ण हिमालको शिरपाउ नाप्न तम्तयार ६ जनाको टोलीमा पत्रकारदेखि मिस शेर्पासम्म छन् ।पासाङ ल्हामु, दावा याङ्जुम शेर्पा र माया शेर्पाले २०१४ मा पाकिस्तानको ८ हजार ६ सय ११ मिटर अग्लो केटु हिमाल आरोहण गरी पहिलो नेपाली महिलाको रेकर्ड राखेका थिए ।

पूर्णिमा श्रेष्ठ एक फोटोग्राफर हुन् । उनले यसअघि सगरमाथा, मनास्लु र अमादब्लम हिमाल आरोहण गरिसकेकी छिन्। पूर्णिमा गोर्खा आरुघाटकी स्थायी बासिन्दा हुन् ।‘अहिले मसँग हिम्मत छ, कुनै महिला नपुगेको र आफ्नै प्रदेशको हिमाल भएकाले पनि योपटक आरोहण गर्न लागेकी हुँ’, अन्नपूर्ण आरोहणमा जानुअघि पोखरामा उनले भनेकी थिइन् ।उनलाई अन्नपूर्ण आरोहणमा सेभेन समिट ट्रेकका गाइडहरुले सहयोग गर्दै छन्। श्रेष्ठलाई गण्डकी प्रदेश सरकारले अन्नपूर्ण आरोहणका लागि आर्थिक सहयोग समेत गरेको छ ।

माया शेर्पा

माया शेर्पा नेपालको परिचित पर्वतारोही हुन् ।उनी ६ हजार ८१२ मिटरको अमादब्लाम हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला समेत हुन् । ८ हजार मिटरमाथिको चोयु, ७ हजार ११५ मिटरको पुमरी, ७ हजार ११० मिटरको बरुत्से हिमाल आरोहण गरिसकेकी छिन् । सन् २००६ र २०१६ मा सगरमाथाको दक्षिणी र २००७ मा उत्तरी मोहडाबाट हिमाल आरोहण गरेकी थिइन् ।सन् २०१६ मा मनास्लु हिमाल समेत आरोहण गरेकी थिइन् ।माया शेर्पा आउटवेयर ट्रेक्स एण्ड एक्सिपिडिसनकी म्यानेजिङ डाइरेक्टर समेत हुन् ।

शर्मिला स्याङ्तान

शर्मिला स्याङ्तान छ जनाको टोलीकी एक सदस्य हुन् । उनले पनि सगरमाथा र मनास्लु हिमाल आरोहण गरिसकेकी छिन् ।काभ्रे, रोसी गाउँपालिकाकी शर्मिलाले युरोपको सबैभन्दा अग्लो हिमाल एल्ब्रस पनि आरोहण गरेकी छिन् ।आठ हजार मिटरमाथिका १४ हिमाल आरोहण गरेर आफ्नोसँगै देशको नाम राख्ने उनको लक्ष्य छ ।
दोलखा रोवालिङकी दावा याङ्जुम शेर्पा पहिलो नेपाली इन्टरनेश्नल गाइड हुन् । उनले २००९ मा याला पिक, २०११ मा अमादब्लाम, २०१२ मा सगरमाथा र २०१४ मा चोयु हिमाल सफल आरोहण गरेकी थिइन् ।

पासाङ ल्हामु शेर्पा

यता पासाङ ल्हामु शेर्पा अकिताले पहिलो पटक नाङपाई गोसम २ हिमाल आरोहण गरेकी हुन् । सन् २००७ मा सगरमाथा आरोहण गरेकी अकिताले २०१४ मा केटु हिमाल आरोहण गरेकी थिइन्। उनीसँग याला पिक, अमादब्लाम, लोबुचेलगायतको हिमाल आरोहण गरिसकेको अनुभव छ ।सोलुखुम्बुमा जन्मिएकी उनले नेपालबाहेक अमेरिका, अर्जेन्टिना, फ्रान्स र पाकिस्तानमा माउन्टेनियरिङ गाइडको रुपमा समेत काम गरेकी छिन् ।

यो टोलीकी अर्की सदस्य डावुटी शेर्पा (बरिष्टा दावा) २०१८ की मिस शेर्पा हुन् ।क्याफे मितिनी बौद्धकी सञ्चालक समेत रहेकी शेर्पाले २०१८ मा सगरमाथा आरोहण गरेर विश्वकै अग्लो शिखर चुम्ने पहिलो बरिष्टा बनेकी थिइन् । दोलखाकी उनले २०१८ मै अमादब्लाम हिमाल समेत आरोहण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->