बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

को, कस्को र कस्तो पत्रकार हो चिनौं अनि चुनौं

को, कस्को र कस्तो पत्रकार हो चिनौं अनि चुनौं


  • Dhorpatan News
  • चैत्र २५ २०७७, बुधबार

नारदीय कर्म हो, पत्रकारिता । पत्रकारिताले सत्य उद्घाटित गर्छ, तथ्य पस्कन्छ र बोल्न नसक्नेहरुका बोली मुखरित गर्छ÷ गर्नुपर्छ । सदैव खबरदारीले नै खबरकारिता चल्छ । पत्रकारिता चाकडी र चाप्लुसीमा फस्दैन, गुलियोको लोभमा पर्दैन र अध्याँरोमा हुने कारोबारको भण्डाफोर गर्छ । सत्तालाई निरन्तर खबरदारी गर्नु पत्रकारिताको खास विशेषता हो । त्यसले पत्रकारितालाई राज्यको चौथो अंग र ‘रखबारी कुकुर’को संज्ञा दिइएको हो । पवित्र पेशा हो, पत्रकारिता । पत्रकारिता पूजा हो,निष्ठा हो र आचरण पनि हो । पत्रकारिताले कानूनले बर्जित गरेको मात्रै नभई नैतिकताको ‘लक्ष्मणरेखा’ पनि मिच्दैन नेपालको पत्रकारिताको इतिहास लामो छैन तर लोकतन्त्रको पक्षमा यसले निभाएको भूमिका सह्रानीय छ । लोकतन्त्रको लागि पत्रकारहरुले जेल–नेल खाएका छन् । दलहरुलाई खबरदारी गर्दै लोकतन्त्रको पक्षमा उम्भ्याएका छन् । यो गर्विलो इतिहासलाई वर्तमानको पत्रकारिताले भने न्याय गर्न सकेको छैन ।
तर, यी र यावत् विषयहरु फगत ‘भन्ने कुरा’ भएका छन् । पत्रकारिता आफैमा मर्यादित र निष्पक्ष हुन सकेको छैन । पत्रकारिताको आवरणमा बढेको ‘कर्पोरेट कल्चर’ र चाटुकारिता अनि दलालीले यो पेशा बदनाम बनेको छ । सत्तालाई निरन्तर खबरदारी गर्नुपर्ने यो पेशा आफै तालुकदारीमा उत्रेको छ । पत्रकारको आवरणमा गलत धन्दा चलाउनेहरु उत्तिकै बढेका छन् । अन्यत्र जागिर खान नसक्ने ‘स्वाँठ’हरुको अखडामा परिणत भएको छ, पत्रकारिता । यसले विश्वास र इमान मात्र गुमाएको छैन, बदनामी कमाएको छ । राज्यको चौथो अंगबाट स्वखलित पत्रकारिता राज्यको कोपभाजन र आफैभित्रको गलत प्रवृत्तिको कारण धरापमा परेको छ । पत्रकारिता केही व्यक्तिको गलत धन्दा गर्ने माध्यम बनिरहँदा इमान्दारहरुले पनि बदनामी कमाएका छन् । असली पत्रकारहरु रोजिरोटीको लागि भौंतारिहरँदा सत्ता रिझाउनेहरुले अकुत सम्पत्ति कमाएका छन् । उनीहरुले पत्रकारिताको आवरणमा पत्रकारकै पनि शोषण गरेका छन् । अर्कोतर्फ मिडिया संचालकहरु यो मामिलामा झन निर्मम देखिएका छन् । गएको वर्ष यही बेला लकडाउन सुरु हुनासाथ मिडिया संचालकरुले मजदुर पत्रकारको पीडा बिर्सिए । पत्रकारको लकडाउन अघिदेखि रोकिएको तलब भुक्तानी त गरेनन् नै जागिरबाटै निकाले । पत्रकारिताकै माध्यमबाट अकुत सम्पत्ति कमाएको चटक्कै बिर्सिएर निर्मम बनेका मिडिया संचालकहरु अहिले पनि यो वा त्यो बहानामा पत्रकारको शोषण गरिरहेका छन् । नभने पनि नेपाली पत्रकारिताको वास्तविकता यही हो । यो प्रवृत्तिविरुद्ध पत्रकार स्वयंले आवाज उठाउँदै आए पनि सम्बन्धित संघ÷संस्थाको भूमिका भने सन्देहपूर्ण रहेको छ । पत्रकारको नाममा खोलिएका दलीय संगठन र साझा भनिएको पत्रकार महासंघमा विचौलियाहरु हावी हुँदा यो अवस्था आएको हो । अर्काको पीडाको समाचार बनाउने पत्रकार आफै पीडित भएपछि के होला ? उनीहरुले कसरी सत्य समाचार पस्केलान् ? पत्रकारितामा राम्रा मान्छेको कसरी प्रवेश होला र यसलाई कसले मुल पेशा बनाउना ? प्रश्न यही हो । नेपाल पत्रकार महासंघको केन्द्रदेखि जिल्लासम्म नेतृत्व चयन भइरहँदा पत्रकारले पहिले आपूmलाई हेर्नुपर्छ । आफ्नो हैसियत र अवस्थाको आंकलन गर्नुपर्छ र पेशागत मर्यादा कायम गर्ने नेतृत्व चयन गर्नुपर्छ मालिक पत्रकार, दल आवद्ध पत्रकार, फलानोका पत्रकार, चाटुकार पत्रकारजस्ता विभिन्न खाले पत्रकारहरुको उपमा लागेकाहरु हैन कि सही नेतृत्व छनौटमार्फत् पत्रकारितालाई मर्यादित बनाउनुपर्छ । पत्रकारिता मर्यादित भए पेशा सुरक्षित हुन्छ भन्ने बुझेर सत्ताको चाकडी गर्ने, विचौलिया र मौका पर्नासाथ रुप फेर्नेहरुलाई नेतृत्वमा जानबाट रोक्नुपर्छ । पत्रकारिता लोकतन्त्रको रक्षक पनि हो । यावत् समस्या छन् तर पनि लोकतन्त्रमा मात्रै पत्रकािरता फस्टाउँछ । लोकतन्त्र मास्नेहरुका विरुद्ध उभिने बेला यही हो । उनीहरुको विरुद्ध उभिऔं । बेलालाई सदुपयोग गर्न नसके फेरि पनि पछुताउनु पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->