बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सत्ता हत्याउन फोहरी खेल नखेलियोस्

सत्ता हत्याउन फोहरी खेल नखेलियोस्


  • Dhorpatan News
  • चैत्र २९ २०७७, आइतबार

प्रदेश सरकारमध्ये सबैभन्दा बलियो मानिएको गण्डकी सरकार धर्खराएको छ । माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिएसँगै सरकारको टाउकोमाथि ‘अविश्वासको प्रस्तावरुपी ‘तरबार झुण्डिएको छ । प्रदेश सरकारको नेतृत्व गरेको एमालेसँग अहिले २८ जनामात्रै सभासद छन् । माओवादी केन्द्रका मन्त्रीहरु फिर्ता भएसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यहाँको सरकारले विश्वासको मत लिनुपर्ने तर्क गरिरहेको छ । तर्कसँगै प्रतिपक्षले माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा नेपालसँग सरकार परिवर्तनबारे छलफल चलाएको छ । स्पष्ट छ, यहाँको सरकार अल्पमतमा छ । माओवादी केन्द्रले जुनसुकै बेला पनि समर्थन फिर्ता लिने संकेत दिएको छ । जनमोर्चा नेपाल सरकारको समर्थनमा छ तर उसले गर्ने निर्णयले सरकार जुनसुकै बेला पनि ढल्न सक्छ । राष्ट्रिय राजनीतिको विग्रह गण्डकीमा आइपुग्दा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनमोर्चा नेपाललाई आफ्नो पक्षमै राख्न दौडधूप गरिरहेका छन् । हिजो दुई तिहाईसहितको सरकार चलाएका मुख्यमन्त्रीलाई सत्ता जोगाउन समर्थन जरुरी मात्र छैन, एमालेकै प्रतिनिधित्व गर्ने तर अहिले माधव नेपाल समूहमा गएका एकजना सभासद एवं अर्का स्वतन्त्र सभासदको विश्वास पनि आवश्यक देखिएको छ । शनैःशनैः सबैभन्दा बलियो देखिएको प्रदेश सरकार अंकगणितीय चक्रब्यूहमा फस्ने सम्भावना बढ्दा अस्थिरता निम्तिएको छ । सरकारका कामहरु प्रभावित बनेका छन् ।
यहाँ सत्ता र प्रतिपक्षबीच ठूलो कटुता पनि थिएन । कोभिडकालमा सार्वजनिक महत्व प्रस्ताव दर्ता गर्दा र विशेष अधिवेशन बोलाउँदा भएको कटुतालाई संसदीय अभ्यास मान्ने हो भने यहाँको प्रतिक्ष गौप्राणी नै थियो । मुख्यमन्त्री र यहाँको सरकारसँग आफूले चाहेका काम गर्ने अवसर थियो । स्थापनाको तेस्रो वर्ष पूरा गर्दैगर्दा सरकारबाट प्रस्तुत फेहरिस्तमा दीर्घकालीन महत्वका कार्यक्रमहरु समेटिए पनि गति सुस्त देखिन्थ्यो । विकास निर्माणभन्दा सत्ता जोगाउने काममा व्यस्त हुँदा ती कामहरुमा अवरोध आएको छ । अर्कोतर्फ तत्कालीन नेकपालाई जनताले स्थिरताको लागि दिएको अभिमतको अवमूल्यन हुने हिजोका संसदीय विकृति पुनः बल्झने सम्भावना बढेर गएको छ । सरकारलाई खबरदारी गर्ने र आवश्यक पर्दा नेतृत्वको लागि तयार रहनु प्रतिपक्षको धर्म हो । अहिले प्रतिपक्षले चलाएको छलफललाई अनपेक्षित मान्नु हुँदैन । बहुमत सिद्ध गर्नसके उसलाई सरकार चलाउने छुट छ । तर, यसका लागि स्वच्छ र पारदर्शी प्रक्रिया अवलम्बन गर्नुपर्छ । पर्दाभित्र बसेर,लोभलालच देखाएर,षड्यन्त्र गरेर सत्तामा जानु भनेको विकृति निम्त्याउनु हो र आफू पनि कमजोर बन्नु हो भन्ने उसले बुझ्नुपर्छ । अर्कोतर्फ , बहुमत भइञ्जेल सत्तामा बस्ने प्रणाली नै बुहमतीय हो । आफू अल्पमतमा परेपछि छाड्नुपर्छ । सत्ता जोगाउन अवान्छित क्रियाकलापहरु गर्ने सम्भावना सत्तासँग बढी हुन्छ । सत्ताले अवाञ्छित क्रियाकलाप गर्दा सत्ता त जोगिएला जनताको मनबाट बाहिरिन्छ भन्ने उसले पनि मनन गर्नुपर्छ । लोक हसाउने, जनताको मन दुखाउने र अहिलेको व्यवस्थालाई नै बदनाम गराउने कार्य कतैबाट नहोस् । सत्ता हत्याउन फोहरी खेल नखेलियोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->