बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

आगोलागी र सर्तकता

आगोलागी र सर्तकता


  • Dhorpatan News
  • चैत्र ३१ २०७७, मंगलबार

सदरमुकाममा आगोलागीले आइतवार एउटा फर्निचर उद्योगमा २०लाखबढी क्षति पुगेको छ । केही दिन अघि एक रेष्टुरेन्टमा लागेको आगोले १० लाखबढीको क्षति पुग्यो । आगोले बागलुङ कालीका मन्दिरको जंगल देखि दर्जनौं स्थानमा क्षति पुगेको छ ।
हावाहुरी र सुख्खा मौषम भएकोले आगोलागी हुने बेला पनि हो । तर आगोलागी हुँदा नियन्त्रणमा लिने केही सूचक र उपकरण हामीमाझ छैनन् । बागलुङमा एउटा मात्रै दमकल छ । त्यो पनि बेलाबेला बिग्रन्छ । खोजेको बेला भेटिदैन । संयोगले आइतवारको घटनामा दमकल भेटियो । तर एउटा दमकलले नपुग्ने भएपछि बेनी र कुश्माबाट दुइवटा दमकल झिकाइयो । उनीहरु आएर आगो निभाउने बेला सम्म लाखौंको क्षति भैसकेको थियो ।
हरेक पालिकामा सुबिधा सम्पन्न सवारी साधनहरु छन् । तेलखर्च र मर्मतमा लाखौं खर्चपनि भएका छन् । तर आकस्मिक सेवाकालागि दमकल छैनन् । सबैपालिकामा एकएकवटा दमकल भएमा आगोलागि हुँदा निभाउन सजिलो हुनेछ । त्यस तर्फ हाम्रा पालिकाले ४ बर्ष सम्म ध्यान दिएको देखिएन । अर्को दमकल जाने गरी हाम्रा संरचना बनेका छैनन् । साँघुरा गल्लीहरु छन् । ती गल्लीमा दमकल छिर्नै सक्दैनन् । झिर्दापनि कतिपय स्थानमा पोल, तारहरु व्यवस्थापन गरिएको छैन । फर्निचरका आगो निभाउन गएका दमकलले कैयौं तारहरु चुडालेको छ । व्यवस्थापनमा ध्यान नदिंदा यस्ता घटना भैरहन्छ् ।
घर बनाउने क्रममा सेट व्याक छाड्ने र गल्लीहरु फराकिलो बनाउने नेपाल सरकारको योजनामा नगरपालिकाका जनप्रतिनिधि देखि नगरबासी सबैले असहयोग गरेका छन् । तर दुर्घटना पर्दा खोजी उद्दारमा ती गल्लीहरुनै अभिसाप भैरहेका छन् । त्यस तर्फ समयमा ध्यान दिन जरुरी छ । नगरपालिकाले ल्याएको मापदण्ड समेत पालना नगरेर नगरबासीले जथाभावी घर बनाएका छन् । भोली उनीहरुकै लागि उद्दार गर्न खोज्दा ती गल्लीहरुले धोका दिनेछन् । आगोलागी नियन्त्रण गर्न सक्नेगरी संरचना निर्माण गर्ने, भूकम्प प्रतिरोधी घर बनाउने, घर वरिपरि केही खुला स्थान राख्ने सरकारी नीतिलाई वेवास्ता गर्दा आँफैले दुःख पाउने अबस्था आएको हो । यो बिषयमा नगरले चासो राख्नुपर्ने आबस्कता एकातर्फ छ भने अर्कोतर्फ आम नागरिकले पनि आप्m्नो सुरक्षाको बाटो रोज्नुपर्ने देखिन्छ ।
नेपालीहरुले कानूनी रुपमा वा दवावपूर्ण रुपमा रोक्न खोज्दा मात्रै काम गर्ने पद्दती दुर्घटनाको जोखिम हो । स्वतस्फुर्त कानूनको पालना गर्ने चलन नेपाली समाजमा छैन । त्यसैले स्थानीय पालिकहरु यसकालागि जुरमुराउनुपर्ने बेला आएको छ । बेला बेलामा नेपाली सेनाले प्रद्र्धशनी गरेर आगोलागि, भूकम्प र अन्य प्रकोपका घटनामा बच्ने उपाया, तत्काल चाहिने उपकरणको व्यवस्थापन जस्ता बिषय सम्झाउँदापनि हामीले सम्झन सकेका छैनौ । सदरमुकाममै भएका घटनामा त समयमा उद्दार गर्न नसक्ने हाम्रा संयन्त्र र उपकरणले ग्रामीण क्षेत्रमा भएका दुर्घटनामा कसरी संहाल्न सक्लान ? यो बिषय बिचारणीय छ । सुख्खा मौषममा सबैभन्दा बढी आगोलागिकै घटना हुने भएकोले बिद्युतीय सामानको सुरक्षा गर्ने, समयमा बन्द गर्ने, खोजी उद्दारका सामान तयारी अबस्थामा राख्ने काम नागरिकको हो । स्थानीय पालिकाले दमकलको व्यवथापन गर्ने, वडा तहमा अन्य उद्दारका सामाग्री राख्ने र टोलटोलमा जागरण अभियान चलाउने काम गर्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->