आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

रातो पैह्रामा पोखराकै अग्लो बन्जी

रातो पैह्रामा पोखराकै अग्लो बन्जी


  • ढोरपाटन सम्वाददाता
  • बैशाख १ २०७८, बुधबार
सांकेतिक तस्विर

पोखरा, १ वैशाख– पोखरा रातोपैह्रामा बुधबारदेखि शाहसिक खेल बन्जी सञ्चालनमा आएको छ । गो बन्जीको फ्रेन्चाइज कम्पनी बन्जी नेपालले सञ्चालनमा उक्त बन्जी साइट सञ्चालनमा ल्याएको हो । बन्जीका लागि सोमबार सफल परीक्षण पनि भइसकेको बन्जी नेपालले जनाएको छ ।
पोखरा बजारबाट नजिकै रहेकोले पोखरामा एक दिनको बसाइँमा पनि शाहसिक खेल पारखीले बन्जीको मजा लुट्न सक्ने गरी सञ्चालनमा ल्याइएको बन्जी नेपालका अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिए । ‘पोखराको प्राइम लोकेसनमा छौं । त्यसमाथि यो लेकसाइडदेखि जम्मा ३ किलोमिटरमात्रै छ,’ उनले भने, ‘आइएसओ स्टान्डर्डमा यो बन्जी निर्माण गरिएको छ ।’
अध्यक्ष भट्टराईसहित व्यवसायी राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, कल्पना पौडेल र भूपालबहाहदुर बराल क्षेत्रीले संयुक्त ८ करोड २५ लाख रुपैयाँ लगानीमा बन्जी सञ्चालनमा आएको हो । एकैस्थानबाट १ सय १ र १ सय ५ मिटर उचाइमा बन्जी गर्न सकिने गरी भौतिक पूर्वाधार निर्माण गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
‘क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्प गर्न ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ,’ भट्टराईले भने, ‘सेती नदीको खोचबाट हिमशृंखला हेर्दै बन्जी जम्प गर्न पाइने भएकाले आकर्षण बढ्ने विश्वास लिएका छौं ।’ उनले एकै ठाउँबाट २ फरक उचाइमा बन्जी गर्न पाइने नेपालकै पहिलो बन्जी जम्प साइट भएको दाबीसमेत गरे ।
बन्जी नेपालबाट पहिलो बन्जी गो बन्जीका संस्थापक बिउ रिटालिकले गरेका हुन् । गो बन्जीको विश्वभर ११ वटा फ्रेन्चाइज बन्जी कम्पनी सञ्चालनमा छन् । ‘चिनमा रहेको विश्वकै अग्लो २ सय ६० मिटरको बन्जी पनि गो बन्जीकै हो,’ उनले भने ।
३ सेकेन्ड फ्रि फल रहेको बन्जीको आनन्द लिनका लागि शाहसिक खेलप्रेमीले ६ हजार रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्दछ । तर, बन्जीको सुरुआती अफरमा २५ प्रतिशत छुट दिइएको अध्यक्ष भट्टराईले जानकारी दिए । उनले फोटो÷भिडियोका लागि भने थप शुल्क १२ सय रुपैयाँ लाग्नेसमेत बताए ।
एक वर्षमा ६ हजार र प्रतिदिन ४० जनालाई बन्जी गराउने लक्ष्य राखेको कम्पनीले ५ वर्षभित्र लगानी सुरक्षित गरिसक्ने लक्ष्य राखेको छ । योसँगै पोखरामा २ वटा बन्जी कम्पनी सञ्चालनमा आएका छन् । यसअघि पोखराको हेमजामा एउटा बन्जी कम्पनी सञ्चालनमा छ । यो बन्जी सञ्चालनमा आएसँगै पोखराको दोस्रो अग्लो बन्जी जम्प साइट बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->