बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जनताकै हातमा लोकतन्त्रको भविष्य

जनताकै हातमा लोकतन्त्रको भविष्य


  • Dhorpatan News
  • बैशाख १२ २०७८, आइतबार

लोकतन्त्रको दुहाई दिन त जसलाई पनि सजिलो हुन्छ । तर, लोकतान्त्रिक भइराख्न जति अप्ठ्यारो काम अरु हुन सक्दैन । नेपालमा पहिलो पटक २००७ सालमा स्थापना भएको लोकतन्त्र तत्कालिन राजा महेन्द्रद्धारा २०१७ मा खोसियो ।
महेन्द्रले खोसेको शिशु लोकतन्त्रको घाँटी त्यतिबेलासम्म थिचियो, जतिबेलासम्म जनताले लोकतन्त्रको श्वास फेर्न आवश्यक महशुस गरेनन् । पञ्चायतकालका रुपमा नेपाली राजनीति झण्डै ३० वर्ष सञ्चालन भयो, जसले नेपालीलाई बोल्ने, लेख्ने, संगठन गर्ने र विरोध जनाउने अधिकारबाट बञ्चित गरायो ।
जब २०४६ साल आयो, आम नागरिकले स्व्तन्त्रताका लागि क्रान्ति गर्ने सुषुप्त चाहना सडकमा प्रष्फुटित भयो । राजाले २०४७ सालमा नेपालमा लोकतन्त्रको पुनस्र्थापना गरिदिए । विश्वमा एकमात्र हिन्दु राजतन्त्रको उपमा पाएको राजाले यसरी ‘लोकतन्त्र भन्दा माथि’ आफूलाई राखेर दोस्रो पटक लोकतन्त्र पुनस्र्थापना त गरिदिए ।
लोकतन्त्रको आधारभूत मान्यता नै जनता हुन् । राजाले जारी गराएको २०४७ सालको संविधान राजाभन्दा माथि थिएन । जनता र संविधान भन्दा राजा माथि भए । फेरि पनि राजाले लोकतन्त्रको घाँटी निमोठ्न चाहे । दरबार हत्याकाण्डपछि अकस्मात राजा बन्न पुगेका ज्ञानेन्द्र शाहले दोस्रो पटक आंशिक रुपमा प्राप्त लोकतन्त्रलाई अपदस्थ गरे । राजा ज्ञानेन्द्रले २०५९ जेठ ८ गते तत्कालिन संसद विघटन गरेर सत्ता आफ्नो हातमा लिए । उनले नागरिकका राजनीतिक स्वतन्त्रता हरण गरेर २१ औं शताब्दीमा फेरी नेपालीसँग लोकतन्त्रको परीक्षा लिए । परीक्षामा नेपाली नागरिकले विश्वलाई नै चकित पार्ने गरी लोकतन्त्र प्रतिको आफ्नो विश्वास प्रकट गरे । सडकमा जनसागर निकालेर राजाको सैनिक शासन भन्दा नागरिकको अभिमतबाट शासन गर्ने व्यवस्था ठूलो भनेर स्थापित गराए ।
उक्त आन्दोलनले नेपालको इतिहासमा लोकतन्त्रको बाधक राजा र राजतन्त्र भएको भन्दै नागरिकले गणतन्त्रको नारा घन्काए । नागरिकका यस भावनालाई दलहरुले पनि सम्बोधन गरे । जब गणतन्त्र प्राप्त भयो, त्यसपछि भने दलहरुले लोकतन्त्र प्रतिको विश्वास डगमगाएको देखिन्छ । संविधान सभाबाट संविधान जारी गरेपछि भएको आम निर्वाचनबाट बनेको एमाले–माओवादी सरकारले फेरी संसद विघटनको बाटो लिए । उक्त घटनाले लोकतन्त्र प्रति खतरा राजाबाट मात्रै नभएर दलहरुबाट पनि भएको प्रष्ट पा¥यो । नेपाली नागरिकले लोकतन्त्रका लागि कति पटक लडाइँ लड्ने भनेर प्रश्न गर्ने अवस्थामा पु¥यायो ।
२०६२÷०६३ को जनआन्दोलन स्मरण गर्दा अहिले लोकतन्त्र प्रति भइरहेका खतरा र लोकतन्त्रका मान्यतालाई आफूअनुकुल व्याख्या गर्ने दलहरुको आचरणले लोकतन्त्र अझै खतरामा रहेको देखाउँछ । नेपाली नागरिकले राजतन्त्रलाई विदा गरेपछि लोकतन्त्रका लागि अब लडाइँ लड्न नपरोस् भन्ने चाहेका थिए । तर। लोकतन्त्र त्यस्तो व्ययवस्था बन्न पु¥यो, जुन जहिले पनि खतरामा रहन्छ । लोकतन्त्रले दिने राजनीतिक स्वतन्त्रता, संगठन गर्ने अधिकार, वाक तथा अभिव्यक्ती स्वतन्त्रता, प्रेस स्वतन्त्रता जस्ता यसका अवयवहरुको प्रयोग लोकतन्त्रकै विरुद्ध प्रयोग हुन थालेका छन् ।
त्यसकारण, लोकतन्त्र एक पटक ल्याएर सधैंका लागि ढुक्क भएर बस्न सकिने व्यवस्था होइन । यो त नागरिकको निरन्तर खबरदारी र लोकतन्त्र प्रतिको अटुट आस्थाले मात्र बाँच्न सक्छ । एक पटक लोकतन्त्रवादी हुनु भनेको सधैका लागि लोकतान्त्रिक भइराख्न सकिन्छ भन्ने होइन, हामीले चालेका पाइलाहरु लोकतान्त्रिक छ कि छैन भनेर आँफैले जाच्न र सच्याउन हरदम तयार हुनुपर्छ । नागरिक स्वतन्त्रताको वकालत गर्ने लोकतन्त्र सचेत नागरिकले मात्र जोगाउन सक्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->